काठमाडौं। कोटेश्वरबाट १० ठाउँको ट्राफिक लाइटमा एक-एक मिनेट रोकिंदा पनि धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय ४० मिनेटमा पुगिन्छ।
हिजोआज सडक विस्तारका कामले जगाती र नलिन्चोकको बीचको सय मिटर, साँगा नाकाको दुई सय मिटर, स्पाइनल इन्जुरी अस्पताल नजिकैको महादेवस्थान पुलबाट २०० मिटर जति र पुलबजार क्षेत्रको २०० मिटर सडक अस्तव्यस्त रहेकाले विश्वविद्यालय अगाडिको २८ किलो चोक पुग्न झन्डै एक घण्टा लाग्छ।

२८ किलो चोकबाट देब्रे लागेपछि एक किलोमिटरको दुरीमा छ विश्वविद्यालय। हिजोआज यो क्षेत्र घरले भरिभराउ छ। विश्वविद्यालय क्षेत्रको आउजाउ ठमेलको झल्को दिने खालको देखिन्छ।
विश्वविद्यालय आसपासको क्षेत्रमा काभ्रेको रोशी र तेमाल गाउँपालिकादेखि पूर्वका इलामदेखि भोजपुर र मधेस प्रदेशवासीले यो ठाउँमा घर बनाउने क्रम बढेको धुलिखेल नगरपालिका-४ का स्थानीय अष्टलाल सुवालले बताए। ‘यो क्षेत्रलाई अधिक मन पराउनुको मुल कारण सडक नै हो,’ उनले भने।
अरनिको राजमार्ग ६ लेनको बन्दैछ। यो सडक विस्तारको काम सम्पन्न भएपछि काठमाडौंबाट विश्वविद्यालय आधा घण्टामा ओहोरदोहोर गर्न सकिन्छ।
विश्वविद्यालयको आडैमा सुवालको तीन तले घर छ। २०७४ देखि भ्यालुएटरको रुपमा सक्रिय ६० वर्षीय सुवाल पछिल्लो समय विश्वविद्यालय र धुलिखेल अस्पताल आसपास जग्गा किनबेच र घर बनाउने क्रम ह्वात्तै बढेको बताउँछन्।
‘पारी धुलिखेल अस्पताल छ। यहाँ युनिभर्सिटी। एक किलोमिटर पनि टाढा छैन। धुलिखेल पहिले नै पर्यटकीय क्षेत्र हो। सडक फराकिलो बन्दैछ। अहिले शिक्षा र स्वास्थ्यको केन्द्र पनि भएको छ,’ उनले भने।
उनको घरको छतबाट पूर्वतिर पर्ने धुलिखेल अस्पताल आसपासको क्षेत्र वरपर धमाधम जग्गा प्लटिङ भइरहेको छ। उत्तरतिर फराकिलो हुँदै गरेको अरनिको राजमार्ग, दक्षिणतिर खड्पु क्षेत्रमा बाँक्लिँदै आएको बस्ती। पश्चिममा बनेपाबाट पनौती जाने सडक वरपरको बस्ती।

१० वर्षयता यो क्षेत्रको बस्ती बाक्लिँदै गएको छ। खेतहरु घरले भरिन थालेका छन्। पर्यटकीय गन्तव्यदेखि स्वास्थ्य र शिक्षाको हब मात्र नभएर काठमाडौंसँगको सडक फराकिलो बन्न थालेपछि धुलिखेलमा बास्ती बाक्लिन थालेको हो।
तेमालका ४० वर्षे मिम दोङ तामाङले २०७३ मा विश्वविद्यालय नजिकै २८ किलोमा घर बनाए। त्यतिबेला प्रति आना जग्गाको मूल्य ५ लाख थियो। अहिले उनी बस्ने क्षेत्रमा आनाको २० लाखदेखि ३० लाख रुपैयाँ पुगेको छ।
विश्वविद्यालयका विद्यार्थी दैनिक कोठा खोज्न आइपुग्छन्। ‘उ बेला सुनसान थियो। अहिले बस्ती घरले भरिँदा पनि कोठा खोज्न आउनेको लर्को नै हुन्छ। सामान्य कोठाको ४५०० माथि पर्छ,’ दोङले भने।

यो क्षेत्रमा काभ्रेकै रोशी र तेमाल क्षेत्रका बासिन्दा बसाई सर्दै आएकामा पछिल्ला वर्षमा भने कोशी र मधेश प्रदेशबासी पनि घर बनाएर बस्ने क्रम बढेको छ। बीपी राजमार्गमा पूर्वका ठूला गाडी आउजाउ हुन थालेसँगै बारादेखि ताप्लेजुङ इलामदेखिका मानिसले पनि यो ठाउँ रोज्न थालेको स्थानीय रविन दाहालले बताए।
बनेपामा पनि बढ्दै छ बस्ती
धुलिखेलसँगै बनेपा आसपासमा पनि बस्ती बढ्ने क्रम छ। बनेपाबाट पनौती जाने बाटो वरपरका क्षेत्र, चण्डेश्वरी मन्दिर र बुडोल खोला क्षेत्रमा अहिले घर बन्ने क्रम बढेको काभ्रे घरजग्गा व्यवसायी संघका अध्यक्ष लक्ष्मण कर्माचार्य बताउँछन्। उनले यी क्षेत्रमा महिनामा १० कित्ताभन्दा बढी जग्गा किनबेच गराउने गरेका छन्। ‘अहिले काठमाडौं युनिभर्सिटी क्षेत्रदेखि बनेपा वरपर महिनामा १० देखि १५ कित्ता किनबेच गराउँदै आएको छु,’ कर्माचार्यले भने।

बानेपा नगरपालिका-११ स्थित पाकुडोलबाट बनेपा बजार हेर्दा काठमाडौं उपत्यकाजस्तै घरैघरले भरिभराउ देखिन्छ। ‘हेर्दाहेर्दै बनेपा ठूलो शहर बनिसक्यो। हाम्रो वस्तीमा पनि सडक जोडिएको छ। हामी अटोमा किनमेल गर्न बनेपा बजार पुग्दा काठमाडौंजस्तै लाग्छ,‘ आफ्नो बन्दै गरेको साढे दुई तले घर हेर्दै स्थानीय लक्ष्मी अधिकारीले भनिन्।
उनका अनुसार पाकुडोल क्षेत्रमा जग्गा व्यापारीको आउजाउ निकै बढेको छ।
बनेपा क्षेत्रमा जग्गाको वर्गीकरण नसकिएकोले अहिले खरिद बिक्री रोकिएको बनेपाका मेयर शान्तिरत्न शाक्यले बताए। यद्यपि ठूलो मात्रामा जग्गा लिएकाहरुको प्लटिङ क्षेत्रमा भने घर बनाउने क्रम बढेको छ। ‘जग्गा वर्गीकरणको काम नसकिएकोले जग्गाको कारोबार हुन सकेको छैन। प्लटिङको काम र घर बनाउने र किन्नेबेच्ने काम भने भइरहेकै छ,‘ मेयर शाक्यले भने।

उनका अनुसार बनेपा अहिले धेरैको रोजाई बन्नुमा मूल सडकमात्र नभई वैकल्पिक सडक पनि हो। काठमाडौंको कोलाहालभन्दा बनेपा बसेर नगरकोट निस्कने र धुलिखेल पुग्नेहरु आफूले धेरै भेटेको उनले बताए। पनौती हुँदै बागमती प्रदेशको राजधानी हेटौंडा छिचोल्न मिल्ने यो क्षेत्र अहिले व्यापारिक केन्द्रको रुपमा अझै फराकिलो बन्दै गएको छ।
बनेपाको पुलबजार क्षेत्र भने सडक विस्तारका कारण अस्तव्यस्त देखिन्छ। यसलाई व्यवस्थापन गर्ने काम फागनुसम्म सकिने मेयर शाक्यले बताए। ‘पुलबजारको पुल र महादेवखोलाको पुल व्यवस्थापन गर्न केही समय लाग्ला। बनेपा साइडको सडक फागुनसम्म पुरै बन्ने गरी हामीले काम गरिरहेका छौं,’ उनले भने।

बनेपामा अहिले पुलबजारदेखि पनौती जाने सडक वरपर र चण्डेश्वरीदेखि बुडोलखोलासम्म बस्ती फैलिएको छ। यी क्षेत्रमा सडक जोडिएका जग्गाको भाउ प्रति आना ३५ लाखदेखि ५० लाखसम्म छ। मुख्य सडक अगाडीका जग्गाको भाउ आनाको करोडभन्दा माथि पुगेको छ।
फैलँदै पाँचखाल पनौतीसम्मै
धुलिखेलमा मात्रै होइन, बसोबास र व्यापारको चेन अब पाँचखल र नमोबुद्धसम्मै जोडिने घरजग्गा व्यवसायी बताउँछन्। त्यसकै सम्भावना देखेर नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव रोशन भोयद्योले धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा ४८ वटा घरसहितको धुलिखेल प्याराडाइज भिल्लाको योजना अघि सारेका छन्।
कोटेश्वरबाट ३५ किलोमिटरको दूरीमा रहेको काभ्रेभञ्ज्याङ सडक बनेपछिविस्तारपछि आधा घण्टामा पुगिने भोयद्यो बताउँछन्। ‘हाम्रो प्रोजेक्ट काठमाडौंको कोटेश्वरबाट ३५ किलोमिटरको दूरीमा पर्छ। काठमाडौंको कोलाहल नरुचाउने र सस्तो मूल्यमा घर खोज्नेहरुलाई लक्षित गरेर हामीले काभ्रेभञ्ज्याङमा आवास विकास गर्न लागेका हौं,’ भोयद्योले भने।

पनौती सडक हुँदै नागीडाँडा हिल्समा पनि हाउजिङ योजना अघि बढिसकेको छ। नागीडाँडा ग्रिन हिल्सले अघि सारेको यो योजनामा न्यूनतम ४ आना क्षेत्रफलको घरको मूल्य करिब २ करोड ९९ लाखदेखि ३ करोड २० लाख रुपैयाँसम्म तोकेको छ।
लेजेन्ड ग्रुपले पाँचखाल नगरपालिका-१० मा १०० रोपनीको आवासीय परियोजना निर्माण गरिसकेको छ। काठमाडौंबाट एक घण्टामै पुगिने भएकोले अबको बस्तीको विकल्प पाँचखाल भएको नगरपालिकाका मेयर महेश खरेल बताउँछन्।

काठमाडौंबाट ४५ किलोमिटरको दूरीमा रहेको पाँखखालमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेकै कोशीपारीबासीले बसोबासका लागि ४ आनामाथिका जग्गा लिने क्रम बढेको छ। ‘बनेपाको सडक क्लियर भएसँगै खावाको बाटो बने पाँचखाल टाढा होइन। स्वस्थ वातावरण र शान्तिपूर्ण बसाइका लागि अब काठमाडौंको विकल्प पाँचखाल नै हो,’ मेयर खरेलले भने।










