हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी प्राविधिक समस्या आएपछि अमेरिकाभर लगाइएको हवाई उडान प्रतिबन्ध हटाइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार राति प्रतिबन्ध हटाउँदै विमान कम्पनीलाई उडान सञ्चालन गर्न अनुमति दिएको हो। तर, प्रतिबन्धका कारण प्रभावित उडान तालिका तत्काल सामान्य हुने अवस्था नरहेकाले सप्ताहन्तभर यात्रुले ढिलाइ र उडान रद्दको समस्या भोग्नुपर्ने भएको छ।
शुक्रबार अमेरिकी समयअनुसार दिउँसोदेखि हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूबीच सञ्चारमा समस्या देखिएको थियो। त्यसपछि यात्रु सुरक्षालाई ध्यानमा राख्दै एफएएले देशभरका विमानस्थलबाट हुने उडान रोक्ने निर्णय गरेको थियो। उडान नियन्त्रण गर्ने २२ वटा क्षेत्रीय केन्द्र प्रभावित हुने गरी समस्या देखिएपछि देशभरको हवाई यातायात अस्तव्यस्त बनेको थियो।
अमेरिकी यातायातमन्त्री सीन डफीका अनुसार पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका राउटरमा अत्यधिक डेटा प्रवाह हुँदा सञ्चारमा असंगति देखिएको थियो। प्राविधिक टोलीले समस्या समाधान गरेपछि शुक्रबार राति ८:१५ बजे (अमेरिकी पूर्वी समय) प्रतिबन्ध हटाइएको हो।
रोयटर्सका अनुसार उडान रोकावट र सञ्चार समस्याका कारण १५ हजारभन्दा बढी उडान ढिलाइ वा रद्द भएका थिए। एसोसिएटेड प्रेसको समाचारका अनुसार कम्तीमा ८२७ वटा विमानलाई निर्धारित गन्तव्यभन्दा अन्य विमानस्थलमा अवतरण गराउनुपरेको थियो। शुक्रबार दिउँसोपछि मात्रै ११ हजार उडान हुने तालिका थियो, जसबाट १५ लाखभन्दा बढी यात्रुले सेवा लिने अपेक्षा गरिएको थियो।
अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण वा नियोजित विध्वंसको कुनै प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन्। प्रारम्भिक अनुसन्धानले दूरसञ्चार प्रणालीमा आएको अवरोधलाई समस्याको कारण देखाए पनि वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी छ।
अमेरिकामा सन् २०२३ जनवरीमा एफएएको कम्प्युटर प्रणालीमा समस्या आएपछि पहिलोपटक देशव्यापी उडान रोकिएको थियो। अहिलेको घटना त्यसयताको दोस्रो ठूलो देशव्यापी उडान अवरोध हो। पुरानो हवाई ट्राफिक नियन्त्रण पूर्वाधारको कमजोरीले अमेरिकी हवाई यातायात प्रणालीको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ।









![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)