काठमाडौं। टी–२० फ्रेन्चाइज क्रिकेट मैदानमा ब्याट र बलबीचको प्रतिस्पर्धा मात्रै होइन, यो मनोरञ्जन, उत्सव र व्यावसायिक गतिविधिको संगम पनि हो।
तीन घण्टाको खेलमा दर्शकले खोज्ने रोमाञ्च, चौका–छक्काको वर्षा, खेलाडीको प्रदर्शन र स्टेडियमको माहोलले यसलाई अन्य क्रिकेट प्रारूपभन्दा फरक बनाउँछ। तर, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही रोमाञ्चको एउटा महत्त्वपूर्ण पक्ष कमजोर देखिन थालेको छ। मैदानमा दर्शकको उत्साह र फ्रेन्चाइज क्रिकेटको ग्ल्यामर बढिरहेका बेला ब्याटिङका लागि पिच चुनौतीपूर्ण बन्दै गएको छ।
एनपीएलमा अहिले हरेक दिनजसो टिकट सोल्डआउट भइरहेका छन्। क्रिकेट नियमित हेर्ने दर्शक मात्रै होइन, पहिलो पटक स्टेडियम पुग्नेहरू पनि उत्तिकै उत्साहित देखिन्छन्। खेलको प्राविधिक पक्ष धेरै नबुझे पनि मैदानको माहोल, संगीत, खेलाडीको प्रवेश र दर्शकको हुटिङले उनीहरूलाई आकर्षित गरिरहेको छ। यसले एनपीएल क्रिकेटको प्रतिस्पर्धाभन्दा बाहिर गएर एउटा मनोरञ्जनात्मक उत्सवको स्वरूप लिन थालेको देखाउँछ।
पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलसँग जोडिने ब्रान्डको संख्या बढेको छ। खेलसँगै प्रायोजन, विज्ञापन, टिकट बिक्री र मैदान आसपासका आर्थिक गतिविधि पनि विस्तार हुँदै गएका छन्। यसपालि तिहारको लक्ष्मीपूजा र भाइटीकाको अघिल्लो दिनसमेत खेल हेर्न दर्शकको उत्साह घटेन। दर्शकहरू मैदान पुगे, देउसी खेले र क्रिकेटसँगै चाडपर्वको रमाइलो पनि मनाए।

फ्लडलाइटको झिलिमिली, चियरलिडर्सको नृत्य, सेलिब्रेटीको उपस्थिति र संगीतको तालले स्टेडियममा छुट्टै आकर्षण थप्छ। ब्याटरले प्रहार गर्ने चौका र छक्कासँगै दर्शकदीर्घाबाट उठ्ने हुटिङ र सिठीले खेललाई थप रोमाञ्चक बनाउँछ। टी-२० क्रिकेटको विशेषता नै छोटो समयमा धेरै रन, तीव्र प्रतिस्पर्धा र अन्तिम ओभरसम्म कायम रहने अनिश्चितता हो। यही कारण यस प्रारूपमा दर्शकले ठूलो स्कोर र आक्रामक ब्याटिङको अपेक्षा गर्छन्।
विश्वभरका चर्चित फ्रेन्चाइज लिगमा २०० रन आसपासको स्कोर पनि सधैं सुरक्षित मानिँदैन। ब्याटरको आक्रामक शैली, छोटो बाउन्ड्री र आधुनिक ब्याटिङ प्रविधिले टी-२० क्रिकेटमा रनको गति बढाएको छ। यस्तो अवस्थामा १५० देखि १६० रनको स्कोरलाई प्रतिस्पर्धात्मक आधार मानिन्छ। त्यसमाथि होम एन्ड अवे प्रणालीले विभिन्न मैदान र घरेलु दर्शकको वातावरणमा खेल्ने अवसर दिन्छ। तर एनपीएलका सबै खेल एउटै मैदानमा भइरहेका छन्। त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा लगातार खेल हुँदा पिचको अवस्थाले प्रतियोगिताको समग्र गुणस्तरमै प्रश्न उठाउन थालेको छ।
अघिल्ला संस्करणमा पनि लिग चरणमा ब्याटिङका लागि अनुकूल देखिएको पिच प्रतियोगिताको अन्तिम चरणसम्म पुग्दा कमजोर भएको अनुभव गरिएको थियो। लगातार खेल हुँदा पिचको सतहमा पर्ने असर, बलको व्यवहारमा आउने परिवर्तन र ब्याटरले सामना गर्नुपर्ने कठिनाइले खेलको प्रकृतिमै फरक ल्याउने गरेको थियो। यसपटक पनि प्रतियोगिता निर्णायक चरणमा प्रवेश गर्दै गर्दा त्यही समस्या दोहोरिएको छ।
शुक्रबार भएका दुई खेलले टीयू मैदानको अवस्था प्रस्ट्याए। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले बल्लतल्ल १२५ रन बनायो। जवाफमा ब्याटिङ गरेको काठमाडौं गोर्खाज ११८ रनमै समेटियो। दोस्रो खेलमा जनकपुर बोल्ट्सले जम्मा ८८ रन बनाउन सक्यो। उक्त लक्ष्य पछ्याएको चितवन राइनोजले पनि सहजै जित निकाल्न सकेन। उसले १७.२ ओभरमा मात्रै लक्ष्य पूरा गर्यो।

टी–२० क्रिकेटमा सामान्य मानिने १५० रनको स्कोर टीयू मैदानमा नबनेको एक साता भइसकेको छ। काठमाडौं गोर्खाजले चितवन राइनोजविरुद्ध १८० रन बनाएयता ब्याटिङमा ठूलो स्कोर देखिएको छैन। यसले खेलको प्रतिस्पर्धात्मकता र दर्शकले अपेक्षा गर्ने मनोरञ्जनमाथि असर पार्न थालेको छ।
पिचको अवस्थाबारे विदेशी खेलाडीले खुलेर असन्तुष्टि जनाउन थालेका छन्। जनकपुर बोल्ट्सका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले शुक्रबार सामाजिक सञ्जालमार्फत टीयू मैदानको पिचबारे प्रश्न उठाए। नेपाल र एनपीएलप्रति आफ्नो आकर्षण रहेको उल्लेख गर्दै उनले पिचको अवस्थाबारे गम्भीर रूपमा केही गर्नुपर्ने बताएका छन्।
‘म नेपाल र एनपीएलमा आउन मन पराउँछु। तर यी पिचहरूबारे केही न केही गम्भीर रूपमा गर्नुपर्ने भएको छ। १२० नै विनिङ स्कोर हुने ठाउँमा पूरा प्रतियोगिता हुन सकेन,’ उनले लेखेका छन्।
निशमको टिप्पणीलाई हारको आक्रोशका रूपमा मात्रै लिन सकिँदैन। शुक्रबारको खेलमा चितवनलाई जित दिलाएका इंग्ल्यान्डका ब्याटर डेभिड मलानले पनि पिच ब्याटिङका लागि निकै कठिन रहेको बताएका छन्। उनका अनुसार अहिलेको पिचले ब्याटरभन्दा बलरलाई बढी सहयोग गरिरहेको छ।
पहिलो इनिङ्समा बलले धेरै टर्न लिएको अनुभव सुनाउँदै मलानले दोस्रो इनिङ्समा भने पिच केही सहज भएको र बलले सतहमा परेपछि स्किड गर्ने अवस्था रहेको बताए। उनका अनुसार विश्वका अन्य टी–२० प्रतियोगितामा ब्याटरले सहज रूपमा ठूलो स्कोर बनाइरहेका बेला टीयूमा भने ब्याटिङ निकै कठिन भइरहेको छ।
‘विकेट सहज थिएन। विश्वभर टी–२० क्रिकेट कसरी भइरहेको छ हेर्नुहुन्छ भने सहज ब्याटिङमा ठूलो स्कोर बनिरहेका हुन्छन्। यहाँ खेल धेरै नै बलरको पक्षमा छ,’ उनले भने। खेलमा १५० देखि १६० रनसम्म बन्न सक्ने अवस्था भए प्रतियोगिता थप राम्रो हुने उनको सुझाव छ।
मलानको भनाइसँग जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनारायण चन्द्रपाल पनि सहमत छन्। नेपाली खेलाडी भने पिचको अवस्थाबारे खुलेर बोल्न हिच्किचाइरहेका देखिन्छन्। सुदूरपश्चिम रोयल्सका हेमन्त धामीले भने ब्याटिङ सहज नभएको स्वीकार गरेका छन्।
‘विकेट अलि च्यालेन्ज नै छ। रन बनाउन गाह्रो छ,’ धामीले भने।

एनपीएलको आकर्षण बढ्दै जाँदा अब यसको चुनौती खेललाई कसरी थप प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउने भन्ने पनि हो। दर्शकको उपस्थिति, ब्रान्डको लगानी र फ्रेन्चाइजको व्यावसायिक विस्तारले प्रतियोगिताको बाहिरी स्वरूप आकर्षक बनाइरहेको छ। तर मैदानभित्रको खेलको गुणस्तर त्यसअनुसार कायम हुन सकेन भने त्यसले प्रतियोगिताको विश्वसनीयता र आकर्षणमा असर पार्न सक्छ।

लगातार एउटै मैदानमा धेरै खेल सञ्चालन गर्दा पिचको गुणस्तर कायम राख्नु आयोजकका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसैले पिचको नियमित परीक्षण, आवश्यक विश्राम, मर्मत र खेल तालिकाको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ। आगामी संस्करणमा मैदानको विकल्प, खेल तालिका र पिच व्यवस्थापनबारे पनि गम्भीर छलफल आवश्यक देखिन्छ।
टी–२० क्रिकेटको रोमाञ्च केवल विकेट झर्ने वा बलरले विपक्षीलाई कम रनमा रोक्नेमा सीमित हुँदैन। ब्याटरले जोखिम उठाएर रन बनाउने, बलरले त्यसलाई रोक्ने र खेल अन्तिमसम्म खुला रहने प्रतिस्पर्धाले नै यसलाई लोकप्रिय बनाएको हो। एनपीएलको दर्शक उत्साहलाई दीर्घकालीन आकर्षणमा बदल्न मैदानको ग्ल्यामरसँगै खेलको गुणस्तर पनि उत्तिकै बलियो हुनुपर्ने देखिन्छ।









![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)