काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्।
पहिलो खेल साढे १२ र दोस्रो खेल ५ बजे सुरु हुनेछ। आजको खेलले एनपीएलको प्लेअफ पुग्ने दोस्रो टोलीको टुंगो लगाउने छ।
पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिमबीचको विजेता टोलीको प्लेअफमा स्थान पक्का हुनेछ। सुदूरपश्चिमको भने लिग चरणमा यो अन्तिम खेल हुनेछ।
आजको खेलमा पराजित भए पनि दुवैको प्लेअफको समीकरण भने जीवितै रहनेछ। काठमाडौंको अझै एक खेल बाँकी छ। उसको शीर्ष दुईमै रहेर क्वालिफायर पुग्ने बलियो सम्भावना छ।

डेभिड वार्नरको आगमनपछि आत्मविश्वासी बनेको काठमाडौं पहिलो खेलमा पराजय पछि लगातार चार खेलमा अपराजित छ। तर, वार्नर अब फर्किइसकेका छन्। मैदानमा निक्कै सक्रिय भएर रणनीति बनाउने वार्नरको अनुभवले निकै सहज भएको काठमाडौंका कप्तान करण केसीले बताउँदै आएका थिए। यसको ड्यामेज काठमाडौंलाई ठूलो हुन सक्छ।
काठमाडौंसँग करण केसी, राशिद खानजस्ता नेपाली खेलाडीसँग साम हेजलेट, विल बोसिस्टोजस्ता विदेशी खेलाडी हुनेछन्।
अर्कोतर्फ सुदूरपश्चिमको लिग चरणको अन्तिम खेल भएकाले यहि खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्ने ध्येय उसको हुनेछ। दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी जस्ता नेपाली खेलाडी र स्कट कुगेलेइन, सैफ जैबजस्ता खेलाडीले साथमा तीनवटै सिजन खेलेकाले सुदूरको टिम कम्बिनेसन निकै चुस्त छ। फिल्डिङ र बलिङ अझ बलियो पक्षका रुपमा भइरहँदा नेपाली ब्याटरले ब्याटिङमा भने यसपाला खासै योगदान दिन सकेका छैनन्।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्।
आजको खेलमा हार ब्यहोरे जनकपुरको यही लिगको अन्तिम खेल हुनेछ। यदि आज उसले चितवनलाई हराए पनि प्लेअफको झिनोमात्रै सम्भावना जीवित रहन्छ। चितवनले भने आज जनकपुर र अर्को खेलमा कर्णालीलाई हराए कुनै समीकरण नै नहेरी प्लेअफ पुग्न सक्छ। तर, उसलाई आजको हारले भने अफ्ठेरोमा पार्छ।

जनकपुरसँग हरमीत सिंह, जिम्मी निशमजस्ता विदेशी खेलाडीका साथमा ललित राजवंशी, राहुल यादवजस्ता नेपाली खेलाडी छन्। नेपाल र विदेशी दुबैमा अलराउण्डरमा जोड दिँदा जनकपुरको ब्याटिङ कमजोर छ। भएका अनिलकुमार साहजस्ता नेपाली ब्याटरको प्रदर्शन पनि बिर्सनलायक छ।
अर्कोतर्फ चितवनसँग रवि बोपारा, सिकन्दर राजाजस्ता सुझबुझ भएका ब्याटर छन्। कुशल मल्ल, रिजन ढकालजस्ता प्रभावशाली नेपाली खेलाडी छन्। तर, यो टोली पहिलो संस्करणबाटै विदेशी खेलाडीमा बढी निर्भर हुँदा औशत प्रदर्शन गर्ने टोलीका रुपमा चिनिएको छ।

आज चितवनले जिते जनकपुर प्लेअफको होडबाट बाहिरिने दोस्रो टोली बन्ने छ। यसअघि पोखरा बाहिरिएको थियो। तर, जनकपुरले जिते पनि प्लेअफको ‘गञ्जागोल’ अझ गहिरिनेछ।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)