पोखराको पर्वतीय संग्रहालयमा पर्यटकको चहलपहल, चार महिनामा पुगे २१ हजार अवलोकनकर्ता

बिजमाण्डू
२०८३ कात्तिक २४ गते १६:२३ | Nov 10, 2026
पोखराको पर्वतीय संग्रहालयमा पर्यटकको चहलपहल, चार महिनामा पुगे २१ हजार अवलोकनकर्ता


पोखरा। पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको चार महिना नपुग्दै अवलोनकर्ताको संख्या २१ हजार हाराहारी पुगेको छ।

GBIME
Tata

पर्यटकीययाम सुरु भएपछि विस्तारै अवलोकनकर्तामाझ आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन। चाडपर्वसँगै सङ्ग्रहालय अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक २० सम्म २० हजार ९३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन्। उनका अनुसार यो चार महिनाको अवधिमा सार्क राष्ट्रका २ हजार ८६८ र सार्क राष्ट्र बाहेक अन्य देशका ६ हजार २९ जना र ४१ जना प्रवासी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन्।

साउनमा ४ हजार ९९९, भदौमा ३ हजार ३४७, असोजमा ६ हजार ४०३ र कात्तिक २० गतेसम्म ६ हजार १८९ जना स्वदेशी तथा विदेशी पर्यटक सङ्ग्रहालय पुगेको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिइन।

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको हो। हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ।

यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायतका विषयमा जानकारी लिन पाउँछन्।