काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनका अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
भेटका क्रममा मन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालमा हालै भएका विनाशकारी विपद्पछि नेपालप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेकोमा इथियोपिया सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन्।
उनले समानता, साझा वातावरणीय उत्तरदायित्व र बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई कोप-३१ तथा इथियोपियाको आगामी कोप अध्यक्षताका क्रममा अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।
भेटमा दुवै देशबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो। सो अवसरमा जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति, व्यापार, हवाई सम्पर्क विस्तार, पर्यटन तथा जनस्तरको सम्बन्ध अभिवृद्धिलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।










