भद्रपुर (झापा)। झापाका प्रमुख बजारमा व्यापारिक भवन, होटल र आवासीय संरचना थपिने क्रम तीव्र छ। सहरीकरणसँगै व्यापारिक गतिविधि र बस्ती विस्तार भइरहे पनि आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार भने विस्तार हुन सकेको छैन। दमकलको व्यवस्था भए पनि तत्काल पानी भर्न सकिने फायर हाइड्रेन्ट नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ।
यसको पछिल्लो उदाहरण बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटलनजिक गत बुधबार बिहान भएको आगलागी हो। राजेश मण्डलको दुईतले घरमा लागेको आगो नियन्त्रण गर्न जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि पानीको अभावले समस्या भयो। करिब साढे पाँच घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट झन्डै ६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।
दमकलले नजिकै पानी भर्ने निश्चित स्रोत नपाएपछि केही बुट्टाबारी र केही बिर्ताबजार पुग्नुपरेको थियो। पानी भर्ने मोटरमा विद्युत् अवरुद्ध हुँदा थप समस्या भयो। अन्ततः नजिकैको सिद्धार्थ होटलको स्विमिङ पुलबाट पानी तानेर आगो निभाइएको थियो। बिर्तामोड नगरपालिकाका दमकल इञ्चार्ज नवीन मेचेका अनुसार आगलागी नियन्त्रणमा प्रयोग भएको कुल पानीमध्ये करिब ५० प्रतिशत होटलको स्विमिङ पुलबाट आपूर्ति गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत भदौ र असोजमा झापामा १९ वटा आगलागीका घटना भएका थिए। ती घटनाबाट १० करोड ७८ लाख ९२ हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो। भदौमा सातवटा घटनाबाट १२ लाख १० हजार र असोजमा १२ वटा घटनाबाट १० करोड ६६ लाख ८२ हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो।
जिल्लाका प्रमुख सहरी क्षेत्र बिर्तामोड, भद्रपुर र दमकमा दमकलले सहज रूपमा पानी भर्न सक्ने फायर हाइड्रेन्ट छैन। भद्रपुरमा नगरपालिका परिसरको मोटरबाट पानी भर्ने गरिएको छ। टाढाका क्षेत्रमा आगलागी हुँदा नाला र खोल्साको पानी खोज्नुपर्ने बाध्यता रहेको नगर प्रहरी टोइला मर्डी बताउँछन्। दमकमा पनि बजार क्षेत्रमा हाइड्रेन्ट छैन। पानी भर्न बजारबाट टाढा जानुपर्ने अवस्था रहेको दमकल चालक रोशन तामाङ बताउँछन्।
झापाका सबै स्थानीय तहमा दमकल सेवा पनि उपलब्ध छैन। मेचीनगर, दमक, बिर्तामोड, भद्रपुर, गौरादह, शिवसताक्षी र अर्जुनधारा नगरपालिकामा दमकल छन्। सात गाउँपालिकामध्ये कमलसँग मात्र दमकल रहेको छ। दमकल नभएका झापा गाउँपालिका, कचनकवल र गौरीगञ्जमा आगलागी हुँदा अन्य पालिकाबाट दमकल बोलाउनुपर्ने बाध्यता छ।
अग्नि नियन्त्रणका पूर्वाधार विस्तार गर्नुपर्ने आवाज उठिरहेका बेला केही स्थानीय तहले तयारी थालेका छन्। अर्जुनधाराका प्रमुख बलदेवसिंह गोम्देन तामाङले खानेपानी संस्थासँग समन्वय गरी दमकलका लागि निश्चित स्थानमा हाइड्रेन्ट राख्ने तयारी भइरहेको बताए। बिर्तामोडमा पनि साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बिर्तामोड चोक, चारपाने र बुट्टाबारीलगायत क्षेत्रमा हाइड्रेन्ट जडान गर्ने तयारी गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पनि स्थानीय तहसँग समन्वय गरेर पानीको स्रोत र आवश्यक पूर्वाधार व्यवस्थापनका लागि पहल गर्ने बताएका छन्।
जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालले बजार विस्तारसँगै नागरिक सुरक्षालाई पनि विकास योजनामा समेट्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार सार्वजनिक पोखरी, पानी ट्यांकी र फायर हाइड्रेन्टको पूर्वव्यवस्था गर्न सके आगलागीका बेला पानी खोज्दै समय बिताउनुपर्ने अवस्था कम गर्न सकिन्छ। रासस










