काठमाडौं। ऋणमोचनको ऐतिहासिक पर्व मानिने नेपाल संवतको नयाँ वर्ष ११४७ देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्कै अवसरमा मंगलबारै घरघरमा म्हः पूजा पनि गरिँदैछ।
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन्। काठमाडौंको वसन्तपुरबाट विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित र्याली निकालेर नेपाल संवत् मनाइएको छ।
र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पूर्वपर्यटनमन्त्री हिसिला यमी लगायत र्यालीमा सहभागी भएका छन्।

नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो। यसको सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वासँग जोडिएको छ। इतिहासअनुसार उनले सर्वसाधारण जनतालाई ऋणबाट मुक्त गराएर नयाँ संवत् चलाएका थिए। यही घटनाको सम्झनामा प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत्को नयाँ वर्ष मनाइन्छ।

नेपाल संवत्को सुरुआत विक्रम संवत् ९३७ अर्थात् इस्वी संवत् ८८० मा भएको मानिन्छ। प्रचलित किंवदन्तीअनुसार तत्कालीन भक्तपुरका राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले काठमाडौँमा बालुवाका रूपमा रहेको धनलाई सुनमा परिणत गरी जनताको ऋण तिरिदिएका थिए। उनले जनतालाई ऋणमुक्त गराएको सम्झनामा नयाँ संवत् सुरु गरिएको जनविश्वास छ।

नेपाल संवत् चन्द्रमासमा आधारित पात्रो हो। यसको सम्बन्ध नेवार समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनसँग गहिरो रूपमा जोडिएको छ। नयाँ वर्षलाई नेवार समुदायले ‘न्हूदँ’ का रूपमा मनाउँछ। यस अवसरमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बाजागाजा, सांस्कृतिक झाँकी र र्याली निकालिन्छ। नेवार समुदायमा यसै दिन म्हपूजा गर्ने परम्परा पनि छ।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको थियो। पछि यसको सरकारी प्रयोग घट्दै गयो। सरकारले २०५६ सालमा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको थियो।

‘एकता बलियो बनाउने विश्वास’
नेपाल संवत् ११४७, म्हः पूजा, तिहार तथा छठ पर्वका अवसरमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर लगायतले शुभकामना सन्देश जारी गरेका छन्।
कांग्रेसका सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले नेपाल संवत्ले बोकेको लोककल्याणकारी र परोपकारको विरासतले नेपालीबीच आपसी सद्भाव, आत्मीयता र एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। म्हः पूजाका अवसरमा उनले सबैको सुस्वास्थ्य, आत्मसम्मान र सकारात्मक ऊर्जाको कामना गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले तिहार, नेपाल संवत् र छठले परिवार, समाज र समुदायबीच प्रेम, सद्भाव तथा आपसी विश्वास सुदृढ बनाउने बताएका छन्। पर्वहरूले विविधताबीचको राष्ट्रिय एकता बलियो बनाउने उनको विश्वास छ।

बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरले मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता राष्ट्रिय पहिचानको धरोहर भएको उल्लेख गरेका छन्।




















