काठमाडौं। विदेशी मुद्रा अपचलन गरेर विदेशमा सम्पत्ति लगेको तथा लगानी गरेको आरोपमा व्यवसायी सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध अदालतमा अर्को मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ६८ करोड २० लाख रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
विभागले हिमालयन रि इन्स्योरेन्स, बीमा ब्रोकरलगायत विभिन्न विषयमा सुलभ-साहिलविरुद्ध यसअघि नै मुद्दा दायर गरिसकेको छ। यसबाहेक उनीहरुमाथि बैंकिङ कसुर, बीमा कसुर र धितोपत्र कसुर सम्बन्धी छुट्टाछुट्टै विषयमा पनि मुद्दा परिसकेको छ
विभागले विदेशमा रहेको सम्पत्तिबारे अनुसन्धान गर्दा ललिता, सुलभ र साहिलले दुबईमा ‘हाइग्रोभ म्यानेजमेन्ट डीएमसीसी’ नामक कम्पनी स्थापना गरी कम्पनीको नामबाट खाता खोलेर मुद्दती निक्षेप राखेको भेट्टाएको छ। यसबाहेक उनले विदेशका अन्य कम्पनीमा समेत लगानी गरेको देखिएको छ।
विभागले दायर गरेको मुद्दामा विदेशी विनिमय ऐन, २०१९ को दफा ३ (१), दफा ५(१), दफा ९ग., दफा १०क (१) एवं दफा १६(१) विपरीतको कसूर गरेको अभियोग लगाएको छ।
यसअनुसार विभागले सुलभको हकमा १ अर्ब ६८ करोड २० लाख, ललिता अग्रवालको हकमा १ अर्ब ७८ करोड १५ लाख र साहिल अग्रवालको हकमा १० लाख ९९ हजार बिगो कायम गरेको छ। उनीहरुविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना माग गरिएको छ।
विभागले सुलभविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा विदेशमा रहेको लगानी तथा सम्पति फेला परेको हो। यसक्रममा विभागले सुलभको बालुवाटारमा रहेको घरमा खानतलासी समेत गरेको थियो।
त्यहाँ ३५५१० थाइ भाट फेलापरी बरामदसमेत गरेको थियो। उनीसहित ललिता र साहिल विरुद्धको उजुरी, विधि विज्ञान जाँचबाट प्राप्त प्रमाण, सुलभबाट बरामद भएको आइप्याडमा उपलब्ध प्रमाणले लगानी तथा सम्पति खुलेको हो।
यसबाहेक युएईमा प्रतिवादीका नाममा भएका बैंक खाता, विदेशी मुलुक टर्कीको राहदानी, भारतीय आधार कार्डसमेत फेला परेको थियो।
विभागले सुभलभको घरबाट बरामद भएको विदेशी मुद्रा जफत हुनका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन समेतको माग दाबी गरेको छ।










