काठमाडौं । सुदर्शनधर प्रधान १७ वर्षका थिए जब उनले भोटेबहालमा आफ्नै व्यवसाय सुरु गरे। उनको इम्पेरियल लाइट सेन्टरमा तिहारका लागि विभिन्न प्रकारका झिलिमिली बत्ती सजाइएका छन्। रंगीन लाइट, एलईडी लाइटदेखि घर र पसल सजाउन प्रयोग हुने विभिन्न प्रकारका बत्तीले सोरुम भरिएको छ अहिले।
लाइट व्यवसाय गरेको उनले करिब पाँच दशक भयो। अहिले ६७ वर्ष पुगेका उनले त्यहाँ व्यवसाय सुरु गर्दा भोटेबहालमा बत्ती बेच्ने पसल खुल्न थालिसकेका थिए। संख्या भने थोरै थियो। बिस्तारै भोटेबहाल थरीथरीका बत्ती पाउने ‘हब’ बन्यो।
उनका अनुसार पहिले काठमाडौंमा निश्चित सामान किन्न एउटा निश्चित ठाउँमा पुग्नुपर्थ्यो। बिजुली बत्तीका लागि त्यस्तै ठाउँ बन्यो भोटेबहाल, ठ्याक्कै बागदरबार पछाडिको क्षेत्र। त्यहाँको पुरानो पिपलको बोट वरिपरि नै हो काठमाडौंलाई झिलिमिली बनाउने बत्तीहरू बिक्री सुरु भएको।
तिहारमा नयाँ नयाँ बत्ती राख्ने ‘ट्रेन्ड’ चल्यो अनि विद्युतीय सामग्री किन्न धेरै जना यही व्यापारिक क्षेत्रमा आउँथे। अहिले भने काठमाडौंको भौगोलिक विस्तार र बस्तीको विकासले पुराना व्यापारिक केन्द्रको कारोबारमा प्रभाव पारेको उनको बुझाइ छ।
‘काठमाडौंका विभिन्न क्षेत्रमा पसल बढेका छन्। त्यसैले सामान किन्न यहीँ आउनुपर्छ भन्ने बाध्यता छैन। ठाउँ ठाउँमा सामान उपलब्ध हुन थालेको छ,’ उनी भन्छन्।
१५ वर्ष अघिदेखि भोटेबहालमै व्यवसाय सुरु गरेका पवन अग्रवालको पुर्ख्यौली पेसा नै बिजुली बत्ती बेच्ने हो। उनको बुबा ३५ वर्षअघि झापाबाट काठमाडौं आएका थिए। भोटेबहालमा आएर उनको बुबाले बिजुली बत्तीको व्यवसाय सुरु गरेका थिए।
‘बुबाले यहाँ पसल सुरु गर्दा ५-६ वटा पसल थियो भनेर भन्नुभएको थियो। अहिले त घरपिच्छे बत्ती पसल छन्,’ उनले भने।
उनका अनुसार अहिले भोटेबहाल क्षेत्रमा मात्रै करिब २०० बिजुली बत्तीका पसलहरू सञ्चालनमा छन्। सुनधाराबाट भोटेबहाल पिपलबोट वरिपरि बाटोमा लस्करै बिजुली पसल छन्।
अग्रवालले अहिले सुन्धारा बिजनेस पार्कमा नयाँ पसल खोलेका छन्। त्यसअघि त्यहीँको पिपलबोट अघि उनले व्यवसाय गर्दै आएका थिए।
उनले पनि काठमाडौंमा सामान अनुसारको ‘हब’ बन्ने गरेको र भोटेबहाल पनि त्यसैको हिस्सा भएको सुनाए।

‘मैले सुरु गरेको १५ वर्ष भयो। हार्डवेयरको हब यहाँभन्दा अलि तल छ। यसरी नै ठाउँ अनुसारको हब हुँदा यो ठाउँ बत्तीका लागि प्रख्यात बन्यो,’ उनले सुनाए।
४५ करोडको बत्ती आयो, व्यापार कस्तो छ ?
तिहार र बत्तीको सम्बन्ध नयाँ होइन। घर, पसल र सार्वजनिक स्थल अहिले झिलिमिली बनाउन सुरु भइसकेको छ। यही बेला हो विद्युतीय बत्तीको माग बढी हुने। वर्षभरि खासै बिक्री नहुने कतिपय रंगीन बत्तीको व्यापारसमेत तिहारमा हुने गर्छ। तिहारकै लागि भनेर व्यवसायीहरूले करिब ४५ करोडको झिलिमिली बत्ती यस पटक भित्र्याएका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं नेपाल लाइट सेन्टरका सञ्चालक रेसम देवकोटाका अनुसार डलरको भाउ वृद्धि, रसुवा नाका बन्द लगायत कारण बत्तीको भाउ बढेको हो।
बिजमाण्डू भोटेबहालमा पुग्दा पवन अग्रवाल पसल बाहिर टहलिँदै थिए। तिहारको छेकोमा बिजुली बत्तीको व्यवसायबारेमा उनको उत्तर सिधा थियो, ‘तिहार लागिसक्यो। तर, यस पटक व्यापार छैन। नत्र यसरी कहाँ उभिएर, बसिरहन भ्याउनु यो बेला।’
अग्रवाल पोहोरको तुलनामा सामानको मूल्य बढेको पनि बताउँछन्।
‘यस पटक भाउ बढेको छ सामानहरूको। देशको अवस्था हेर्नु न, व्यापार पनि छैन,’ उनले भने।

यस्तै कथा सुनाउँछन् ३ दशकदेखि भोटेबहालमा बिजुली बत्तीको व्यवसाय गर्दै आएका सुदर्शनधर प्रधान पनि।
‘पहिला पहिला यो समयसम्म आइपुग्दा बजारमा सामान पाउनै मुस्किल हुन्थ्यो। अहिले जति पनि सामान उपलब्ध छ। मूल्य पनि धेरै राम्रो र उचित छ। तर, बिक्री भने अपेक्षाअनुसार छैन,’ प्रधानले भने।
यस्तो भनाइ प्रधानको मात्र होइन। भोटेबहालमा व्यवसाय गर्ने अधिकांश व्यवसायीहरूको छ।
यसपालि पहिलेको तुलनामा बिक्री एकदमै कम रहेको अधिकांश व्यवसायीको गुनासो छ। बजारमा सामानको अभाव छैन। तर, जुन उत्साहका साथ व्यापार हुनुपर्ने हो, त्यो नदेखिएको उनीहरू बताउँछन्।
बिजनेस पार्कमा बढ्दैछन बिजुली पसल
भोटेबहाल बिजुली बत्तीको पुरानो हबै हो। अब त्यही नै सुन्धारा बिजनेस पार्क निर्माण भएको छ। २०८२ साल माघ २८ गतेदेखि यो बिजनेस पार्क सञ्चालनमा आएको हो। सुन्धारा इन्भेस्टमेन्ट कम्पनी प्रालिले निर्माण गरेको यो पार्कले बिजुली बत्तीको व्यवसायलाई बढाउन भूमिका खेल्ने व्यवसायीको विश्वास छ।
बिजनेस पार्कमा अहिले बत्ती पसल खुल्न सुरु भइसकेका छन्। बजारमा पुस्तौँदेखि व्यवसाय गरिरहेका, नयाँ पाइला हाल्नेदेखि कम्पनी नै चलाइराखेका छन्।
जेपी इलेक्ट्रिकल्सका मुकुन्द बरालका अनुसार करिब पाँच महिनाअघि मात्रै यहाँ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो। यसअघि विद्युतीय सामग्रीको व्यापार गर्दै आएको कम्पनीले अहिले पार्कभित्र नयाँ शोरुम विस्तार गरेको उनले सुनाए।
‘हामी यहाँ अहिले सुरुवाती चरणमा छौं। अहिले मुख्य कुरा व्यवस्थापन गरेर व्यवसाय अघि बढाउनु हो,’ उनले बताए।
तर, उनले यो वर्ष गएको बाढीको असर बिजुली बत्तीको व्यवसायमा परेको सुनाए।

‘बाढी पहिरोको असर होला। पहिला जस्तै बिक्री हुन सकेको छैन। यस वर्षका लागि ल्याइएको सामानको मौज्दात भए अब अर्को वर्षसम्म पनि बेच्नुपर्ने अवस्था हुनसक्छ,’ उनले भने।
तिहारमा कस्तो बत्तीको छ माग ?
अन्य समयमा सामान्य बत्ती र विद्युतीय सामग्रीको कारोबार हुने भए पनि तिहारमा रंगीन बत्तीको माग विशेष हुने व्यवसायी प्रधान बताउँछन्। व्यवसायीले पनि यसलाई लक्षित गरेर सामानको तयारी गर्छन्।
व्यवसायी अग्रवालको अनुभवमा पछिल्लो समय नयाँ नयाँ बत्तीको ‘ट्रेन्ड’ बढेको छ। जेपी इलेक्ट्रिकल्सका बराल बजारमा बत्तीका प्रकार र उपभोक्ताको रुचि परिवर्तन हुँदै गएको बताउँछन्।

‘अहिले वार्म कलरका बत्ती र वाटरफल लाइट ग्राहकको रोजाइमा पर्न थालेका छन्,’ उनले भने।
उनले बजारमा थरीथरीका वार्म कलर लाइट र वाटरफल लाइट उपलब्ध रहेको बताए।
तिहार शनिबारबाट सुरु हुँदैछ। काठमाडौं भने रातको केही समय अघि देखि नै झिलिमिली भइसकेको छ। काठमाडौंलाई ५ दशक देखि झलमल बनाइरहेको भोटेबहाल भने बिहानदेखि साँझको समयसम्म झिलिमिली देखिन्छ।
सुनधारादेखि भोटेबहालको बिजनेश कम्प्लेक्ससम्मका पसल भित्र र बाहिर बत्तीहरु बिहानैदेखि बालेर राखिएका छन्। रातिको समयमा यो ठाउँ झलमल हुने गर्छ। व्यापार कम भए पनि यो ठाउँले बत्ती र राजधानीको सम्बन्धलाई जोगाइराख्नेमा व्यवसायीहरुको विश्वास छ।
‘अब त शहर पनि विस्तार भयो। यहीँ आउन पर्छ भन्ने पनि रहेन। अनि चाडपर्वका बेला जति नै दुःख भए पनि नेपालीहरू आफ्नो दुःख लुकाएर खुसी हुने प्रयास गर्छन्। विपत्तिहरूलाई बिर्सेर फेरि त्यही उत्साह र उमंग फर्काउनुपर्ने अवस्था छ,’ सुदर्शनधर प्रधानले भने।










