काठमाडौं। काठमाडौं गोर्खाजले विराटनगरक किंग्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौंले विराटनगरमाथि ९ विकेटको प्रभावशाली ब्याटिङ गरेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निरीह ब्याटिङ गर्दै ८४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो।

काठमाडौंलाई लक्ष्यसम्म पुर्याउन दुई अस्ट्रेलियन ब्याटर प्रभावशाली रहे। काठमाडौंका डेभिड वार्नरले सर्वाधिक अविजित ४४ रन बनाउँदा विल बोसिस्टो २३ रनमा अविजित रहे। बलिङमा अपराजित पौडेलले १० रन बनाएका साहिल पटेललाई बोल्ड आउट गरेका थिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १८.३ ओभरमा अलआउट हुँदै ८३ रन बनाएको थियो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगर ८.३ ओभरमा पुग्दा ३०-६ को लज्जास्पद स्थितिमा पुगिसकेको थियो। यहाँबाट हेर्दा उसले जनकपुरको एनपीएल इतिहासकै कम स्कोरको खराव कीर्तिमान तोड्ने देखिन थालेको थियो। जनकपुरले ५१ रनमा अलआउट हुँदै यो खराब कीर्तिमान आफ्नो नाममा राखेको छ।

शीर्षक्रम र मध्यक्रमका ब्याटर नचले पनि तल्लो क्रमका रुपेश सिंहले २६ र मध्यक्रमका एन्जेलो म्याथ्युजले २२ रन बनाउँदै विराटनगरको गर्जो टारे। यी बाहेक १० रन बनाएका बसीर अहमदले मात्रै दोहोरो अंकमा रन जोड्न सके।
घातक बलिङ गर्ने क्रममा काठमाडौंका सन्तोष यादवले ३ विकेट लिँदा करण केसी र सहान अरागिचेले समान २ तथा जहानदाद खान, शाहब आलम र देव साहले समान १ विकेट लिए।

योसँगै पाँचवटा टोलीको अंकतालिकामा समान ४ अंक भएको छ। लुम्बिनी ७ अंकसहित शीर्षस्थानमा रहँदा काठमाडौं, कर्णाली, जनकपुर, विराटनगर र सुदूरपश्चिमको समान ४ अंक छ। चितवन राइनोजले ३ अंक बनाउँदा पोखराले अंक बनाएको छैन।









