काठमाडौं। आन्द्रे रसेल विश्व क्रिकेटका ठूला सुपरस्टारमध्ये पर्छन्। उनले वेस्टइण्डिजको राष्ट्रिय टोलीबाट मात्र होइन, विश्वका सबैजसो ठूला लिग खेलेका छन्। उनी जहाँ पनि आफ्नो प्रभाव छाड्ने भर्सटाइल खेलाडी हुन्।
रसेल नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि यसपालि पहिलो पटक नेपाल आए। उनले विराटनगरको जितमा बलिङ, ब्याटिङ जताततै योगदान गरिरहेका छन्। मंगलबार पनि उनले यस्तै अलराउण्ड प्रदर्शन गरेर विराटनगरलाई अन्तिम बलमा जिताए।

नेपालमा उनी मख्ख छन्। क्रिकेट बाहेक कुरा गर्न उनीसँग धेरै कुरा छन्। ‘बिहान उठ्दा झ्यालबाट हिमाल देखिन्छ,’ उनी मख्ख पर्दै भन्छन्। सानो छँदादेखि उनले सगरमाथा विश्वको सर्वोच्च शिखर भन्ने सुनेका थिए। यसपालि होटलको झ्यालबाट हिमाल हेर्न पाउँदा धेरै खुशी लागेको रसेलले बताए।
‘यी कुरालाई म हल्का रूपमा लिन्न। देश सुन्दर र सफा छ, मानिसहरू असल छन्, र मौसम पनि राम्रो छ,’ उनले भने।

मंगलबार त्रिवि मैदानमा रसेल छाए। जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंसको २ रनको जितमा रसेलले २९ बलमा अविजित ५२ रन बनाए। साथै ४ विकेट आफ्नो नाममा लेखाएका कारण उनी प्लेयर अफ दी म्याच बने।
तर खेलपछि उनले सबैभन्दा बढी नेपालबारे बोले।
रसेल नेपाल आएको एक हप्ता भयो। उनले कीर्तिपुरमा चार खेलेका छन्। तर, उनलाई टोलीका साथीहरू वर्षौँदेखि चिनेजस्तो लाग्छ।
‘म स्वभावैले हँसिलो मान्छे हुँ,’ उनले भने, ‘तर यहाँका साथीहरू सधैँ केही न केही गरिरहेका हुन्छन्, चेन्जरुममा हाँसोखुसी चलिरहन्छ। मैले संसारभरि सयौँ खेलाडीसँग खेलेको छु, तर यो मैले अनुभव गरेको सबैभन्दा खुसी ड्रेसिङरुमध्ये एक हो।’
यही माहोल देखेर उनले आफ्ना कप्तान सन्दीप लामिछानेको स्वभाव बुझे। आईपीएलमा पहिलो पटक भेट्दा सन्दीप जसरी हँसिलो र चञ्चल देखिएका थिए, त्यसको कारण नेपाल आएपछि थाहा पाएको उनले बताए। ‘यहाँका मानिस नै यस्ता रहेछन्,’ उनले भने।

नेपालमा आएर एनपीएलमा सहजै सेट हुने कम खेलाडीमध्येमा पर्छन् रसेल। ‘म ठूलो सुपरस्टार हुँ भन्दैमा घमण्डी बनिरहनुपर्छ भन्ने छैन। मैदानभित्र र बाहिर म उनीहरूसँग रमाइलो गर्छु,’ उनले भने।
२० वर्षभन्दा बढी लिग क्रिकेट खेलेका रसेलका लागि नयाँ ठाउँमा ढल्नु पुरानै कला हो। क्यारिबियनमा यस्तै सतहमा खेलेको अनुभवले पनि सहयोग गरेको उनले बताए। उनका अनुसार नेपालमा खेल्न सजिलो भने छैन।
‘पिचमा बल घुम्ने, माथि नउठ्ने र कहिलेकाहीँ अनियमित हुने रहेछ। नेपालमा लिग खेल्छु र छ वटा छक्का हान्छु भन्न सजिलो छैन किनभने यहाँका बलर राम्रा छन्,’ उनले भने, ‘अर्को वर्ष पनि यो टुर्नामेन्टमा फर्किन्छु।’
रसेलले नेपाली खेलाडीलाई सिकाइरहेको कुराले पनि ध्यान तान्छ। पहिलो दिन नै लोकेशमा छिट्टै रिसाउने स्वभाव देखेपछि उनले काँधमा हात राखेर भनेका थिए, ‘असल मान्छे बन।’ त्यसपछि इनिङ सुरु गर्ने तरिका र सेट भएपछि विकेट नफाल्ने विषयमा कुरा भएको रहेछ।
‘अहिले उनको इनिङमा त्यो परिवर्तन देखिन्छ। उनी रन बनाउन भोका छन्,’ रसेलले भने।
नेपाली क्रिकेटको भविष्यप्रति उनी आशावादी छन्। ‘१५-२० जना खेलाडीमा मैले राष्ट्रिय टोलीमा खेल्ने क्षमता देखेको छु। चयनकर्तालाई टोली छान्न गाह्रो पर्नेछ। केही वर्षभित्रै नेपालले संसारका ठूला टोलीलाई हराइरहेको हुनेछ,’ उनले भने।

रसेलले टी-२० मा १०,००० रनको कीर्तिमान पूरा गरेका छन्। पाँच वर्षअघि उनले १०,००० रन र ५०० विकेट पुर्याउने पहिलो फास्ट बलिङ अलराउन्डर बन्ने लक्ष्य राखेका थिए। ‘चोटसँग खेल्नुपर्यो, शल्यक्रियापछि फर्किनुपर्यो। लक्ष्य पूरा हुँदा त्यो क्षण निकै मीठो हुन्छ,’ उनले भने। अब उनको चाहना रन १२,००० पुर्याउनतिर छ।
के एनपीएलमा यो उनको अन्तिम खेल हो?
‘होइन, अझ एउटा खेल बाँकी छ,’ रसेलले ठट्टा गर्दै भने, ‘म नेपाललाई यति माया गर्छु कि घर फर्किँदै फर्किन्न, यहीँ बस्छु।’










