काठमाडौं। क्यासलेस सेवा सुरु नहुँदा नागढुंगा-नौबिसे सुरुङमार्गमा गाडीको लामो लाइन लाग्न थालेको छ। आइतबारदेखि शुल्क (टोल ट्याक्स) संकलन सुरु भएका स्वचालित भुक्तानी प्रणाली नहुँदा आधा घण्टासम्म लाइन लाग्नुपर्ने अवस्था निम्तिएको छ।
नगद र क्यूआरबाट शुल्क तिर्दा समय धेरै लागेका कारण गाडी जाम हुन थालेको हो। सुरुङमार्गमा स्वचालित प्रणालीमार्फत शुल्क संकलन गर्ने एन-ट्याग कार्ड संचालनमा नआउँदा यात्रुले सास्ती भोगेका हुन्।
बिहान ७ देखि ९ बजेको समयमा आधा घण्टासम्म जाम बस्नुपर्ने भएपछि कतिपय सवारी सुरुङमार्गबाट डाइभर्ट भएर पुरानै बाटो हिंड्न थालेका छन्।
एन-ट्याग कार्ड चलाउन ८ वटा बैंकलाई जिम्मा दिइए पनि अहिलेसम्म उनीहरुले परीक्षणको चरणमै रहेको बताएका छन्। नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्गमा क्यासलेस सुविधा नहुँदा समस्या भइरहेको स्वीकार गरे।
‘हामीले क्यासलेस गर्न एन-ट्याग कार्ड जारी गरेका छौं। अहिले सबै सवारीसाधनसँग त्यस्तो एन-ट्याग कार्ड उपलब्ध छैन। अहिले फिजिकल रुपमा टोल संकलन गर्नु परिरहेको छ। जसले गर्दा पिक आवरमा ट्राफिकको समस्या भइरहेको हो,’ उनले बिजमाण्डूसँग भने।
बिहान ७-९ बजेको समयमा धेरै ट्राफिक जाम भइरहेको छ। क्यास र क्यूआर मात्रै लागू गरिएकोले समस्या भएको नेपालले स्वीकार गरे।
‘अहिले एक जनालाई १५/२० सेकेन्डसम्म समय लाग्ने गरेको छ। साथै चेन्ज पैसा नभएको बेलामा अझ धेरै समय लाग्छ। तर एन-ट्याग भएपछि ३-४ सेकेन्डमा सकिन्छ,‘ उनले भने।
एन-ट्याग कार्यान्वयनका लागि रिड गर्ने सिस्टममा समस्या आएकाले सुधारको काम भइरहेको उनले बताए। शुल्क लिन थालेको पहिलो दिन आइतबार सुरुङमार्गमा ११ लाख ७६ हजार रुपैयाँ उठेको थियो।
एन-ट्याग कार्डको काम के भइरहेको छ?
सडक बोर्ड नेपालका इन्जिनियर सागर ज्ञवालीका अनुसार अहिले एन-ट्याग कार्ड वितरणको तयारी भइरहेको छ।
‘भेहिकल दर्ता गर्ने कुरा दसैंपछि मात्रै भएको थियो। अहिलेसम्म कार्यालयहरुको सवारीसाधन दर्ता भइरहेको छ। सँगै सिस्टम इन्टिग्रेसनको काम भइरहेको छ। बैंकहरुले आफ्ना कर्मचारीलाई तालिम दिइरहेका छन्,’ ज्ञवालीले भने, ‘बैंकले एन-ट्याग वितरण जतिसक्दो चाँडो गर्यो, त्यति चाँडै हामी पनि एन-ट्याग लागू गर्न सक्छौं। तिहारसम्म एन-ट्याग लागू गर्ने योजना छ।’
कुमारी बैंकले टोल ट्याक्स संकलनको जिम्मा पाएको छ भने अरु बैंकले टोल संकलनको मात्रै जिम्मा पाएका छन्।
राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले एन-ट्याग कार्ड जारी गर्न सक्छन्। तर, अहिलेसम्म सडक बोर्डसँग ८ वटा बैंकले मात्रै सम्झौता गरेका छन्। जसमा कुमारी, सनिमा, माछापुच्छ्रे, ग्लोबल, सिद्धार्थ, नबिल, सिटिजन्स र सनराइज बैंक छन्।
कुमारी बैंकका दायित्व व्यवस्थापन प्रमुख अनिल निरौलाका अनुसार सात वटै प्रदेशमा एन-ट्याग कार्ड पठाइको छ। ‘अहिलेसम्म लगभग ६५ हजार कार्ड देशभरीका शाखामा पठाएका छौं। हामीले सबैभन्दा धेरै कार्ड दिने हो। प्राविधिक रुपमा पहिलो आयोजना भएकाले त्यसलाई मिलाउन काम भइरहेको छ। विभिन्न स्थानमा हामी एन-ट्याग कार्ड डिस्ट्रिब्युसनको बुथ राख्छौं,’ निरौलाले भने।
एन-ट्याग कार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र (एनआइडी), सवारीसाधनको बिलबुकको ३ वटा पाना र व्यक्ति तथा सवारीसाधनको केवाइसी चाहिन्छ। त्यो सबै भएपछि ७ मिनेटमा फाराम भरिन्छ। त्यसपछि ‘युनिक आइडेन्टिटी नम्बर’ पाइन्छ। युजरले फेरि सडक बोर्डमा रहेको एन- ट्यागको वेबसाइट भित्र गएर एप्रुभ गर्नुपर्छ। एन-ट्याग वेबसाइटमा गएर युनिक आइडेन्टिटी नम्बरलाई एप्रुभ गरेपछि काम सकिन्छ।
एन- ट्याग कार्डमा पैसा लोड गर्न फोन हबमा गएर टोल पेमेन्ट भन्ने सेक्सन आउँछ। त्यसमा क्लिक गरेपछि आफ्नो एन-ट्याग कार्डमा पैसा लोड गर्न सकिन्छ। एन-ट्याग कार्डको म्याद ५ वर्षसम्मको हुनेछ। नयाँ कार्ड लिन ५०० रुपैयाँ लाग्छ। अहिले नवीकरणको बेला कति पैसा लाग्ने भनिएको छैन।
ग्लोबल आईएमई बैंकका डीसीओ सुमन पोखरेलका अनुसार कार्ड परीक्षण भइरहेको छ। ‘अहिले आन्तरिक रुपमा कार्ड परीक्षणको काम भइरहेको छ। परीक्षण सकिएलगत्तै सर्वसाधारणलाई वितरण सुरु गर्नेछौं,‘ उनले भने।
एनएमबी बैंकले पनि एन-ट्याग कार्ड वितरणका लागि परीक्षणको काम भइरहेको जनाएको छ।









