गण्डकी। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।
पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डीएलपी) सुरु भइसकेको छ,’ उनले भने, ‘डीएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ।’
इन्जिनियर पाण्डेका अनुसार कुल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक ६ लेन र अन्यत्र ४ लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ। पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण गरिएको जानकारी उनले दिए।
तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ। पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ वैशाखदेखि सुरु भएको थियो। निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वी खण्ड निर्माणको ठेक्का पाएको थियो।
गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको सडक स्तरोन्नतिसँगै काठमाडौं, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ। निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन्।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मंसिरभित्र काम सक्ने लक्ष्य लिइएको बताए। ‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ। झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘रोड मार्किङ, ट्राफिक संकेत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरु धमाधम भइरहेको छ।’
पोखरा-१० अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले जानकारी दिए। निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उनले बताए। ‘सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डीएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ,’ उनले भने।
कुल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा ६ लेन र बाँकीमा ४ लेनको सडक निर्माण भएको छ। ‘पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले ६ लेनमा सडक विस्तार गरिएको हो,’ उनले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि ६ लेन बनाइएको छ।’ यो खण्डमा पर्ने १३ मध्ये १२ वटा पुल निर्माण भइसकेका छन्। पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो।
८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो। सडकको काम सुरुवातमा सुस्त थियो। पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए।
गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ। पोखरा आउजाउमा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि हटेको छ। सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरु पनि खुला र आकर्षक देखिएका छन्। अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोक लगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ। रासस










