काठमाडौं। सरकारले खाता रोक्का गर्न निर्देशन दिएपछि होटल याक एण्ड यतीका कर्मचारी खर्चबिहिन भएका छन्। खाता रोक्काले तलब भुक्तानी रोकिएपछि उनीहरु असन्तुष्ट पनि बनेका छन्। उनीहरुले महिना दिनको तलब लिन पाएका छैनन्।
क्यासिनकोको बक्यौता नबुझाएको भन्दै सरकारको एक निकायले होटलको सम्पूर्ण खातापाता बन्द गरेको छ। राष्ट्र बैंकमार्फत पर्यटन विभागले बैंक खाता रोक्का गरेको थियो।
होटलमा रहेका पाँच सय कर्मचारीको दैनिकी नै प्रभावित भएपछि बिहीबार अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले पर्यटन विभागलाई पत्राचार गरेको छ। उनीहरुले खाता फुकुवा गर्न माग गरेका छन्।
सर्वोच्च अदालतले होटलको नियमीत संचालनमा रोक नलगाउन अल्पकालिन अन्तरिम आदेश दिएपनि बैंक खाता हाल म्म खुला नगरिदिएको संघले जनाएको छ। होटलको आधिकारीक बैंक खाता हिमालय बैंकमा छ भने कर्मचारी खाता कुमारी बैंकमा छ।
‘कर्मचारी खाता बन्द नभए पनि होटलको खाता बन्द गरिदिइएको छ। सरकारले व्यवसाय संचालन निरन्तर गर्नु भनेपछि खाता किन खुला गराइएन अझै बुझ्न सकिएको छैन। हामी र हामीसँग आश्रित परिवारको दैनिकी कसरी चलाउने’ होटलका एक कर्मचारीले भने।
एक महिना अगाडि पर्यटन मन्त्री प्रेमबहादुर आलेको ठाडो निर्देशनमा होटल बन्द गराउन लगाइएको थियो। आलेअन्तर्गतको निकाय पर्यटन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै होटलको खाता रोक्का गर्न निर्देशन दिएको थियो। अदालतको आदेशपछि पनि राष्ट्र बैंकले खाता खोलिदिन मानेको छैन।