एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढेर पुग्यो १ अर्ब १६ करोड, कर्जा नोक्सानीमा सुधार

बिजमाण्डू
२०८३ कात्तिक १४ गते ११:१३ | Oct 31, 2026
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढेर पुग्यो १ अर्ब १६ करोड, कर्जा नोक्सानीमा सुधार


काठमाडौं। एनएमबी बैंकले नाफा बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा बैंकको नाफा २७.११ प्रतिशतले बढेर १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

GBIME
Tata

पोहोर सोही अवधिमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ थियो।

कर्जा नोक्सानी व्यवस्थामा आएको कमी र खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार भएको हो। बैंकको कर्जा नोक्सानी २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँमा झरेको छ।

बैंकको खुद ब्याज आम्दानीमा ४.१९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ।

बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.५८ प्रतिशतको तुलनामा केही बढेर ४.९२ प्रतिशत पुगेको छ।

बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ४.०५ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ५.८९ प्रतिशतबाट झरेर ४.९५ प्रतिशतमा पुगेको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भने ८४.७१ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी (ईपीएस) १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ ८३ पैसा कायम भएको छ।

यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १२.५३ प्रतिशत कायम भएको छ।