डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व, दिनेश थकाली अध्यक्ष चयन

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १६:०५ | Oct 30, 2026
डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व, दिनेश थकाली अध्यक्ष चयन


काठमाडौं। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको शुक्रबार भएको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

GBIME
Tata

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीइओ माधव प्रसाद उपाध्याय चयन भएका छन्। सचिवमा ज्योति विकास बैंकका सीइओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीइओ दिपेश लम्साल चयन भएका छन्।

कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका सीइओ तारा मानन्धर र लुम्बिनी विकास बैंकका सीइओ सुमन आचार्य चयन भएका छन्। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीइओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीइओ अनन्त कुमार चापागाईं पनि सदस्य चयन भएका छन्।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पनि स्वीकृत गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ। नवनिर्वाचित कार्यसमितिले संस्थागत विकास र बैंकिङ क्षेत्रका साझा मुद्दामा काम गर्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित अध्यक्ष थकालीले एसोसिएसनका गतिविधिलाई थप प्रभावकारी बनाउने बताएका छन्। उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले बैंकिङ क्षेत्रको सुधार र स्वस्थ प्रतिस्पर्धाका लागि सदस्य बैंकहरूबीच सहकार्य आवश्यक रहेको बताए। विकास बैंकहरूको हित प्रवर्धनका लागि नियामक निकाय र सरोकारवालासँग समन्वय बढाउने उनको भनाइ छ।

हाल नेपालमा राष्ट्रिय स्तरका ७ र क्षेत्रीय स्तरका ९ गरी १६ विकास बैंक सञ्चालनमा छन्। यी बैंकले २०८३ असार मसान्तसम्म १ हजार १११ शाखामार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन्।