आठ हजार मिटरमाथिका थप ६ हिमाल सूचीकृत गर्न नेपालको प्रस्ताव, कुन-कुन?

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १४:४५ | Oct 30, 2026
आठ हजार मिटरमाथिका थप ६ हिमाल सूचीकृत गर्न नेपालको प्रस्ताव, कुन-कुन?


काठमाडौं। सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाललाई सूचीकृत गर्न प्रस्ताव गरेको छ।

GBIME
Tata

विश्व पर्वतारोहण तथा आरोहण महासंघ शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभामा सरकारले नेपाल पर्वतारोहण संघमार्फत थप ६ हिमाललाई सूचीकृत गर्न प्रस्ताव गरेको हो। यो प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या नेपालमा २० पुग्नेछ।

नेपालले यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर)लाई सूचीकृत गर्न प्रस्ताव गरेको हो।

यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुनेछ। यसले आरोहण गतिविधि विस्तार र साहसिक पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा छ।

विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागितामा नेपालमा तेस्रोपटक विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा भएको हो।