भाटभटेनीमा सामान ढुवानी गर्ने सवारी साधन अब विद्युतीय हुने, १४ वटा गाडीबाट सुरुवात

बिजमाण्डू
२०८३ कात्तिक १२ गते १९:२७ | Oct 29, 2026
भाटभटेनीमा सामान ढुवानी गर्ने सवारी साधन अब विद्युतीय हुने, १४ वटा गाडीबाट सुरुवात


काठमाडौं। भाटभटेनी सुपरमार्केटले ढुवानीमा प्रयोग हुने सवारी साधन विद्युतीयमा परिवर्तन गर्न थालेको छ। हरित यातायातलाई प्रवर्धन गर्नका लागि कम्पनीले विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न थालेको हो।

GBIME
Tata

पहिलो चरणमा १४ वटा नयाँ विद्युतीय गाडी किनेर चलाउन थालेको छ। भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले फोटोनका १४ वटा नयाँ विद्युतीय गाडी किनेर संचालनमा ल्याएको जानकारी दिए। भाटभटेनीले ढुवानीका लागि १६३ वटा गाडी प्रयोग गर्दै आएको छ।

गुरुङले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका असरलाई गम्भीर रूपमा लिनुपर्ने अवस्था आएको बताए। रसुवामा आएको बाढीजस्ता प्राकृतिक विपद्ले वातावरण संरक्षणको आवश्यकता झन् स्पष्ट पारेको उनको भनाइ छ।

‘ग्लोबल वार्मिङको विषयमा अब सबै जना गम्भीर भएर लाग्नुपर्ने अवस्था आएको छ। नेपालमा हरित ऊर्जा उत्पादन भइरहेको छ। त्यसलाई प्रयोगमा पनि ल्याउनुपर्छ। यसले वातावरण संरक्षणमा सहयोग गर्छ। हाम्रो उद्देश्य पनि वातावरण जोगाउनु नै हो,’ उनले भने।

उनका अनुसार विद्युतीय गाडी प्रयोग गर्दा वातावरण संरक्षणसँगै ढुवानी लागत पनि घटाउन सकिन्छ। अहिले डिजेलबाट चल्ने गाडीको इन्धन तथा सञ्चालन खर्च महँगो हुँदा सामान ढुवानीको लागत बढिरहेको छ।

‘भैरहवाबाट काठमाडौं सामान ल्याउन २५/२६ हजार रुपैयाँसम्म डिजेल खर्च लाग्छ। यस्तो अवस्थामा ढुवानी लागत घटाउन विद्युतीय गाडी प्रभावकारी हुन सक्छन्,’ उनले भने।

ढुवानी खर्च घट्दा किसान र उपभोक्ता दुवैलाई राहत पुग्ने गुरुङको भनाइ छ। उनले भैरहवा वा जनकपुरमा किसानले प्रतिकिलो १० रुपैयाँमा बिक्री गर्ने तरकारी काठमाडौं आइपुग्दा प्रतिकिलो ५० रुपैयाँसम्म पुग्ने अवस्था रहेको बताए।

ढुवानी लागत घटाउन सके किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तर कम गर्न सहयोग पुग्ने उनको अपेक्षा छ।

‘वातावरण संरक्षणका लागि मात्रै होइन, विद्युतीय गाडीको सञ्चालन खर्च पनि कम हुन्छ। ढुवानी लागत घटाउन सकियो भने किसानलाई थप राहत दिन र उपभोक्तालाई सस्तोमा सामान उपलब्ध गराउन सकिन्छ,’ उनले भने।