काठमाडौं। अनुकूल मौसमसँगै देशका प्रमुख पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ भएका छन्। सौराहा, लुम्बिनी, पोखरा, मुस्ताङ, घोडेपानी लगायत गन्तव्य पर्यटकमय भएका हुन्।
आन्तरिक तथा विदेशी पर्यटकका कारण सौराहाका होटल तथा रेस्टुरेन्ट खचाखच भएका छन्। पर्यटकको संख्या ह्वात्तै बढेपछि कतिपय होटल तथा रिसोर्टलाई कोठा उपलब्ध गराउनै धौधौ परेको छ।
सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले दसैं सकिए लगत्तै आन्तरिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको बताए। उनका अनुसार सौराहामा होटललाई यतिखेर पर्यटकलाई कोठा उपलब्ध गराउन निक्कै मुस्किल छ।
‘पाहुनालाई कोठा पुर्याउन निकै मुस्किल भइरहेको छ। पाहुनाको संख्या बढेका कारण बुकिङ मिलाउन र कोठा व्यवस्थापन गर्न दबाब परेको छ,’ उनले भने। वाटिका रिसोर्टका सबै कोठा तीन दिनदेखि भरिभराउ छन्। देवकोटाका अनुसार रिसोर्टमा अहिले आन्तरिक पर्यटक धेरै छन्।

विदेशी पर्यटक आगमनका दृष्टिले अक्टोबर पर्यटकीय सिजन हो। यस्तै नेपालीहरुमा पनि दसैं तिहारका बेला घुमघाम गर्ने प्रवृत्ति बढेको छ। तर असोज ८-११ गतेको वर्षासँगै आएको बाढी पहिरोले पर्यटन व्यवसाय प्रभावित भएको थियो। बाढी पहिरोले क्षति पुगेका सडक सञ्चालनमा ल्याइनुका साथै मौसम पनि अनुकूल भएपछि देशका विभिन्न पर्यटकीय गन्तव्य गुल्जार भएका हुन्।
दसैंअघि सुनसान बनेको घोडेपानी पुनहिलमा पछिल्ला दिनमा पर्यटकको आगमन ह्वात्तै बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए।

‘बाढी पहिरोका कारण असोजमा सुनसान थियो। तर कात्तिक लागेपछि दैनिक २०० हाराहारी विदेशी र ५० हाराहारीमा नेपाली पर्यटक आइरहेका छन्,’ उनले भने, ‘दसैं सकिएपछि नेपालीहरुको संख्या बढेको छ।’
पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन्। घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बिदा र अनुकूल मौसमका कारण पर्यटकको संख्या बढेर आफूहरुलाई भ्याइ नभ्याइको स्थिति रहेको बताए। घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल छन्।
सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पुनहिल पर्यटकको रोजाइमा पर्ने गरेको छ।
पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुरा अवलोकन गर्न सकिन्छ।पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी-पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ।
मनाङमा पनि विदेशी पर्यटकको संख्या बढेको छ। त्यहाँ अहिले दैनिक ५०० हराहारी विदेशी पर्यटक पुगिरहेको होटल व्यवसायीहरुले बताएका छन्।

ट्रेकिङका लागि अहिले उपयुक्त समय हो।
यसपालि दसैंको अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटक पोहोरभन्दा दोब्बर देखिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ५ हजार ३८४ विदेशी पर्यटक अन्नपूर्ण चक्रीय पदमार्गमा पुगेका छन्। गत वर्ष दसैंमा यो संख्या २ हजार ७५७ थियो।
एक्यापका धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले मनास्लु क्षेत्रको पदमार्गमा बाढीले क्षति पुर्याएका कारण पर्यटक अन्नपूर्ण पदमार्गतर्फ मोडिएको बताए।
पोखरामा विदेशीसँगै आन्तरिक पर्यटकको ओइरो लागेको छ। आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेका कारण फेवातालमा डंगा सयरका लागि पालो कुर्नुपर्ने अवस्था छ। पछिल्ला दिनमा पर्यटक बढेसँगै होटल व्यवसायीहरु उत्साहित भएका छन्।

सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले दसैँको टीकापछि पर्यटकको आगमन उल्लेख्यरुपमा बढेको बताए। ‘यतिखेर सौराहा आउनेमध्ये अधिकांश स्वदेशी पर्यटक छन्। दसैंपछि आन्तरिक पर्यटकको संख्या दिनदिनै बढिरहेको छ,’ उनले भने।
सौराहा पुग्ने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुंगा सयर तथा थारू सांस्कृतिक नाच प्रमुख आकर्षण हुन्। सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि जीप सञ्चालनमा छन्।









