एनपीएलमा आर्थिक कारोबार बुम : डेढ सय करोडको हुने, विश्व चर्चित क्रिकेटर नेपालमा

मुकुन्द घिमिरे
२०८३ कात्तिक ८ गते १६:४४ | Oct 25, 2026
एनपीएलमा आर्थिक कारोबार बुम : डेढ सय करोडको हुने, विश्व चर्चित क्रिकेटर नेपालमा


काठमाडौं। विश्वका चर्चित क्रिकेटर ल्याउने प्रतिस्पर्धासँगै नेपाल प्रिमियर लिग(एनपीएल)को एउटै संस्करण डेढ सय करोडको क्लबमा प्रवेश गरेको छ।

GBIME
Tata

तेस्रो संस्करणमै एनपीएलबाट नेपाल क्रिकेट संघ(क्यान)ले ७५ करोड रुपैयाँ र फ्रेन्चाइजीले ७५ करोड रुपैयाँको कारोबार गर्ने भएका छन्। क्यानले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीएलमा १५० करोडको कारोबार हुने बताएको हो।

क्यानका कोषाध्यक्ष पदम खड्काले तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलले आर्थिक रुपमा धेरै उचाइ प्राप्त गरेको बताए।

तेस्रो संस्करणसम्म आइपुग्दा धेरै उचाइ प्राप्त भइसकेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वले लिएको लक्ष्य अनुसार हामी स्वर्णिम युगमा प्रवेश गरेका छौं,’ उनले भने, ‘स्पोन्सरबाट मात्रै क्यानले २० करोड रुपैयाँ उठाउने। टिकेटिङ र टिकेटिङ पाटर्नर सबै गरेर ७० देखि ७५ करोड रुपैयाँ उठ्नेछ। त्यही हाराहारीमा एनपीएलका क्लबले कारोबार गर्नेछन्। एक महिनामा डेढ अर्बको कारोबार हुनेछ,’ उनले भने।

पदम खड्का

क्यानले मिडिया तथा टिकेटिङ अधिकार बिक्रीबाट ३३ करोड ३३ लाख रुपैयाँ डेढ महिनाअघि नै सुनिश्चित गरिसकेको छ। क्यानले ओटीटी अधिकार नेटटीभीलाई १८ करोड ४ लाख रुपैयाँ तथा नेपाल क्षेत्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजनलाई १४ करोड ६४ लाख रुपैयाँमा बिक्री गरेको थियो। त्यस्तै, एनपीएलको टिकेटिङ अधिकार इसेवाले ६५ लाख रुपैयाँमा किनेको छ।

कोषाध्यक्ष खड्काका अनुसार यो पटक एनपीएल विजेताले ट्रफीसँगै डेढ करोड रुपैयाँ पुरस्कार पाउने छ। दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० र चौथो हुनेले ३० लाख रुपैयाँ पाउनेछन्।

सोमबार सुरु हुने एनपीएलका लागि विश्वका चर्चित क्रिकेटर अनुबन्ध भएका छन्। एनपीएलमा विश्वका राम्रा खेलाडी ल्याउन फ्रेन्चाइजीले पनि ठूलै खर्च गरेका छन्।

एनपीएलका लागि डेभिड मिलर, डेभिड वार्नर, शाकिब अल हसन, मोइन खान, सिकन्दर राजा, आन्द्रे रसल, चरिथ असलंक, शेरफेन रदरफोर्ड, निरोसन डिकवेला लगायत विश्व चर्चित खेलाडी आएका छन्। विदेशी खेलाडीलाई फ्रेन्चाइजीले लाख होइन करोडमा अनुबन्ध गरेका छन्।

खेलाडीलाई काठमाडौंंका पाँच तारे होटलमा राखिएको छ। फ्रेन्चाइजीले खेलाडीलाई पाँच तारे होटलमा राख्दा कारोबार पनि गुल्जार भइरहेको छ। चर्चित केही खेलाडीलाई पाँच तारे होटलको सबैभन्दा महँगो स्वीट रुममा राखिएको छ। त्यो स्वीट रुमको एक रातको मूल्य तीन लाख रुपैयाँभन्दा बढी छ।