काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।
बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यसवर्ष असोजमा विद्युत निर्या बढेको हो।
प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र)को तथ्यांक अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ।
असोजमा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो। द्विपक्षीय विद्युत बिक्री सम्झौता अनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डेअहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत प्रत्येक वर्ष भारत एवं बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ।
गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो।
गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी हो।
चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए। उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो।
बंगलादेशतर्फ निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात गत शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।
भदौं १० गतेको भोटेकोशी बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निकासी रोकिएको थियो। बाढीका कारण द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यात आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।
उनले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएकोे उल्लेख गरे।
उनले यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरे।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो।
विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ।
विद्युत निर्यात क्षमता १,१७९ मेगावाट
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १,१७९ मेगावाट पुगेको छ।










