काठमाडौं। पछिल्लो एक दशकमा नेपालमा सवारीसाधनको संख्या दोब्बरभन्दा धेरै भएको छ। ९ वर्षको अवधिमा ३४ लाख ६६ हजारभन्दा बढी सवारीसाधन थपिएका छन्।
सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ सम्म २७ लाख ८३ हजार ४२८ सवारीसाधन दर्ता भएकामा गत आर्थिक वर्षसम्म आइपुग्दा यो संख्या ६२ लाख ४९ हजार ७४२ पुगेको छ।
सवारी बजारमा निजी आवागमनमा प्रयोग हुने मोटरसाइकल/स्कुटरको दबदबा छ। देशभर दर्ता भएका कुल सवारीसाधनमध्ये मोटरसाइकल/स्कुटरको हिस्सा ८१ प्रतिशत पुगेको छ। मोटरसाइकल/स्कुटर हालसम्म ५० लाख ६४ हजार ३६४ वटा दर्ता भएका छन्। ९ वर्षअघिसम्म दुई पाङ्ग्रेको संख्या २१ लाख ८९ हजार युनिट थियो।
निजी कार तथा एसयूभी बजारको प्रवृत्ति भने बदलिँदै गएको छ। पेट्रोल तथा डिजलबाट चल्ने गाडीको विकल्पका रुपमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढेको छ। इन्धन खर्च घटाउने सम्भावना, नयाँ प्रविधि, विभिन्न सुविधासहितका मोडल र प्रतिस्पर्धी मूल्यले बजारमा इभीको उपस्थिति बढ्दै गएको हो।
आर्थिक वर्ष २०७३/७४ सम्म कार/जीप/भ्यानको संख्या २ लाख १३ हजार ३२० युनिट रहेकामा त्यो संख्या २ लाख युनिट थपिएर ४ लाख नाघेको छ।
प्यासेन्जर सेगमेन्टका सवारीसाधनको बजार हिस्सा भने पछिल्लो वर्षमा घट्दै गएको देखिन्छ। कुनै समय वार्षिक ३० हजार युनिटसम्म प्यासेन्जर सेगमेन्टका गाडी बिक्री हुने गरेकामा अहिले १७ हजार युनिटमा खुम्चिएको छ। प्यासेन्जर कारको बिक्रीमा इभीको हिस्सा ६० प्रतिशतभन्दा माथि पुगेको सरकारी तथ्यांक छ।
कमर्सियल सवारीमा फरक प्रवृत्ति
सार्वजनिक यातायात, ढुवानी र निर्माण क्षेत्रमा प्रयोग हुने व्यावसायिक सवारीसाधनको बजार पूर्वाधार निर्माण र सरकारी खर्चसँग जोडिन्छ।
बस, मिनिबस, ट्रक, पिकअप, ट्याक्टर र निर्माण उपकरणको माग सार्वजनिक यातायातको आवश्यकता, सामान ढुवानी, कृषि गतिविधि तथा पूर्वाधार निर्माणको गतिसँग सम्बन्धित हुन्छ।
यो सेगमेन्टमा बसको संख्या ९ वर्षमा करिब ३० हजार बढेको देखिन्छ। मिनिबस र मिनि ट्रक साढे १८ हजार, क्रेन/डोजर/एस्काभेटर/ट्रक साढे ५७ हजार र पिकअप ४८ हजार युनिट थपिएको सरकारी तथ्यांक छ।
९ वर्षअघि ट्याक्टर/पावर टिलरको संख्या १ लाख ३० हजार ५६६ युनिट रहेकामा अहिले १ लाख ९८ हजार १८१ युनिट पुगेको छ।
सरकारी पुँजीगत सुस्त हुँदा ठूला ट्रक, टिपर, डोजर, क्रेन तथा एक्स्काभेटरको माग प्रभावित भएको अटो व्यवसायीहरुको भनाइ छ।
कृषि, खुद्रा व्यापार, सामान ढुवानी र डेलिभरी सेवामा प्रयोग हुने साना व्यावसायिक गाडीको माग खासगरी स्थानीय आर्थिक गतिविधिसँग सम्बन्धित हुन्छ।
छोटो दूरीमा प्रयोग हुने ई-रिक्साको विस्तार उल्लेखनीय छ। ई-रिक्सा आर्थिक वर्ष २०७३/७४ सम्म १४ हजार १४१ रहेकामा अहिले ८८ हजार ७९० पुगेको छ। यसले स्थानीय आवागमनमा साना सवारीसाधनको बढ्दो उपस्थिति देखाउँछ।
सवारीसाधनको संख्या बढ्दै जाँदा बजारमा प्रतिस्पर्धाको स्वरुप पनि परिवर्तन हुँदै गएको छ। निजी कार बजारमा मूल्य, रेन्ज, ब्याट्री, चार्जिङ सुविधा र प्रविधि महत्त्वपूर्ण बन्दै गएको छ। व्यावसायिक सवारीमा भने सञ्चालन लागत, भारवहन क्षमता, टिकाउपन, मर्मतसम्भार र स्पेयर पार्ट्सको उपलब्धता निर्णायक मानिन्छ।










