जीपले डोङफेङसँग मिलेर भारतका लागि गाडी उत्पादन गर्ने, ८ अर्ब युआनभन्दा बढीको परियोजना

बिजमाण्डू
२०८३ कात्तिक ८ गते ११:२५ | Oct 25, 2026
जीपले डोङफेङसँग मिलेर भारतका लागि गाडी उत्पादन गर्ने, ८ अर्ब युआनभन्दा बढीको परियोजना


अमेरिकी अटोमोबाइल ब्रान्ड जीपले भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न चीनको डोङफेङसँगको साझेदारीमा बनेका एसयूभी प्रयोग गर्ने सम्भावना बढेको छ।

GBIME
Tata

जीपले सन् २०३० सम्म भारतमा चार नयाँ मोडल र एउटा फेसलिफ्टसहित पाँचवटा गाडी सार्वजनिक गर्ने योजना बनाएको छ।

अटोकार इन्डियाका अनुसार, सी-एसयूभी र डी-एसयूभी भारतमै उत्पादन गर्ने रणनीतिमा स्टेलान्टिसले काम गरिरहेको छ।

स्टेलान्टिसले भारतमा सिट्रोन र जीप ब्रान्डमार्फत १२ वटा नयाँ गाडी सार्वजनिक गर्ने योजना अघि सारेको छ। त्यसअन्तर्गत जीपका बी-एसयूभी, सी-एसयूभी, डी-एसयूभी र डी-सेग्मेन्ट पिकअप बजारमा आउनेछन् भने एउटा पुरानो मोडल अपडेट हुनेछ।

स्टेलान्टिस र चीनको सरकारी स्वामित्वको अटोमोबाइल कम्पनी डोङफेङबीच गत मेमा ८ अर्ब युआनभन्दा बढीको परियोजनासम्बन्धी सम्झौता भएको थियो। यसमा स्टेलान्टिसले करिब १३० मिलियन युरो लगानी गर्नेछ।

सम्झौताअनुसार, चीनको वुहानस्थित डोङफेङ प्युजो सिट्रोन अटोमोबाइल (डीपीसीए) प्लान्टमा सन् २०२७ देखि प्युजोका दुई नयाँ ऊर्जा गाडी र जीपका दुई अफरोड क्षमतायुक्त नयाँ ऊर्जा गाडी उत्पादन गर्ने योजना छ। जीपका यी गाडी विश्व बजारमा बिक्री गर्ने लक्ष्य राखिएको छ।

यद्यपि, यी गाडी भारतमा आउने वा नआउने विषयमा कम्पनीहरूले औपचारिक घोषणा गरेका छैनन्। नियामकीय स्वीकृति र अन्तिम सम्झौता पनि बाँकी छ।

नयाँ गाडी पूर्ण विद्युतीय, प्लग-इन हाइब्रिड वा रेन्ज एक्सटेन्डर प्रविधिमा आउने सम्भावना छ। न्यु इनर्जी भेहिकल (एनइभी) शब्दले यी तीनै प्रकारका गाडीलाई समेट्छ।

चीनमा उत्पादन गर्दा लागत कम

जीपले चीनमा विकास गरिएका गाडी रोज्नुको मुख्य कारण लागत प्रतिस्पर्धा हो। युरोपमा विकास र उत्पादन हुने गाडीको लागत बढी हुँदा भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्न कठिन हुन्छ। विशेषगरी २० देखि ३० लाख भारतीय रुपैयाँको मूल्य समूहमा प्रतिस्पर्धा तीव्र छ।

चीनमा ब्याट्री, इलेक्ट्रोनिक्स र इभीका पार्टपुर्जाको ठूलो आपूर्ति सञ्जाल, उत्पादनको उच्च क्षमता र तुलनात्मक रूपमा कम लागत भएकाले गाडी प्रतिस्पर्धी मूल्यमा बनाउन सकिन्छ।

त्यस्तै, चिनियाँ बजारलाई लक्षित गरेर विकास गरिएका एसयूभीमा भारतीय ग्राहकले रुचाउने सुविधालाई प्राथमिकता दिइन्छ। ठूला टचस्क्रिन, कनेक्टेड प्रविधि, पानोरामिक सनरुफ, विद्युतीय तथा भेन्टिलेटेड सिट, लेभल-२ एडीएएस र पछाडिको सिटमा पर्याप्त ठाउँजस्ता सुविधा यस्ता गाडीमा उपलब्ध हुन्छन्।

डोङफेङसँगको सहकार्यमा अर्को महत्त्वपूर्ण पक्ष पनि छ। चीनमा डीपीसीएको बिक्री परिमाण पछिल्लो दशकमा घटेकाले वुहानस्थित प्लान्टमा उत्पादन क्षमता उपलब्ध छ।

यसले डोङफेङले गाडी उत्पादन गर्ने र स्टेलान्टिसले आफ्नो ब्रान्डमा बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्ने मोडललाई बल पुर्‍याउन सक्छ। अर्थात् डोङफेङले उत्पादन साझेदारभन्दा आपूर्तिकर्ताको भूमिका निर्वाह गर्न सक्छ।

भारत सरकाले चिनियाँ कम्पनीको प्रत्यक्ष लगानीलाई नजिकबाट नियालिरहेको अवस्थामा यस्तो मोडल व्यावहारिक हुन सक्छ। चिनियाँ कम्पनीसँग संयुक्त व्यवसाय सञ्चालन गर्नुभन्दा त्यहाँका आपूर्तिकर्ताबाट गाडी, किट वा पार्टपुर्जा खरिद गर्नु तुलनात्मक रूपमा सहज हुन्छ।

जीपको बी-एसयूभी भने टाटाको एआरजीओएस प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ। यही प्लेटफर्म टाटा सिएरामा पनि प्रयोग भएको छ। यसले स्टेलान्टिस र टाटाबीचको लामो समयदेखिको उत्पादन सहकार्यलाई थप विस्तार गर्न सक्छ।

यो मोडल पेट्रोल वा अन्य आन्तरिक दहन इन्जिन तथा विद्युतीय संस्करणमा आउन सक्ने अनुमान छ।

त्यस्तै, डी-सेग्मेन्ट पिकअपका रूपमा जीप ग्ल्याडिएटरलाई भारतीय बजारमा ल्याउने सम्भावना छ। यसलाई सीकेडी किटबाट एसेम्बल गरेर टोयोटा हाइलक्सभन्दा माथिल्लो स्थानमा राख्न सकिन्छ। यसको उद्देश्य ठूलो बिक्री परिमाण हासिल गर्नुभन्दा जीपको ब्रान्ड छवि बलियो बनाउनु हुनेछ।

यसअघि निसान इन्डियाले पनि डोङफेङको ल्याडर-फ्रेम प्लेटफर्ममा बनेको टेरानो प्लग-इन हाइब्रिड उत्पादन गर्ने सम्भावना अध्ययन गरेको थियो। तर, अहिले त्यो योजना अघि बढेको छैन।

जीपको भारतीय रणनीतिमा तीनवटा पक्ष देखिन्छन्- बढी बिक्रीका लागि भारतीय प्लेटफर्म, ब्रान्डको छवि बलियो बनाउन अमेरिकी पहिचान बोकेको पिकअप र लागत नियन्त्रणका लागि चिनियाँ प्रविधि तथा उत्पादन क्षमता।

भारतमा कम्पास मोडलभन्दा बाहिर ठूलो बजार बनाउन संघर्ष गरिरहेको जीपका लागि यो रणनीति प्रभावकारी हुन सक्ने जानकारहरुले बताएका छन्।