भारतमा एकजना पुरुषले महिला बनेर कसरी १००० जनालाई पारे हनी ट्रयापमा ?

बिजमाण्डू
२०८३ कात्तिक ८ गते ०७:३४ | Oct 25, 2026
भारतमा एकजना पुरुषले महिला बनेर कसरी १००० जनालाई पारे हनी ट्रयापमा ?
यो एआईबाट बनाइएको तस्विर हो।


सामाजिक संजालमा केटीहरुका तस्बिर भएको एउटा अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आउँथ्यो। कुराकानी सुरु हुन्थ्यो, अनि विस्तारै त्यो ‘सेक्स च्याट’सम्म पुग्थ्यो।

GBIME
Tata

च्याट गर्ने मानिसहरुसँग उनीहरुका नग्न तस्बिर र भिडियो मागिन्थ्यो। त्यसपछि उही केटीको दाजु भन्दै एक व्यक्ति पैसाको बार्गेनिङमा लाग्थ्यो।

यो घटना भारतको हैदराबादको हो। त्यहाँको प्रहरीका अनुसार केटी र उसको दाजु बनेर कुरा गर्ने व्यक्ति एकै थियो -२३ वर्षीय पवन कुमार।

प्रहरीका अनुसार पवनले चिकित्सक, प्रहरी, व्यापारी, सरकारी अधिकारी, सफ्टवेयर इन्जिनियर र प्राध्यापकसहित विभिन्न पेसाका करिब १ हजार जनालाई हनी ट्र्यापमा फसाए।

चारमिनारका डिसिपी किरण खरेका अनुसार चार वर्षदेखि कोलकाताकी एक मोडलसहित धेरै केटीहरुका तस्बिर प्रयोग गरेर उनले मानिसहरुलाई हनी ट्र्यापमा फसाउँदै थियो। र, उनीहरुसँग पैसा असुल्दै थियो।

ठगिएकाहरुमा भारतका विभिन्न राज्यका मात्र होइन, अन्य देशमा बस्ने मानिस पनि छन्। प्रहरीले पवनबाट तीनवटा मोबाइल फोन, एउटा ल्यापटप र १६ जिबीको पेन ड्राइभ बरामद गरेको छ।

तेलंगानाको पवन कुमार हैदराबादको बालानगरस्थित सेन्ट्रल इन्स्टिच्युट अफ टुल डिजाइनमा डिप्लोमा पढ्दै थिए। दोस्रो वर्षमै उनले पढाइ छाडे। खरेका अनुसार त्यसपछि उनले परिवारलाई आफू मल्ला रेड्डी कलेजमा बीटेक पढ्दै गरेको बताए। उनी हैदराबादमै साना–तिना काम गर्थे र बेरोजगार थिए।

पवनले केटीहरुका तस्बिर प्रयोग गरेर इन्स्टाग्राम र फेसबुकमा नक्कली अकाउन्ट बनाउँथे। ती खाताबाट मानिसहरुलाई फ्रेन्ड वा फलो रिक्वेस्ट पठाइन्थ्यो। रिक्वेस्ट स्वीकार भएपछि उनी केटी बनेर च्याट सुरु गर्थे।

डिसिपी खरेले भने, ‘ऊ विस्तारै कुराकानीलाई सेक्स च्याटतर्फ लैजान्थ्यो र प्रयोगकर्ताहरुका नग्न तस्बिर र भिडियो लिएर सेभ गर्थ्यो।‘

आफूमाथि शंका नलागोस् भनेर पवन केही मोडलहरुका अर्धनग्न तस्बिर पनि पठाउँथे भन्ने प्रहरीको भनाइ छ।

केटीपछि देखिन्थ्यो उसको ’दाजु’

नग्न भिडियो र तस्बिर हात परेपछि पवनले बार्गेनिङ थाल्थ्यो। उनी आफै केटीको दाजु बनेर देखा पर्थे। अनि फोन कल, ह्वाट्सएप र सामाजिक संजाल अकाउन्टबाट तस्बिर र भिडियो पठाउनेहरुसँग सम्पर्क गर्थे।

खरेले भने, ‘आफ्नी बहिनीले आत्महत्या गरेको वा प्रहरीमा उजुरी दिन्छु भनेर धम्की दिन्थ्यो। र पैसा माग्थ्यो।‘

यस काममा पवनले सबैभन्दा बढी कोलकाताकी एक मोडलका तस्बिर प्रयोग गरेका थिए। प्रहरीले ती मोडलसँग सम्पर्क गरेर उनलाई यसबारे जानकारी दिएको छ।

२२ देखि ७० वर्षसम्मका पीडित

खरेका अनुसार पीडितहरुको उमेर २२ देखि ७० वर्षबीच छ। प्रहरीले ८२ जनाका नग्न तस्बिर र भिडियो फेलासमेत पारेको छ।

पीडितहरु तेलंगाना, आन्ध्र प्रदेश, केरल, तमिलनाडु र पञ्जाबका साथै साउदी अरेबिया, टुर्कीए, पाकिस्तान र क्यानडाका पनि छन्। प्रहरीका अनुसार पवनले यी मानिसहरुबाट अहिलेसम्म २५ लाख १६ हजार रुपैयाँ ठगेका छन्।

प्रहरीको छानबिनमा पवनले इन्स्टाग्राममा १३ वटा नक्कली आईडी र फेसबुकमा १४ वटा नक्कली पेज बनाएको देखिएको छ।

साथीले चिनेपछि खुल्न थाल्यो रहस्य

प्रहरीका अनुसार पवनले आफ्ना एक साथी रमेश (नाम परिवर्तन)लाई पनि ठगेर चार लाख रुपैयाँ असुलेका थिए। यसपछि नै यो सम्पूर्ण प्रकरण सार्वजनिक भयो।

ठगीमा परेका ती साथीले प्रहरीमा उजुरी दिए। रमेशका अनुसार सेन्ट्रल इन्स्टिच्युट अफ टुल डिजाइनमा डिप्लोमा पढ्दा उनको पवनसँग चिनजान भएको थियो।

सेप्टेम्बर २०२१ मा पवनले इन्स्टाग्राममा ‘मून बेबी ५९७३’ नामको आईडीबाट फ्रेन्ड रिक्वेस्ट पाए। उजुरीमा उनले भनेका छन्, ‘मलाई यो खातामाथि शंका लाग्यो। हेर्दा यो पवन कुमारले बनाएको जस्तो लाग्यो। मैले तुरुन्तै सोधेँ, उसले नक्कली खाता आफैंले बनाएको स्वीकार्‍यो। त्यसपछि मैले साथीपन तोड्ने निर्णय गरेँ।’

रमेशका अनुसार पछि उनी अर्को होस्टलमा बस्न थाशले। तैपनि पवन त्यहाँ पुगेर उनीसँगै बस्ने कुरा गरे। उजुरीअनुसार यसैबीच दुईबीच शारीरिक सम्बन्ध भयो।

रमेशले पवनले आफूमाथि शारीरिक सम्बन्धका लागि निकै दबाब दिने गरेको आरोप लगाएका छन्। भिडियो बनाएको दाबी गरेर धम्क्याएको, लाखौं रकम लिएको उनले उजुरीमा उल्लेख गरेका छन्।

सैदाबाद प्रहरीले १७ अक्टोबरमा यस घटनाबारे मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गर्‍यो। यही अनुसन्धानका क्रममा हनी ट्र्यापको यो जाल उजागर भएको रिपोर्ट बीबीसीमा प्रकाशित भएको छ।

 प्रहरीले सामाजिक संजाललमा कुनै अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएमा र अपरिचित अकाउन्टबाट सन्देश आउँदा सावधानी अपनाउन आग्रह गरेको छ।