काठमाडौं। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सनुवाइ केही समयका लागि ‘होल्ड’ भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको आग्रहमा समितिले केही समय सुनुवाइ होल्ड गरेको हो। प्रतिपक्ष दलका सांसदहरुले भने बुधबार नै निर्णयका लागि आग्रह गरेका थिए।
सभापति वोधनारायण श्रेष्ठले थापाको नाम निर्णयार्थ पेसको प्रक्रिया अघि बढाइसकेपछि प्रक्रिया स्थगन भएको हो। बुर्लाकोटीसहित रास्वपाका मधु चौलागाईंले प्रमाण बुझेर मात्र निर्णय गर्न आग्रह गरेका थिए। सांसद राजीव खत्रीले भने अस्वीकृतको पक्षमा नै निर्ण लिन सभापति श्रेष्ठलाई सुझाव दिएका थिए।
बुर्लाकोटीले समितिसमक्ष थापाको नाम होल्डका लागि अनुरोध गर्नुअघि पटक-पटक सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका थिए। स्रोतका अनुसार थापा सभामुख अर्याल निकट हुन्। समितिका अरु सदस्यहरुले जापानको स्थायी बसोबास अनुमति (पीआर) भएको उजुरी समितिसमक्ष आएको भन्दै अस्वीकृत नै गर्नुपर्ने धारणा राखेका थिए।
स्रोतका अनुसार सभामुख अर्यालले सभापति वोधनारायण श्रेष्ठलाई कागजात बुझेर मात्र निर्णय गर्न सुझाएको स्रोत बताउँछ।
थापाले भने सुनुवाइका क्रममा आफूले पीआर त्यागेको दाबी गरेका छन्। सत्ता र प्रतिपक्षी दलका सांसदहरुले स्वार्थ बाझिने भन्दै थापाको नाम अस्वीकृत गर्नुपर्ने बताएका थिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए।
‘पीआर एउटा कुरा हो। स्वार्थको द्वन्द्वको कुरा हो। उहाँको म्याडम अहिले पनि पीआर होल्डर नै हुनुहुन्छ। उहाँको नाममा त्यहाँ सम्पत्ति पनि छ। यो सबै हेर्दा एम्बेस्डर हुन अनुपयुक्त भनेका छैनौं तर जापानका लागि स्वार्थ बाझिन्छ। भोलि निर्णय गर्दा स्वार्थ बाझिन्छ। मिल्छ भने उहाँले आफैंले फिर्ता लिए राम्रो, हामीले त्यसका लागि रिक्वस्ट गरेको पनि हो। हामीले २ जनालाई रिजेक्ट गरि पनि सक्यौं। बरु उहाँलाइ पनि हामी रिजेक्ट गरौं,’ उनले भने।
रास्वपाका सांसद मधु चौलागाईंले ‘३०/३५ वर्ष देशको माया मारेको मान्छेले फेरि नेपालको पक्षमा काम गर्नु हुन्छ भन्ने के आधार छ भन्दै’ अस्वीकृत गर्नुपर्ने धारणा राखे।
सुनुवाइ समितिमा बहुमतमा रहेको रास्वपाले थापाको नाम अस्वीकृत गर्न नमान्दा मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको हकमा भने सांसद राजिव खत्रीले समितिमा गरेको प्रश्नको आधारमा समितिले अस्वीकृत गरेको छ।
खत्रीले उनलाई अनियमितता गरेको आरोप लगाएका थिए। ‘कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राख्ने गरिएको भनेर प्रमाणसहितका उजुरी हामीलाई प्राप्त भएका छन् । मलाई व्यक्तिगत रूपमा पनि आएका छन्। त्यति मात्रै होइन, केही म्यानपावरसँग राजदूत भएर काम गर्छु भनेर केही रकम लिएको, तिनैले उपलब्ध गराएको गाडी चढ्ने गरेको भनेर गाडी नम्बरसहित हामीलाई उपलब्ध भएका छन्,’ उनको आरोप थियो।
रास्वपाकै सांसद बोधनारायण श्रेष्ठ सभापति रहेको संसद्को सुनुवाइ समितिले महिला हिंसाको आरोप लागेका साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत गरेको छ भने बाँकी १० जनाको नाम स्वीकृत गरेको छ।
अनुमोदित हुनेमा भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, ओमानका लागि डा. पद्माक्षी राणा र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झा छन्।










