अनलाइन सपिङका मूल्यले सटरका पसलमाथि दबाब, ग्राहक घटे कि फेरियो व्यापारको शैली?

सरला सुवेदी
२०८३ कात्तिक १० गते ०६:०१ | Oct 27, 2026
अनलाइन सपिङका मूल्यले सटरका पसलमाथि दबाब, ग्राहक घटे कि फेरियो व्यापारको शैली?


काठमाडौं। कोभिड-१९ महामारीका बेला घरबाहिर निस्कन कठिन भएपछि उपभोक्ताले अनलाइनबाट सामान किन्ने विकल्प रोज्न थाले। लकडाउनका क्रममा बढेको यो अभ्यास पछिल्ला वर्षमा किनमेलको अर्को माध्यम बनेको छ। सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा सामान हेर्ने, मूल्य तुलना गर्ने र घरमै मगाउने सुविधा बढेसँगै परम्परागत रूपमा सटर खोलेर व्यापार गर्दै आएका व्यवसायीमाथि प्रतिस्पर्धाको दबाब थपिएको छ।

GBIME
Tata

अनलाइन व्यापारले ग्राहकलाई सुविधा दिएको छ। तर, यसको विस्तारसँगै पसल र अनलाइनका मूल्य तुलना गर्ने, त्यही मूल्यमा सामान माग्ने र सामाजिक सञ्जालमा सक्रिय व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको व्यापारीहरू बताउँछन्। विशेषगरी लत्ताकपडाको खुद्रा व्यापारमा मूल्यको प्रतिस्पर्धा, सामानको गुणस्तर र ग्राहकको विश्वास मुख्य चुनौती बनेका छन्।

ललितपुरको लगनखेलस्थित न्यु पोइन्ट फेसनका सञ्चालक धीरेन्द्र रिजाल अनलाइन सपिङका कारण खुद्रा बजारमा कपडाको मूल्यलाई लिएर प्रतिस्पर्धा बढेको बताउँछन्। उनका अनुसार ग्राहकले अनलाइनमा देखेको मूल्यलाई आधार बनाएर पसलमा पनि त्यही मूल्यमा सामान खोज्न थालेका छन्।

‘प्राइस वार छ, कस्टमर अनलाइनमा हेरेर आएर त्यही दाममा किन्न खोज्छन्,’ रिजाल भन्छन्, ‘पसलमा सपिङ गर्नेहरू घटे भनिहाल्न हतार हुन्छ। नियमित किनमेल पसलमै पुगेर गर्ने, सामान छामेर–हेरेर र मोलमोलाइ गरेर सपिङ गर्ने बानी भएका ग्राहक अनलाइनमा हेर्छन्, पसलमा आएर सपिङ गर्छन्।’

उनका अनुसार कतिपय ग्राहकले अनलाइनमा सस्तो देखिएको सामान पसलमा आएर त्यही मूल्यमा माग्छन्। तर, अनलाइनमा देखाइएको मूल्य र वास्तविक सामानको गुणस्तर तथा रङमा फरक पर्न सक्ने भएकाले उपभोक्ताले मूल्यसँगै सामानको गुणस्तर पनि तुलना गर्नुपर्ने अवस्था छ। कतिपय प्लेटफर्ममा ठगीका घटना सार्वजनिक भइरहेकाले ग्राहकको विश्वास जित्नु अनलाइन व्यवसायका लागि पनि चुनौती बनेको उनको बुझाइ छ।

अनलाइन व्यापारका कारण पसलको कारोबार कति प्रतिशत घट्यो भन्ने यकिन तथ्यांक नभए पनि अघिल्ला वर्षको तुलनामा व्यापार कमजोर भएको रिजाल बताउँछन्। अनलाइनमा देखाइएको मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्दा पसलमा सामानको मूल्य घटाउनुपर्ने दबाबसमेत पर्ने गरेको उनको भनाइ छ।

इन्द्रचोकस्थित सुवेसा कलेक्सनकी सञ्चालक संगिता भट्टराई पनि अनलाइन व्यापारले परम्परागत पसलको कारोबारमा असर पारेको बताउँछिन्। अनलाइन प्लेटफर्मका आफूखुसीका कारण ग्राहकलाई वास्तविक मूल्य र गुणस्तरबारे बुझाउन कठिन भएको उनको अनुभव छ। ‘अनलाइनमा देखाएको फोटो र मूल्य देखाएर ग्राहक त्यहीअनुसार सामान माग्छन्। तर, हामीले आयात गरेर ल्याएको सामानको लागतले रेट नै फरक हुन्छ,’ उनी भन्छिन्।

भट्टराईका अनुसार आयातका क्रममा सामान ल्याउन कठिनाइ भइरहेको छ। दसैंतिहारका लागि पनि अपेक्षाअनुसार सामान ल्याउन नसकिएको उनको भनाइ छ। कपडाको मूल्यमा ठूलो परिवर्तन नभए पनि ग्राहकको चहलपहल र कारोबार घटेको उनी बताउँछिन्। पछिल्ला दुई वर्षदेखि व्यापार कमजोर हुँदा ऋण तिर्नसमेत समस्या भएको उनको गुनासो छ। बजारमा महँगी बढे पनि व्यापार नबढ्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको उनी बताउँछिन्।

सुनैना इम्पेक्सका सञ्चालक सन्तोष साह पनि अनलाइनमा सस्तो मूल्य राखेर ग्राहक आकर्षित गर्ने प्रवृत्तिले पसलमा सामान बिक्री गर्न समस्या भएको बताउँछन्। उनका अनुसार सामाजिक सञ्जालमा भाइरल हुन सस्तो मूल्य र आकर्षक फोटो प्रयोग गरिन्छ। तर, त्यसमा देखाइएको सामान र ग्राहकले पाउने वास्तविक सामानमा फरक हुन सक्ने भएकाले झुक्किने जोखिम रहन्छ।

‘भारतमा एक हजार भारु पर्ने सामानको फोटो राखेर नेपाली सामानजस्तै गरी प्रचार गरिन्छ। ग्राहकले सस्तो मूल्यमा पाइने विश्वास गर्दा ठगिने जोखिम हुन्छ,’ साह भन्छन्। उनका अनुसार अनलाइनमा देखाइएको मूल्यअनुसार सामान दिन नसक्दा पसलमा ग्राहकसँग मोलमोलाइ बढेको छ। घट्दो कारोबारका कारण गुणस्तरीय र महँगा कपडा बिक्री गर्न पनि कठिन भएको उनी बताउँछन्।

राधिका कलेक्सनकी सञ्चालक जीना सूचीकारका अनुसार ग्राहकले अनलाइनमा देखेको फोटो देखाउँदै त्यस्तै सामान खोज्ने गरेका छन्। तर, फोटोमा देखाइएको सामान र पसलमा उपलब्ध कपडाको मूल्य तथा गुणस्तर फरक हुन सक्ने भएकाले ग्राहकलाई बुझाउन गाह्रो पर्ने गरेको छ। कतिपय अवस्थामा ग्राहकको अपेक्षाअनुसार सामान उपलब्ध गराउन नसकिने उनी बताउँछिन्।

न्युरोडका व्यवसायी ब्रिज साह अनलाइन व्यापारले कम पुँजी भएका व्यवसायीलाई बजारमा प्रवेश गर्न सहज बनाए पनि मध्यमस्तरका परम्परागत व्यापारीलाई बढी दबाब परेको बताउँछन्। सामाजिक सञ्जालमा सक्रिय व्यवसायीले पसलबाटै अनलाइनमार्फत सामान बेच्न सक्ने भएकाले व्यापारको स्वरूप बदलिएको उनको भनाइ छ।

उनका अनुसार अहिले बजारमा भाइरल भएका र सस्ता सामान छिटो बिक्री हुने प्रवृत्ति छ। तर, गुणस्तरीय सामान आयात गरेर बिक्री गर्ने र सामाजिक सञ्जालमा सक्रिय हुन नसक्ने व्यवसायीले ग्राहक आकर्षित गर्न कठिनाइ भोगिरहेका छन्। अनलाइनमा सक्रिय व्यवसायीले पसल र डिजिटल माध्यम दुवैबाट व्यापार गर्न सक्ने भए पनि परम्परागत शैलीमा मात्रै निर्भर व्यापारीको कारोबार वर्षैपिच्छे घट्दै गएको उनको अनुभव छ।

व्यवसायी केदार शर्माका अनुसार अनलाइन व्यापार विस्तारसँगै एउटै व्यक्तिले विभिन्न ठाउँमा सटर लिएर पसल सञ्चालन गर्ने पुरानो अभ्याससमेत बदलिँदै गएको छ। पहिले धेरै ठाउँमा पसल खोल्ने व्यापारी अहिले एउटा पसलबाटै अनलाइनमार्फत सामान बेच्न थालेका छन्। खुद्रा पसलमा मात्र निर्भर रहन कठिन भएपछि होलसेल व्यवसायीले समेत अनलाइनबाट कपडा बिक्री गर्न थालेको उनी बताउँछन्।

अनलाइन सपिङले ग्राहकको समय बचत गर्ने र व्यवसायीलाई महँगो सटर भाडामा लिएर धेरै ठाउँमा पसल खोल्नुपर्ने बाध्यता घटाउने अवसर दिएको छ। तर, अनलाइनमा देखाइएको मूल्य, सामानको वास्तविक गुणस्तर र डेलिभरीप्रतिको विश्वसनीयता कायम गर्न नसक्दा यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा र उपभोक्ता ठगीको जोखिम पनि बढाएको व्यवसायीहरूको अनुभव छ।

अनलाइन व्यापारले परम्परागत पसलको कारोबारमा कति असर पारेको छ भन्ने यकिन तथ्यांक उपलब्ध नभए पनि व्यवसायीका अनुभवले बजारमा प्रतिस्पर्धाको स्वरूप बदलिँदै गएको देखाएको छ। अब सटरमा सामान राखेर ग्राहक कुरेर बस्नु मात्रै पर्याप्त नहुने अवस्था बनेको व्यवसायी बताउँछन्। मूल्य, गुणस्तर र ग्राहकको विश्वाससँगै डिजिटल माध्यममा पहुँच पनि खुद्रा व्यापारको प्रतिस्पर्धात्मक क्षमतासँग जोडिन थालेको छ।