काठमाडौं। भारतको दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगोको विमानमा पावर बैंकमा आगो लागेपछि उडानलाई हैदराबादतर्फ डाइभर्ट गरिएको छ।
आइतबार भएको घटनामा विमानको ओभरहेड लगेज कम्पार्टमेन्टमा राखिएको पावर बैंकबाट धुवाँ निस्किएपछि यात्रुमा त्रास फैलिएको थियो।
इन्डिगोको उडान नम्बर ६ई ६११५ का चालक दलका सदस्यले अग्निनियन्त्रक उपकरण प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए। विमान हैदराबादमा सुरक्षित अवतरण गरिएको र यात्रालाई चेन्नईसम्म पुर्याउन अर्को विमानको व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ।
घटनापछि विमानभित्र पावर बैंक राख्ने र प्रयोग गर्ने नियमबारे फेरि प्रश्न उठेको छ। इन्डिगोको नीतिअनुसार पावर बैंक र अतिरिक्त लिथियम ब्याट्री सिट पकेटमा मात्र राख्न पाइन्छ र यात्रुले सहजै भेट्ने स्थानमा हुनुपर्छ।
एयरलाइन्सले पावर बैंकलाई ओभरहेड लगेज कम्पार्टमेन्ट वा विमानको कार्गो सामानमा राख्न निषेध गरेको छ। ब्याट्रीको क्षमता १०० वाट आवरसम्म भए विमानस्थलको सुरक्षा जाँचको अधीनमा बढीमा दुईवटा अतिरिक्त लिथियम आयन ब्याट्री वा पावर बैंक लैजान अनुमति दिन सकिने नीति छ।
१०० वाट आवरभन्दा बढी र १६० वाट आवरसम्मका ब्याट्री भने पोर्टेबल मेडिकल डिभाइसका लागि मात्र अनुमति दिइने इन्डिगोको नीतिमा उल्लेख छ। यस्ता ब्याट्री लैजान चेक-इन काउन्टरमा एयरलाइन्सको स्वीकृति आवश्यक पर्छ।
पावर बैंकको टर्मिनल सर्ट सर्किट हुन नदिन त्यसलाई मूल प्याकेजिङ वा छुट्टै प्लास्टिक झोलामा राख्न र टर्मिनललाई टेपले सुरक्षित गर्नुपर्ने व्यवस्था छ। उडानका क्रममा पावर बैंक चार्ज गर्न वा त्यसबाट अर्को उपकरण चार्ज गर्न पनि निषेध गरिएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सन् २०२५ नोभेम्बरमा जारी गरेको सुरक्षा निर्देशनले पनि पावर बैंकलाई ओभरहेड लगेज कम्पार्टमेन्टमा राख्न र उडानका क्रममा त्यसबाट उपकरण चार्ज गर्न निषेध गरेको थियो। ब्याट्री अत्यधिक तातेर आगो लाग्न सक्ने जोखिमका कारण उक्त नीति अपनाइएको हो।
यसअघि सन् २०२६ मार्च ५ मा चण्डीगढमा अवतरण गरेको इन्डिगोको अर्को विमानमा यात्रुको पावर बैंकमा आगो लागेपछि यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उक्त घटनामा सिट पकेटमा राखिएको पावर बैंकको आगो नियन्त्रण गर्न दुईवटा अग्निनियन्त्रक उपकरण प्रयोग गरिएको डीजीसीएले जनाएको थियो।
फेडेरेसन अफ एभिएसन इन्डस्ट्री इन इन्डियाकी उड्डयन कार्गो अध्यक्ष वन्दना सिंहले पावर बैंकमा पूर्ण प्रतिबन्ध लगाउनुको सट्टा विद्यमान सुरक्षा नियम कडाइका साथ लागू गर्नुपर्ने बताएकी थिइन्। उनले ब्याट्रीको क्षमता सीमित गर्ने, यात्रुलाई सुरक्षित भण्डारणबारे जानकारी दिने र चालक दललाई यस्ता घटनामा तत्काल प्रतिक्रिया दिन तालिम दिनुपर्नेमा जोड दिएकी थिइन्।









