
विश्व उड्डयन उद्योगमा आबद्ध ३३ प्रतिशत पाइलट अझै पनि ग्राउण्डेड रहेको पाइएको छ। गुज रिक्रुटमेन्ट र फ्लाइट ग्लोबलले गरेको सर्वेक्षणका अनुसार कोभिड-१९ का कारण दुई वर्षयता विश्वभरका हवाई सेवामा आबद्धमध्ये ३३ प्रतिशत पाइलट अझै कामविहीन अवस्थामा पुगेका छन्।
एजेन्सीले तयार पारेको विवरण अनुसार ४० प्रतिशत पाइलटले भविष्य सुनिश्चित नरहेको बताएका छन्।
सर्वेक्षणममार्फत विश्वभरका १७ सय पाइलटसँग गरिएको प्रश्नोत्तरको आधारमा यो तथ्यांकको सार्वजनिक गरिएको हो।
'जताततै रोजगार असुरक्षा फैलिएको अवस्था छ। अवस्था अझै पनि निराशाजनक छ,' फ्लाइट ग्लोबलले तयार गरेको विवरणमा उल्लेख गरिएको छ, '६२ प्रतिशत पाइलटले उडान गर्दै आएका छन्। एक वर्ष अगाडिसम्म ४३ प्रतिशत पाइलट रोजगारमा फर्किएका थिए। २० प्रतिशत पाइलटले रोजगारी गुमाइसकेका छन् भने ६ प्रतिशत पाइलट बेतलबी बिदामा छन्।'
एसिया प्रशान्त क्षेत्रमा मात्र २५ प्रतिशतले यो पेसाबाट रोजगारी गुमाइसकेका छन् भने ५३ प्रतिशत पाइलटले उडान सेवा दिँदै आएका छन्। हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकले आफ्नो विङ्स अन्तर्गत संचालित क्याथे ड्रागन बन्द गरेसँगै सयौं पाइलटले रोजगारी गुमाएको जनाइएको छ।
यो क्षेत्रमा रहेका ५५ प्रतिशत पाइलटले नयाँ पुस्तालाई यो पेसामा आउन निरुत्साहित गर्न थालेको जनाइएको छ।
यो अवस्थाका कारण आउँदो वर्ष १२ हजार पाइलटको खाँचो रहन सक्ने जनाइएको छ। यही समस्यालाई मध्यनजर गर्दै युनाइटेड एयरलाइन्सले पाइलट तालिम थालिसकेको छ।