काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाले मर्मत सम्भार पछि बिहीबारबाट पुन: बिजुली उत्पादन गर्न थालेको छ।
आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले विद्युत गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मत सम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको बताए।
‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत सम्भार गरी ११ दिनमा एउटा युनिटबाट विद्युत उत्पादन सुरु गरेका छौं। अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ केसीले भने।
राहुघाट जलविद्युत आयोजनामा २०/२० मेगावाट क्षमताका दुईवटा युनिट छन्। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।
बाढीबाट विद्युत गृह डुबानमा पर्नुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो।








