जग्गाको कित्ताकाट सरकारले दसैंअघि खुलाउने, सचिवले भने- हदबन्दीको समस्या पनि समाधान गर्दैछौं

बिजमाण्डू
२०८३ असोज २२ गते १६:१० | Oct 8, 2026
जग्गाको कित्ताकाट सरकारले दसैंअघि खुलाउने, सचिवले भने- हदबन्दीको समस्या पनि समाधान गर्दैछौं


काठमाडौं। सरकारले जग्गा कित्ताकाट दसैं अघि खुलाउने बताएको छ। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले सरकारले जग्गाको हदबन्दीको समस्या समाधान गर्ने र दसैंअघि कित्ताकाट खुलाउने बताएका छन्।

GBIME
Tata

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासंघले सञ्चालन गरेको १५ दिने तालिम समापनका क्रममा सचिव भुजेलले ल्यान्ड पुलिङको माग अध्यादेशबाट सम्बोधन गर्न लागेको बताए।

‘अहिलेसम्म ४२१ स्थानीय तहमा कित्ताकाटमा समस्या छैन। जग्गा वर्गीकरण गर्न बाँकी स्थानीय तहका हकमा पनि दसैंअघि कित्ताकाट खुल्छ,’ उनले भने, ‘ल्यान्ड पुलिङको माग अध्यादेशबाट सम्बोधन हुँदैछ। हदबन्दीका कारण देखिएको समस्या पनि सरकारले समाधान गर्छ।’

मन्त्रिपरिषद्‍ले बुधबार भूमि सम्बन्धी ऐनलाई संशोधन गर्नेसहित विभिन्न तीन वटा अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। जग्गा वर्गीकरण गर्न बाँकी रहेका स्थानीय तहमा साउनदेखि कित्ताकाट रोकिएको छ। यस्तै हदबन्दीका कारण घरजग्गा व्यवसायीको खर्बभन्दा बढीको सम्पत्ति वर्षौंदेखि बन्धक बनेको छ।

कार्यक्रममा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले हदबन्दी हटाउन र कित्ताकाट खुलाउन माग गरेका थिए।