काठमाडौं। राति र बिहानको समयमा काठमाडौं उपत्यकामा लुटपाट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न सिन्धुलीको मरिन गाउँपालिका घर भएका २६ वर्षीय आयन माझीको समूहका सदस्यलाई बिहीबार बिहान पक्राउ गरेको हो।
माझीको समूहले उपत्यकामा ८/९ महिनादेखि रातको समयमा २/३ वटा मोटरसाइकलमा ३/३ जना चढेर सडकमा हिँडिरहेका सर्वसाधारणलाई नियन्त्रणमा लिएर गरगहना तथा नगद लुटपाट गर्दै आएको थियो।
प्रहरीले माझीको नेतृत्वका १० जनालाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। यो समूहका सदस्यले पोहोर भदौ २४ गते जेनजी आन्दोलनको समयमा उपत्यकाका विभिन्न स्थानका विभिन्न बैंकका एटीएम बुथ लुटपाट गरेको पनि खुलेको छ।
माझी लुटपाटका घटनामा पटक पटक सजाय पाइसकेका व्यक्ति भएको खुलेको छ। उनी २०७७ मा लुटपाट मुद्दामा ३ महिना कैद बसेका थिए। अदालतले पुनः ६ महिना कैद तोकेपछि उनी फरार भएकामा २०८२ वैशाखमा पुन: ३ महिना कारगार बसी कैदमुक्त भएका थिए।
माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीका २७ वटा मुद्दामा प्रतिवादी रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए।
थापाका अनुसार उपत्यकामा विभिन्न स्थानमा विभिन्न मितिमा भएका सिक्री लुटपाटका घटनामा माझी समूह संलग्न रहेको खुलेको छ।
माझी समूहका सदस्य स्वयम्भू, बौद्धलगायत विभिन्न स्थानमा भएका सिक्री लुटपाटमा प्रत्यक्ष संलग्न देखिएको एसपी थापाले बताए।
‘बिहान अँध्यारोको समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सिक्री लुटपाट गरी मोटरसाइकलमा फरार हुने र फरार हुने क्रममा तीन वटाभन्दा बढी सवारी साधन परिवर्तन गर्दै आएको देखिएको छ,’ थापाले भने, ‘एक्लै मर्निङ वाक गर्ने वा तरकारी किन्न जाने महिला तथा पुरुषलाई कोही नभएको ठाउँमा लुटपाट गरेको पनि खुलेको छ।’
पछिल्लो समय असोज १३ गते राति डल्लुमा कारमा बसिरहेका रमेश खड्गीको साढे ३ तोलाको सिक्री लुटेिएको थियो। अल्फाबेट नखुलेको ५७६३ नम्बरको मोटरसाइलमा सवार तीन जना पुरुष कार भित्रैबाट घाँटीमा लगाएको सिक्री लुटपाट गरी डल्लुको झोलुङ्गे पुलतर्फ भागेका थिए।








