‘एनपीएलका केही फ्रेन्चाइज गत वर्ष नै ब्रेक इभनमा पुगिसकेका छन्, भ्यालु क्रियट भएको छ’

बिजमाण्डू
२०८३ असोज २३ गते ०८:५९ | Oct 9, 2026
‘एनपीएलका केही फ्रेन्चाइज गत वर्ष नै ब्रेक इभनमा पुगिसकेका छन्, भ्यालु क्रियट भएको छ’


नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु उत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन अब धेरै दिन बाँकी छैन। दसैंको रौनक सकिन नपाउँदै क्रिकेटको अर्को ठूलो उत्सव सुरु हुँदैछ। एनपीएललाई ‘फेस्टिभल अफ हिमालयज’ भनेर चिनाउने हो भने यसपटक नेपालीको चाडपर्वको सूचीमा दसैं, एनपीएल र तिहार थपिँदैछन्।

GBIME
Tata

दुई संस्करणमै एनपीएलले क्रिकेट मैदानको सीमाभन्दा बाहिर आफ्नो प्रभाव विस्तार गरिसकेको छ। मैदानमा खेलाडीको प्रतिस्पर्धा देखिन्छ, तर त्यसको पछाडि टिम मालिकको लगानी, प्रायोजकको प्रतिस्पर्धा, प्रसारण अधिकारको कारोबार, टिकट बिक्रीले अर्थतन्त्रलाई समेत प्रभाव पार्ने देखिएको छ। एनपीएललाई कर्पोरेटसँग जोडेर ठूलो बनाउने जस पारस खड्कालाई जान्छ। उनको सक्रियताकै कारण ठूला व्यवसायिक घराना एनपीएलमा जोडिए। सँगै कर्पोरेटले ठूलो धनराशी खन्याउन तयार भए। नेपाली टीमको कप्तानहुँदै नेपाल क्रिकेट संघ(क्यान)का सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक खड्कालाई बिजमाण्डूका मुकुन्द घिमिरेले सोधे – तपाइँहरुलाई अहिले नेपाल प्रिमियर लिग आयोजनाका लागि तयारीको निकै चटारो होला। के भइरहेको छ?

हजुर, धेरै दिन बाँकी छैन। सबैको अपेक्षा बढ्दो क्रममा छ। तेस्रो संस्करणसम्म आइपुग्दा जुन माया र सद्भाव छ, त्यो क्रिकेटप्रतिको मात्र होइन, एक किसिमको राष्ट्रिय भावना (नेसनल सेन्टिमेन्ट) पनि हो भन्ने मलाई लाग्छ। नेपाल प्रिमियर लिग भन्ने शब्द जोडिँदा अन्तर्राष्ट्रिय समुदायमा परेको प्रभाव, अन्तर्राष्ट्रिय स्तरका ठूला खेलाडी, कर्पोरेट क्षेत्रको लगानी, क्रिकेट संघको आफ्नै भिजन, नेपाली क्रिकेट फ्यानको उपस्थिति, यी सबै कुरा जोडेर हेर्दा हामी निकै उत्साहित छौँ। तर साथसाथै, फ्यानहरूका लागि हामीले हरेक वर्ष संस्करणलाई अझ राम्रो बनाउनुपर्छ। क्रिकेटमा जहिले पनि ‘अब के नयाँ?’ भन्ने अपेक्षा हुन्छ। त्यसैले यो संस्करणलाई अघिल्लो संस्करणभन्दा अझ राम्रो बनाउन सकौँ भन्ने आशा छ। हामी तयारीको अन्तिम चरणमै छौँ। तेस्रो सिजनको पर्खाइमा छौँ।

पहिलो संस्करणलाई सम्झँदा हामीलाई शिखर धवन र ब्रायन लाराजस्ता नाम याद आउँछन्। दोस्रो सिजनमा फ्लडलाइट, रातिको खेल र थप ठूला नामहरू सम्झन्छौँ। तेस्रो संस्करणमा त हामीले अहिलेसम्म डेभिड वार्नरदेखि पूर्व कप्तानहरू, शाकिब अल हसन र मोइन अलीजस्ता खेलाडीका नाम एकपछि अर्को सुनिसकेका छौँ। यसपाला खेलाडीबाहेक ‘पोइन्ट अफ अट्रयाक्सन’ के होला?

राम्रा खेलाडीहरू आउनुभएको छ, अझै राम्रा खेलाडीहरूको घोषणा हुन बाँकी नै छ। दुईवटा संस्करण राम्ररी सकिए पछि अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान पनि यसमा गएको छ। पहिलो संस्करणपछि आईसीसी कन्फ्रेन्समा एनपीएलको पहिलो सिजनबारे प्रस्तुति गर्ने प्रस्ताव आयो, जुन हामीले राम्ररी प्रस्तुत गर्न सक्यौँ। हालसालै स्कटल्यान्डमा भएको आईसीसी कन्फ्रेन्समा हामी जाँदा पनि एनपीएलबारे कुरा भइरहेको थियो। एनपीएल कहिले हुँदै छ, के हुँदै छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायको ठूलो चासो छ।

देशभित्र त हामीले सुरुदेखि नै यसलाई ‘फेस्टिभल अफ हिमालयज’ नाम दिएका छौँ। यसपटक दसैं र तिहारको बीचमा पर्‍यो। धेरैले ‘किन यही समयमा?’ भनेर सोध्नुभयो। हामी घर गइरहेका हुन्छौँ, विभिन्न कारणले अलि असहज हुने हो कि भन्ने चिन्ता उहाँहरूको थियो। तर ग्लोबल क्रिकेट क्यालेन्डर, अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर र नेपाली राष्ट्रिय टोलीको व्यस्तता जोडेर हेर्दा यही नै सबैभन्दा उपयुक्त समय थियो।

नयाँ कुरा भन्नुपर्दा, राम्रा खेलाडीहरू नै सबैभन्दा ठूलो आकर्षण हुनेछन्। त्यसैसँग एउटा राम्रो क्रिकेट ब्रान्ड पनि बनेको छ, जसले हाम्रा युवा खेलाडीलाई उत्कृष्ट क्रिकेटरहरूसँग बस्न र सिक्न पाउने एक्सपोजर दिन्छ। भर्खरै हाम्रो टीभी र ओटीटी अधिकार पनि रेकर्ड मूल्यमा हिमालय स्पोर्ट्स र नेट टिभीले लिनुभएको छ। लगभग सबै ठूला ब्रान्ड एनपीएल टिमसँग, क्रिकेट एसोसिएसन अफ नेपालसँग जोडिनुभएको छ।

टिम सञ्चालन गर्ने इन्फ्लुएन्सरदेखि एम्बासडरसम्म, नेपाली स्पोर्ट्स मिडिया, कर्पोरेट मिडिया, युट्युब, फेसबुकलगायत सोसल मिडिया ब्रान्डिङ सबैको एउटा इकोसिस्टम र उद्योग बनेको छ। उत्साहको कुरा के भने, धेरै उत्कृष्ट खेलाडी आउँदै छन्। तर अर्कोतिर, बढ्दो अपेक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौतीमा पनि हामी छौँ। अझै ठूला खेलाडी आउन बाँकी नै छन्, टेस्ट खेल्ने टोलीका खेलाडीहरूबारे हामीले सुनिरहेका छौँ, हेरिरहेका छौँ।

एनपीएलका दुईवटा संस्करण सकियो। तर, अहिले पनि ‘आईसीसीले खुला गर्‍यो भने भने…’ भनेर विदेशी खेलाडी भित्र्याउन कुरा सुरु हुन्छ। आईसीसीलाई समस्या के हो? हामीले कन्भिन्स गर्न नसकेको हो कि धेरै अघिदेखिकै कारणले स्थिति बिग्रिसकेको थियो? सबै कुरामा सकारात्मक प्रतिक्रिया दिने तर अन्तिममा सस्पेन्सन नहटाउने किन?

सबैभन्दा पहिले, यो सस्पेन्सन के हो भन्ने बुझ्नुपर्छ। एक वर्षमा ५२ हप्ता हुन्छन्। अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर हेर्‍यो भने १२ टेस्ट खेल्ने राष्ट्र छन्, आठवटा ओडीआई राष्ट्र (हामी त्यसभित्र छौँ), र बाँकी लगभग १०८ एसोसिएट राष्ट्र छन्। यसबीचमा फ्रेन्चाइज क्रिकेट गत १० वर्षमा च्याउसरी उम्रिएको छ।

लगभग हरेक देशले कुनै न कुनै फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिरहेको छ। फ्रेन्चाइज क्रिकेटका दुई उद्देश्य हुन्छन् – एउटा, आर्थिक रूपमा यो निकै लाभदायक हुन्छ। अर्को, आर्थिक पारदर्शिता कायम गर्ने संयन्त्र पनि हो। विगतका १० वर्षमा धेरै लिग भइसकेकाले आईसीसीले प्रतियोगिताको मूल्यांकन र मापदण्ड तय गर्दै सबै लिगलाई सस्पेन्सनका दायराभित्र ल्याउँदा अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा ठूलो बहस भइरहेको छ।

यसमा खेलाडीहरूको पक्ष पनि छ। धेरै युवा खेलाडीले उमेर छँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएर फ्रेन्चाइज क्रिकेट खेल्न जान्छन्, किनभने फ्रेन्चाइज क्रिकेटमा पैसा छ। फ्रेन्चाइज क्रिकेटलाई प्राथमिकता दिँदा देशको क्रिकेट त्यो स्तरको प्राथमिकतामा नपर्ने हो कि भन्ने चिन्ता छ। फुटबलको कुरा गर्ने हो भने क्लब फुटबल निकै ठूलो छ, तर फिफा विश्वकप वा युरो कप हुँदा सबै कुरा बदलिन्छ। क्लबसँग सम्झौता हुन्छ, ट्रान्सफरका निश्चित नियम छन्।

अहिलेको लागि हाम्रो आईसीसीसँगको सम्बन्ध निकै सकारात्मक छ। हामीलाई हाम्रो क्रिकेट ठूलो लाग्नु स्वाभाविक हो, तर विश्व क्रिकेट धेरै ठूलो छ, त्यहाँ हामी भर्खर बामे सर्दैछौँ। तैपनि हामीले एउटा मान्यता पाएका छौँ: नेपालमा पनि क्रिकेट राम्रै खेल्दा रहेछन्, नेपालको क्रिकेट फ्यान बेस गजबको रहेछ। चाहे २०२४ को अमेरिकामा भएको विश्वकप होस्, भर्खरको एसियन गेम्स होस्, नेपालमा दर्शकको उपस्थिति होस्, वा मुम्बईको मरिन ड्राइभको भीड, विश्वकपको बेलाको फ्यान फलोइङ, यी सबै हेर्दा उनीहरूले नेपाल क्रिकेटलाई प्राथमिकता दिएका छन्। आईसीसीका सीईओलगायत सबैले अन्तर्वार्ता र विज्ञप्तिमा नेपाल क्रिकेट महत्त्वपूर्ण छ भनेका छन्।

विगतमा के भयो भनेर कोट्याएर बस्ने हो भने हामी कुनै निष्कर्षमा पुग्न पनि सक्दैनौँ। हामीले आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी र पूरा गर्नुपर्ने प्रक्रिया (टिक द बक्स) सबैमा ग्रिन फ्ल्याग पाइसकेका छौँ। अहिले हामी आईसीसीको प्राथमिकतामा छौँ, उहाँहरूको साथ र सहयोग छ। अर्को वर्ष अन्डर-१९ महिला विश्वकप पनि छ। एक साता अघि आईसीसीको टोली आएर निकै सकारात्मक फीडब्याक दिएर गएको छ।

एनपीएलको सस्पेन्सनबारे आईसीसीको प्रोभिजनल रेगुलेटरी मेकानिजमको प्रक्रिया लगभग अन्तिम चरणमा छ। त्यसपछि हामीले गुनासो गर्नु नपर्ला, तर जिम्मेवारी उत्तिकै बढ्दै जान्छ। किनकि आईसीसी सस्पेन्सन भन्नेबित्तिकै त्यसका आफ्नै मापदण्ड हुन्छन्, आईसीसी रेगुलेसन र अन्तर्राष्ट्रिय कानुनी अभ्यासमा हामी जानुपर्ने हुन्छ। कुनै पनि देशको लिगमा गलत काम भएमा अन्तर्राष्ट्रिय कानुनअनुसार कस्तो प्रक्रिया अघि बढाउने भन्ने सबै सन्तोषजनक प्रक्रिया हामीले पूरा गरेका छौँ। नेपाल क्रिकेटलाई सबैको साथ छ, त्यसैले यही वर्ष सस्पेन्सन हट्छ भन्ने मेरो आशा र विश्वास छ। हाम्रो तर्फबाट गर्न बाँकी केही छ जस्तो मलाई लाग्दैन।

ठूलो बजेटमा यहाँ ल्याएर यसको ब्रान्ड भ्यालु माथि लैजान हामी अहिले कुन चरणमा छौँ र कहाँसम्म पुग्न सक्छौँ? योजना के छ?

योजना सिधै रेगुलेसन र कानुनसँग जोडिन्छ। एमएनसीहरू नेपालमा छन्, केही क्रिकेटमा क्यान र एनपीएल टिमहरूसँग जोडिनुभएको पनि छ, तर ठूलो लगानी कसरी आउँछ भन्ने प्रश्न छ।

एनपीएलको पहिलो संस्करण सन् २०२४ को जुलाईमा नेपालले विश्वकप खेलिसकेपछि अगस्ट, सेप्टेम्बर, अक्टोबर, तीन महिनामा हामीले फ्रेन्चाइज टिमदेखि लिगको संरचनासम्म सबै कुरा फाइनल गर्‍यौँ। २०२३ मा हामी यो कार्यसमितिमा आउँदा विश्वकप क्वालिफायर थियो, त्यसपछि पहिलो प्राथमिकता टी-ट्वेन्टी विश्वकप नै थियो। त्यसपछि एनपीएलको पहिलो संस्करणको तयारीदेखि आजसम्मको यात्रालाई आर्थिक रूपमा हेर्ने हो भने, पहिलो सिजनमा हामीले कमर्सियल राइट्सका लागि पाँच करोडको बिडिङ खोलेका थियौँ। त्यो पाँच करोडको मापदण्ड राख्न हामीले करिब दुई-तीन महिना रिभ्यू गरेका थियौँ, किनकि त्यसअघि बजारमा पाँच करोड कहिल्यै उठेको थिएन। कुनै पनि क्रिकेट प्रतियोगितामा टाइटल स्पोन्सरसिप ४०-५० लाखभन्दा बढी थिएन।

धेरै मूल्यांकनपछि, यसलाई ‘लार्जर देन लाइफ’ बनाएर अघि बढाउनुपर्छ भनेर अघि बढ्यौँ। कमर्सियल राइट्स ग्रान्ट गरेपछि सिद्धार्थ बैंकको टाइटल स्पोन्सरसिप ब्रेकथ्रु थियो, किनकि उहाँहरूले पाँच वर्षको सम्झौता गर्दा करोडभन्दा बढीको स्पोन्सरसिप त्यसअघि कहिल्यै भएको थिएन। त्यसका लागि विभिन्न पहल भए। पहिलो संस्करण सकिएपछि मैदानमा देखिएको उपस्थिति, कर्पोरेटमा देखिएको उपस्थिति, टिमहरूमा देखिएको उपस्थिति, र टिम ओनरहरूले एउटै प्रतियोगितामा ६-७ करोडसम्म खर्च गरेर टिम राख्ने संयन्त्र विकास गर्दा, हामीले पहिलो टिम ओनरहरूलाई एउटा टियरको रोडम्याप देखाएका थियौँ। उहाँहरूसँग सम्झौता गर्दा नै बिडिङ प्रक्रियाबाट टिम छानिने व्यवस्था थियो – उहाँहरूले फर्ममा आफूलाई चाहिएको सहर र टिमको नाम लेख्ने, सबैलाई एक ठाउँमा बोलाएर प्रक्रिया अघि बढाउने।

त्यही प्रक्रियाबाट पहिलो संस्करण सकिएपछि दोस्रो संस्करण आउँदासम्म ‘यो प्रतियोगितामा लगानी गर्नुपर्छ’ भन्ने ऊर्जा बनेको थियो, यसले ठूलो ब्यान्डविड्थ क्रिएट गरेको थियो।

दोस्रो संस्करणमा प्यारापिट र फ्लडलाइट आयो, डे-नाइट क्रिकेट आयो। रातिको क्रिकेट हाम्रो पुस्ताका लागि सपना थियो। कमर्सियल्ली हामीले साढे पाँच करोडबाट सुरु गर्दा लगभग १२-१३ करोड हाम्रो गत वर्षको रेभेन्यु थियो। पहिलो सिजनमा टिकट बिक्रीबाट घाँसमै बसेर पनि साढे ३ करोड उठाएका थियौँ। दोस्रो संस्करणमा टिकट बिक्री लगभग ११ करोड भयो। पहिलो संस्करणदेखि नै हाम्रो रेभेन्यु मोडल यस्तो छ, क्रिकेट संघले कमर्सियल्ली जति राजस्व कमाउँछ, त्यसको ५० प्रतिशत हाम्रा आठवटा टिमलाई बाँड्छौँ। पहिलो संस्करणमा लगभग ४०-४२ लाख जति टिमलाई योगदान गरेका थियौँ।

दोस्रो सिजन आउँदासम्म टीभी राइट्सदेखि सबै कुरा जोड्दा लगभग दुई करोड पुग्यो। तेस्रो संस्करणमा आउँदा यसलाई ब्रेकेटवाइज ब्रेकडाउन गर्दा टिमहरूले गत वर्षभन्दा राम्रो पैसा पाउने या कमाउने माध्यम छ। अहिलेसम्म त कमाउनुभन्दा पनि टिमहरूले लगानी गरिरहनुभएको छ, सुरुका पहिलो दुई वर्षमा।

पहिलो संस्करणमा हामीले अटोमोबाइलहरूबीच प्रतिस्पर्धा देखेका थियौँ, बैंकहरूबीच, टेलिकम कम्पनीबीच प्रतिस्पर्धा थियो। तेस्रो संस्करणमा आइपुग्दा एनर्जी ड्रिंक्सबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ। यसलाई कसरी हेरिरहनुभएको छ? यो प्रतिस्पर्धाले क्यान र एनपीएललाई कति फाइदा गरिरहेको छ?

यो प्रतिस्पर्धाभन्दा पनि, नेपाल क्रिकेट कहाँसम्म आइपुग्यो भन्ने देखाउने राम्रो तरिका हो यो। जति प्रतिस्पर्धा मैदानमा छ, कसले जित्ने भनेर, त्यति नै प्रतिस्पर्धा टिमहरूको सोसल मिडिया पेजमा छ, कसले राम्रो कन्टेन्ट बनाउने भनेर। कसले कस्ता विदेशी खेलाडी ल्याउँछ भन्ने प्रतिस्पर्धा आफैँमा छ। कुन टिमसँग कुन ब्रान्ड जोडिएको छ, त्यसको ओनरसिप कस्तो छ, कुन टिमको फ्यान फलोइङ बलियो छ भन्ने प्रतिस्पर्धा पनि छ। दुई फरक टिममा प्रतिस्पर्धी कम्पनीहरूले स्पोन्सरसिप गरिरहनुभएको छ। यो एक किसिमको राइभलरी हो, किनकि लगानी बिना दिगो वृद्धि कुनै पनि कुरामा सम्भव छैन।

लगानी नगरी बिजनेस मोडलमा नतिजा आउनु चमत्कार हो। त्यो चमत्कारबाट नेपाल क्रिकेट गुज्रिरहेको पनि छ, र आजको दिनसम्म आइपुगेर सम्झँदा हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ। क्रिकेट यो स्टेजसम्म आइपुग्न क्रिकेटसँग सम्बन्धित हरेक स्टेकहोल्डरको आफ्नो पुस्ताको बेलाको ठूलो योगदान छ। अहिले आएर यो एउटा बिरुवा रूख बन्ने अवस्थासम्म पुगेको छ, यो सिड प्लान्ट हो, बिरुवा भर्खर ठूलो हुँदै छ।

त्यसो भए फ्रेन्चाइजहरु ब्रेक इभनबाट कति टाढा छन्?

निश्चित फ्रेन्चाइज गत वर्ष पनि लगभग ब्रेक इभनमै पुगेका होलान्। यो तपाईंको मार्केटिङ प्लान र बजेट कस्तो छ भन्नेमा निर्भर गर्छ। अहिले टिमहरूको समग्र संरचना हेर्दा सातवटा टिमको टाइटल स्पोन्सरसिप एक्स्ट्रिमले गर्नुभएको छ, एउटामा रेड बुल हुनुहुन्छ। लिगसँगै सिद्धार्थ बैंक, रेड बुल, ओमाडा जस्ता सबै स्पोन्सरहरू छन्। प्रतिस्पर्धा यसरी बनेको छ कि लिगसँग नभएका स्पोन्सर टिममा जानुभएको छ, टिममा नभएका स्पोन्सर टिभीमा जानुभएको छ, टिभीमा नभएका स्पोन्सर सोसल मिडिया र अन्य माध्यममा जानुभएको छ। यसरी एउटा इकोसिस्टम विकास भएको छ। आज क्रिकेट संघ हामी यस्तो स्टेजमा पुगेका छौँ कि हामीले सीमित इन्भेन्टरी र भ्यालु क्रिएट गरेका छौँ। त्यो भ्यालुमा लिगले निश्चित सीमित ब्रान्डहरूलाई मात्र स्पेस दिएको छ, र हामीसँग खर्च गर्न नसक्ने ब्रान्डहरू टिमतिर गइरहनुभएको छ।

टिमहरू कतिको फाइदामा जान्छन् भन्नेमा सबैभन्दा धेरै खर्च खेलाडीमा, विशेषगरी विदेशी खेलाडीमा हुन्छ। जति विदेशी खेलाडी बढी र ठूला आए, त्यति धेरै खर्च हुन्छ। हाम्रा टिम ओनर र एसोसिएसनहरूको खुला र ठूलो मन छ: अहिले नै लगानी गरेर अहिले नै रिटर्न खोज्ने भन्दा पनि, सुरुमै आठवटै टिम फाइनल भएर बसेर एउटा योजना बनाएका थियौँ। त्यो योजनामा आजसम्म टिकिरहँदा लिगबाट पाउने वृद्धि, टिभी राइट्सको वृद्धि, फाइनान्सियल र कमर्सियलको वृद्धि सबै हेर्दा हामी प्रतिशतका हिसाबले पनि निकै उच्च स्तरमा बढिरहेका छौँ।

तर दिनको अन्त्यमा, यो वर्षको बिडले ब्रोडकास्ट स्तरमा जुन ऊर्जा देखाएको छ, यसलाई योजनाबद्ध ढङ्गले अझ अघि बढाउने हो भने टिम ओनरहरू, लिग लगायत सबैले आफूले वर्षौँदेखि गरेको लगानी सजिलै फिर्ता पाउने समय आउनेछ। अघि तपाईंले एमएनसीको कुरा गर्नुभयो: मल्टिनेसनल कम्पनीहरूलाई प्रोभिजनल्ली खर्च गर्ने संयन्त्र बनाउने हो भने, एमएनसी तब मात्र आउँछन् र लगानी गर्छन् जब देशमा आएर लगानी गरिसकेपछि, कर तिरिसकेपछि पैसा लैजाने संयन्त्र राम्रो हुन्छ।

ठूला खेलाडी एकपछि अर्को घोषणा भइरहेका छन्। फ्रेन्चाइज त अहिले क्रिकेटमा मात्र होइन, चार-पाँचवटा खेलमा छ। हरेक खेलले विदेशी खेलाडी ल्याउँदा श्रम स्वीकृति दिलाउन र उनीहरूलाई भुक्तानी गर्न कठिन हुन्छ भनिरहेका छन्। यो कस्तो कठिनाइ हो? तपाईंहरूले यसलाई कसरी डिल गरिरहनुभएको छ?

एनपीएलको पहिलो संस्करण कस्तो रहेछ भने, नेपालमा कुनै कुरा राम्रो भइरहँदा त्यसलाई बनाउनेसँगै बिगार्न खोज्ने एउटा समूह पनि हुन्छ। पहिलो पटक भएकाले श्रम स्वीकृति प्रोभिजनल्ली गरेर हामीले खेलाडीहरूलाई सम्झौता गरेर खेलाएर पठायौँ। दोस्रो संस्करणमा आइसक्दा राष्ट्रिय खेलकुद परिषद्बाट एउटा स्पेसल डेस्क बनाइएको थियो। टिमहरूका सम्झौता हेरचाह गर्ने प्रोफेसनल मान्छे राखेर हामीले परिषद्सँग समन्वय गरी प्रक्रियालाई फास्ट ट्र्याक गराउने प्रयास गर्‍यौँ। अहिले पनि सबैको साथ सहयोग छ, तर हाम्रो रेगुलेसन अलि जटिल छ।

हरेक डिटेलमा नियम-कानुन बनाउनै पर्छ, तर विदेशी खेलाडीलाई कुनै टिमले सम्झौता गरेर ल्याएको छ भने उसले विमानस्थलबाट प्रवेश गर्दा नै त्यही सम्झौताको आधारमा भिसामा एउटा स्ट्याम्प लगाइदिने संयन्त्र बनाइदिने हो भने, उ नेपालभित्र छिरेको क्षणदेखि नै त्यो श्रम स्वीकृति त्यही सम्झौताको आधारमा लागू हुने गरी… किनकि सम्झौता भनेको त बैंकमार्फत भुक्तानी गर्नुपर्ने हो, सम्बन्धित बैंकसँगै नेपाल राष्ट्र बैंकले पनि त्यसलाई मनिटर गरेकै हुन्छ। त्यो आफैँमा एउटा निकै बलियो वित्तीय नियामक निकाय छ।

तर खेलाडी आइसकेपछि उसको सबै प्रक्रिया गरेर हामीले कागजात संकलन गर्छौँ, परिषद् जान्छौँ, परिषद्बाट स्वीकृत हुन्छ, श्रममा जान्छौँ, श्रमबाट डिपार्टमेन्ट अफ इमिग्रेसनमा जान्छौँ, त्यहाँबाट ओके भएपछि मात्र श्रम स्वीकृति पूरा हुन्छ र खेलाडीले खेल्न पाउँछन्।

भनेपछि एक महिनाको समय त गयो त्यसरी?

लगभग। अर्को रेगुलेटरी हर्डल के छ भने, अन्य देशमा बैंकिङ व्यवस्थाले विदेशमा पैसा पठाउन निकै सजिलो छ। हाम्रो देशमा अलिकति अध्ययन गरेर काम गर्ने हो भने पठाउन सकिन्छ, तर रेगुलेसन त्यस्तो भएकाले सजिलो छैन। ठूला खेलाडी ल्याउँदा उनीहरूको सम्झौता र समयमै भुक्तानी नहुँदा समस्या हुन्छ। कहिलेकाहीँ कतिपय खेलाडीले अग्रिम (एडभान्स) माग्छन्। एडभान्स पठाउनका लागि पनि श्रम स्वीकृतिको पूर्ण कागजात नभई बैंकले पैसा पठाउन सक्दैन। प्रक्रिया लामो भएकाले कहिलेकाहीँ कतिपय खेलाडी त आउनै छुटेका पनि छन्।

कुनै पनि खेलाडीको सम्झौता भएको छ भने त्यसलाई रेकग्नाइज गरेर, त्यो कतिमा सम्झौता भएको हो भन्ने कुरा इमिग्रेसनमा जब उसले टुरिस्ट भिसा लिएर छिर्छ, उसको पासपोर्टअनुसार उसले पाउने जति बस्न पाउने प्रावधान छ, त्यो प्रावधानमा उ खेल्न छिर्ने बित्तिकै एउटा हेल्प डेस्क क्रिएट गरेर उसलाई मनिटर गर्ने। त्यो मनिटरिङबीच उसको सम्झौताको आधारमा खेलुन्जेलसम्मका लागि वर्क पर्मिट दिने। अनि बाहिर जाँदा हाम्रो कानुनअनुसार जति रकम क्यारी गर्न मिल्छ, त्यो क्यारी गर्न सक्ने संयन्त्र बनाउने। बैंकिङ प्रक्रियामा त्यो वर्क पर्मिटको प्रक्रिया स्ट्याम्प लागेसँगै हुने हो भने, खेलुन्जेलसम्म टिमहरूले खेलाडीको पैसा पठाउन सक्नेछन्। एनपीएल लगभग तीन हप्ताको हुन्छ, फ्रेन्चाइज प्रतियोगिताहरू कम्तीमा दुईदेखि तीन हप्ताका हुन्छन्। त्यसैले सबै खेलका लागि समग्रमा श्रम स्वीकृति अलि सहज बनाउन त्यो फास्ट ट्र्याक संयन्त्र बनाउने हो भने धेरै टिमका लागि धेरै सजिलो हुनेछ।

विदेशी खेलाडीको करको कुरा भयो, उनीहरूलाई पछि पैसा पठाउने कुरा श्रमसँग जोडिएर आउँछ। यसमा कति समस्या छ? विदेशी खेलाडीको सन्दर्भमा पनि सिधै भुक्तानी गर्न कर प्रणालीले कसरी रोकिरहेको छ, वा कतिको समस्या गरिरहेको छ?

‘समस्या’ भन्ने शब्द कसरी प्रयोग गर्ने, किनकि नियम-कानुन कुनै न कुनै कारणले नै बनेका हुन्छन्। तर खेलकुद क्षेत्रका लागि अलि खुकुलो हुनुपर्छ। नेपालमा फुटबल र क्रिकेट एन्फा र फिफा, आईसीसीबाट अनुदानित छन्। नेपाल क्रिकेटमा त २०१८ मा ओडीआई स्ट्याटस पाएपछि मात्र अलि पैसा आउन थालेको हो। अरू खेलको तुलना गर्ने हो भने त पैसै छैन। राज्यको लगानी भनेको पूर्वाधारमै हो। राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता आयोजना गर्न निश्चित रकम दिनुहुन्छ। गजबको कुरा त के भने, नेपालमा धन्य खेलाडीहरूले खेल खेलेका छन्, किनकि कुनै पनि खेल क्षेत्रमा लागेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन। फुटबलको एउटा समय थियो जहाँ आर्थिक र पेशागत रूपमा सुरक्षित हुने वातावरण थियो। क्रिकेटमा अहिले नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय उपलब्धिसँगै एनपीएल गर्दा थोरै भए पनि खेलाडीलाई चलायमान बनाउन सक्ने अवस्थासम्म हामी पुगेका छौँ।

कर किन महत्त्वपूर्ण छ भने, खेलकुद क्षेत्र हाम्रो सबैभन्दा कम बजेट भएको क्षेत्र हो। अघि एमएनसीकै कुरा गरौँ, वा ठूला लगानीकर्ताले आएर यो क्षेत्रमा लगानी गर्ने हो भने, प्रोभिजन बनाइदिऊँ, खेलाडी ल्याउन करमा हेरौँ। ठूला-ठूला खेलाडी ल्याउँदा ती महँगा छैनन्। नेपाल क्रिकेट वा एनपीएलको अर्को चरण भनेको ठूला कोच, ठूला खेलाडी, ठूला कमेन्टेटर र ठूला इन्फ्लुएन्सर ल्याएर यसलाई प्रमोट गर्नु हो। यदि कर अलि कम हुने हो भने, अहिले कुनै राम्रो खेलाडीलाई कुनै टिमले मानौँ १०,००० डलर तिर्नुपर्‍यो भने १०,००० मा थप २८ प्रतिशत कर लाग्छ। त्यो करको रकम नेपाली रुपैयाँमा हेर्दा ४०-५० लाख हुन्छ, जसले अर्का पाँच-छ जना टप खेलाडीलाई महिनाको एक-एक लाख तलब दिएर राख्न सक्ने प्रावधान बन्छ।

क्रिकेट संघले २००१ देखि अन्तर्राष्ट्रिय प्रशिक्षकहरू नेपालमा अनुबन्धित गरेर राखेको छ। अहिले पनि हाम्रो हेड कोच, ट्रेनर र क्युरेटरलाई हामीले दिने तलबमा तिर्ने करको सञ्चित रकम जोड्ने हो भने, नेपालमा अर्का २०-२५ जना प्रशिक्षकलाई त्यही करको रकमले राम्रो तलब दिएर राख्न सकिन्छ। त्यसैले यो आफैं हुर्केको संरचना हो नेपाली खेलकुद भनेको। यसलाई साथ-सहयोगका लागि कर प्रणालीमा अलि होमवर्क गर्नुपर्छ।

मैले खेलकुद क्षेत्रका लागि यो कुरा भनिरहँदा करको अन्य प्रभाव पनि हुन सक्छन्, कहिलेकाहीँ आफू एउटा ठाउँमा बसेर आफ्नो क्षेत्रलाई मात्र फाइदा हुने खालको सोच पनि हुन सक्छ। तर समग्रमा, निश्चित समयावधिसम्म हामीले खेलकुद क्षेत्रमा लगानी गर्ने बाटो अन्तर्राष्ट्रिय समुदायका लागि र राष्ट्रिय स्तरमा पनि रेगुलेसन राम्रो बनाइदिने हो भने, म १०० प्रतिशत सुनिश्चित छु, १०० टप टप खेलाडी नेपालमा आउनेछन्, विभिन्न खेलमा। यसले सिधै स्पोर्ट्स टुरिजममा प्रभाव पार्छ।

हामी नेपालमा बसिरहेका छौँ, राम्रो देश छ हाम्रो। हालैको बाढीले पर्यटनमा असर पर्‍यो, हामीलाई जहिले पनि चुनौतीसँगै अवसर पनि छन्। भौगोलिक रूपमा नेपाल यस्तै छ। त्यसैले पर्यटकलाई सधैं आह्वान गरिरहन, ७०-८० जना जुन विदेशीहरू आउँदै हुनुहुन्छ, विश्वस्तरका मान्छेहरू आउँदा उहाँहरू आफ्नो देशमा गएर सामाजिक सञ्जालमा एनपीएलबारे, क्रिकेटबारे, नेपालबारे, खानाबारे, हाम्रो आतिथ्यबारे राम्रो लेख्दा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँका नागरिकमा पर्छ।

मान्छेले बुझ्छन् – ‘नेपाल त जानुपर्ने रहेछ, पोखरा घुम्न मात्र होइन, एभरेस्ट बेस क्याम्प र हेलिकप्टर चढ्न मात्र होइन, माउन्ट एभरेस्टको बेस क्याम्पमा गएर हावाको आह्वान गर्न मात्र होइन, क्रिकेट पनि खेल्न।’ यहाँ अर्थतन्त्रमा ऊर्जा पनि आउँछ, फ्यानसँग कनेक्ट पनि हुन्छ, राष्ट्रिय भावना पनि जोडिन्छ। साना-साना भाइबहिनी अहिले ब्याट-बल बोकेर ‘म नेपालका लागि खेल्छु, म एनपीएल खेल्छु’ भन्छन्। पहिला ‘नेपालको लागि खेल्छु’ थियो, अहिले साना-साना गाउँ-गाउँमा ‘म चितवनबाट खेल्छु’ भन्न थालेका छन्।

अहिले त फेरि थट मेकरै सोसल मिडिया भइरहेको छ।

त्यही त। हाम्रो समाज, वा संसार नै डिजिटल्ली इन्क्लाइन्ड छ, यसलाई सकेसम्म सरल संयन्त्रबाट कनेक्ट गर्नुपर्छ। नेपाल तयार छ, क्रिकेट एसोसिएसन अफ नेपाल तयार छ, म निश्चित छु। खेलकुद क्षेत्रमा सम्बन्धित सबै संघ-संस्थाको भाष्य एउटै हो, तर यो कानुनी हिसाबले, पेशागत रूपमा, राज्यको ढुकुटीमा असर नपर्ने गरी हुनुपर्छ। किनकि एनपीएलबाट हामीले धेरै कर तिरेका छौँ, टिमहरूले धेरै कर तिर्नुभएको छ।

विदेशी खेलाडी नेपाल आउँदा उहाँहरू आफ्नो देशका एम्बासडर हुनुहुन्छ, र हामीले उहाँहरूलाई यो देशको एम्बासडर नियुक्त गर्दा, आज एन्ड्रयू लिओनार्ड जति प्रसिद्ध हुनुभएको छ, उहाँले नेपाल क्रिकेटबारे संसारभर प्रमोट गरिरहनुभएको छ।

एनपीएलमा पहिलो र दोस्रो संस्करणका केही विवादास्पद कुरा पनि छन्। जस्तै, तेस्रो संस्करणमा टीभी राइट्सदेखि ब्रोडकास्टिङसम्म सबै कुरा क्लियर छ, यति-यति रकममा डिल भयो भनिएको छ। पहिलो र दोस्रो संस्करणमा पारदर्शिता भएन भनेर छानबिनसम्म पनि भयो। खासगरी, तेस्रो संस्करणमा खरिद नियमावली फलो भइरहेको छ, पहिलो-दोस्रोमा खासमा के भयो? फलो भएन कि केही कमजोरी भयो? यसलाई तपाईं कसरी हेर्नुहुन्छ?

नेपाल क्रिकेट संघले एनपीएल सुरु हुनुअघि इतिहासमै पहिलो पटक एनपीएलको नोटिस निकालेको थियो – टीभी, टिम ओनरसिप, कमर्सियल राइट्स र अन्य सबै नोटिस। भर्खर साढे दुई वर्ष मात्र भयो होला क्रिकेट संघले नोटिस निकाल्न सुरु गरेको। अरू संघले निकालेका छैनन् सायद।

इतिहास पल्टाएर हेर्‍यो भने छर्लङ्ग भइहाल्छ। विवाद किन आए, कसरी आए भन्ने कुरामा, क्रिकेट संघको आफ्नो कार्यविधि छ, त्यही कार्यविधि अन्तर्गत हामीले कार्यान्वयन गर्ने संयन्त्र विकास गरेका हौँ। गभर्निङ काउन्सिल छ, क्रिकेट संघले दिएको जिम्मेवारीमा हामी तीन जना छौँ, म, कोषाध्यक्ष ज्यू र क्रिकेट संघका बोर्ड सदस्य। तीन जनाले जिम्मेवारी पाएपछि हामीले यसलाई सकेसम्म पारदर्शी बनाउनुपर्छ भनेर काम गरेका हौँ। पहिलो संस्करण ठूलो भयो भन्नेसँगै, एनपीएल हुनुअघि पनि नेपाल क्रिकेट एउटा वृद्धिको प्रक्रियामै थियो।

तर नेपाल क्रिकेटको हिसाबकिताब एनपीएलसँग मात्र जोडेर किन हेरिन्छ भन्ने प्रश्न हो। नेपाल क्रिकेट भनेको एनपीएल मात्र होइन। एनपीएलबाहेक पनि अन्य प्रतियोगिता छन्, एनपीएलभन्दा बढी अर्थतन्त्र भएका प्रतियोगितामा पनि हामीले लगानी गरिरहेका छौँ। एनपीएल एउटा ‘सब्जेक्ट’ भएको छ। नेपाल क्रिकेट संघ आफैं विभिन्न क्षेत्र र पृष्ठभूमिका मान्छेहरू सम्मिलित भएर बनेको संस्था हो। यहाँ कोही-कोहीसँग मिल्नुहुन्छ वा मिल्नुहुन्न भन्नुभन्दा पनि, संस्थागत कुरा र संस्थालाई अघि बढाउने जिम्मेवारीमा हामी पदाधिकारीले सकेसम्म पारदर्शी तरिकाले अघि बढाएका छौँ।

प्रक्रिया पूरा भएन भन्ने कुरामा, हरेक प्रक्रियालाई हामीले आफ्ना मापदण्ड र कानुनी हिसाबले जोडेर सहज तरिकाले प्रस्तुत गरेका छौँ। क्रिकेट संघबारे मान्छेले समाचार लेखेर हामीलाई हिसाबकिताबबारे थाहा भयो या भएन भने, त्यो क्षणिक राजनीति हो। संस्थागत कुरामा हामी जवाफदेही राष्ट्रिय खेलकुद परिषद्प्रति छौँ। परिषद् भन्दा माथि शिक्षा तथा खेलकुद मन्त्रालय छ। ‘अख्तियार’ भन्ने शब्द प्रयोग गरेर जहिले पनि तर्साउन खोजिँदो रहेछ।

किनकि क्रिकेट संघ आफैंले पैसा जम्मा गरेर प्रतियोगिता आयोजना गरिरहँदा, यतिबेला क्रिकेटबाट फाइदा उठाएको एउटा समूह छ, जसले आजसम्म पनि पचाउन सकेको छैन कि क्रिकेट अघि बढ्दै छ। छानबिन त सायद ती समूह र ती व्यक्तिहरूको हुनुपर्ने हो। यदि साँच्चिकै सम्बन्धित निकायले क्रिकेटबारे छलफल गर्न सक्ने हो भने, ती व्यक्तिहरूको पनि खोजतलास गर्नुपर्छ होला।

तर हामीले संस्थालाई पारदर्शी बनाउँदै अघि बढ्दा राम्रोसँगै केही नराम्रा कुरा पनि आउँछन्। एकैचोटि सबै कुरा परिवर्तन हुँदैन, कायापलट गर्न गाह्रो छ। तर पहिलो संस्करणदेखि नै एनपीएलको हरेक कुरामा नेपाल क्रिकेट संघले नोटिस निकालेर, सार्वजनिक अपिल गरेर, सम्बन्धित कुरा जोड्ने प्रयास गरेको छ। सबै कुरालाई कुन प्रक्रियाबाट हेर्ने भन्ने हो। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा, क्रिकेटलाई सपोर्ट गर्ने सबैको चासो र इच्छा छ, तर हाम्रो घरभित्रै पनि समस्या छन्। ती समस्या समाधान गर्न हामीले धेरै पहल र प्रयास गरेका छौँ।

अब तीन वर्ष सकियो, क्रिकेट संघको एक वर्ष कार्यकाल बाँकी छ। जसलाई चित्त बुझ्दैन, उहाँले बोल्न पाउनुहुन्छ। क्रिकेट संघले गरेको काम चित्त बुझेन भने बोर्ड मेम्बरले बोर्डमा आएर कुरा राख्न सक्नुहुन्छ। ती कुरा सम्बोधन गर्ने ठाउँ राखेप वा सम्बन्धित मन्त्रालय हो, हामी सम्बोधन गर्छौँ। त्यसबाहेक, मिडियामा आएर वा मिडिया प्रयोग गरेर वा व्यक्तिहरूले प्रयोग गरेर क्रिकेट संघलाई बदनाम गर्न खोजिन्छ भने, त्यस्ता व्यक्ति वा संरचनाप्रति क्रिकेट संघ अडिग भएर अघि बढेको छ। संस्था व्यक्तिभन्दा ठूलो हुन्छ, इतिहासले मूल्यांकन गर्नेछ कि नेपाल क्रिकेट संघले के गर्‍यो।

आज नेपाल क्रिकेट संघलाई हेर्दा, यो आफैँ हुर्केको संस्थालाई यो स्टेजसम्म ल्याउन हरेक स्टेकहोल्डरले महत्त्वपूर्ण भूमिका खेलेका छन्। मान्छेले मेरो नाम लिएर मलाई धेरै क्रेडिट दिनुहुन्छ, तर म फेरि भन्छु, खेल्दा पनि टिमले जितेको थियो र अहिले पनि एक टिम भएर काम गरिरहेका छौँ, त्यसको नतिजा देखिएको छ।

व्यक्तिगत रूपमा विमति हुन सक्छन्, आफूले राखेका कुरा पूरा नभएका हुन सक्छन्, तर्क सही वा गलत हुन सक्छन्, तर दिनको अन्त्यमा आजसम्म हामीले मूल्याङ्कन गर्दा नेपाल क्रिकेट जितिरहेको छ। यो स्टेपबाट अझ माथि पुग्न फराकिलो सोच राख्नुपर्छ। ‘मैले यो गरेँ, त्यो गरेँ’ भन्ने सोच मात्र राखेर, ‘हामीले के गर्‍यौँ’ भन्ने सोच नबनाउन्जेल क्षणिक रमाइलोमा बसेर हामी धेरै अघि बढ्न सक्दैनौँ।

अन्तिममा, क्रिकेट संघमा एकपटक चुनाव जित्नुभयो, एकैपटकमा तपाईं क्यानको सचिव, नेतृत्वमा आइपुग्नुभयो। अब चुनाव आउन एक वर्ष बाँकी छ। क्यानमा चुनाव कति समयअघिदेखि आउँदो रहेछ?

क्यानमा चुनाव भन्दा पनि, हाम्रो समाजको बनावट कस्तो छ हेर्नुस्। हामी नेपाल हो नि, नेपालमा विभिन्न तत्व छन्। विशेषगरी गत वर्षको जेनजी क्रान्तिपछि नयाँ सरकार आएसँगै युवाहरूको चासो निकै बढेको छ। पोलिटिक्स इज पार्ट अफ लाइफ। पोलिटिक्सका दुई पक्ष हुन्छन्: असल राजनीति र खराब राजनीति, सुशासन र कुशासन। त्यसैले क्रिकेट संघमा अब कसलाई चुनाव लाग्यो, लागेन भन्ने कुरामा अहिले काम गर्ने बेला हो। जब चुनाव लाग्छ, चुनाव लाग्ने पनि समय होला।

अहिलेका लागि हाम्रो महत्त्वपूर्ण अर्को पक्ष एनपीएल हो, एनपीएल प्लेअफ क्वालिफायर नेपालमा होस्ट गर्न पायौँ भने त्यो हुन सक्छ। त्यसपछि अन्डर-१९ विश्वकप छ, बंगलादेश सिरिज छ, केही अन्तर्राष्ट्रिय सिरिजहरूको हामी चाँडै घोषणा गर्दै छौँ। हाम्रो घरेलु प्रतियोगिताका आफ्नै संरचना छन्।

यी सबै कुरा जोडेर हेर्दा फोकस केमा गर्ने भन्ने हो। जसलाई चुनाव लागेको छ, उहाँहरू लागिरहनुभएको छ भने त्यो उहाँहरूको व्यक्तिगत स्वतन्त्रता हो। चुनाव लाग्नु, क्याम्पेन गर्नु वा भोटिङ गर्नु एउटा स्वाभाविक प्रक्रिया हो, किनकि भोलि त्यही छानिएका प्रतिनिधिले भोट हालेर क्रिकेट संघ गठन हुने हो।

आउने एक वर्षमा यदि क्रिकेट संघअन्तर्गतका ४५ जिल्ला, सात प्रदेश क्रिकेट संघको बोर्डलगायत सबैलाई “यो समूह वा यी मान्छेले क्रिकेटलाई अघि बढाउन सक्छन्” भन्ने साझा धारणा बन्छ भने राम्रो क्रिकेट संघ बन्नुपर्ने हो। त्यो भएर पनि बनेन भने पनि, जो पनि क्रिकेट संघमा आउनुहुन्छ उहाँहरूले क्रिकेट चलाउनु नै हुन्छ होला, किनकि सबैलाई आफू योग्य लाग्नु स्वाभाविक पनि हो। हामीले पनि यो तीन वर्षमा आएर जादु गरेका छैनौँ, कोसिस गरिरहेका छौँ।

कति कुरा सिक्दै छु, म त खेलबाट व्यवस्थापनमा आएको हुँदा सिक्नु र गर्नु धेरै छ। आगामी दिनमा क्रिकेटको भविष्य निकै राम्रो छ, तर त्यसका लागि गर्नुपर्ने मेहनत पनि उत्तिकै छ। यो मेहनत र संघर्षबीच हाम्रो नियत कतिको राम्रो हुने हो, सबैले आफ्नो नियत सफा राखेर अघि बढ्ने हो भने म निश्चित छु, नेपाल क्रिकेट बढ्छ।

तर दिनको अन्त्यमा नेपाल क्रिकेट संघ भनेको एउटा पद नहोला। हामीले यसलाई एउटा संरचना, एउटा भावना, र अब त राष्ट्रिय भावना र राष्ट्रिय गौरवसँग जोडिएको परियोजनाका रूपमा हेर्नुपर्छ। जसलाई चुनाव लागेको छ, उहाँहरूलाई पनि शुभकामना छ।

हामी अहिले काम गरिरहेका छौँ। जब समय आउँछ, त्यसपछि क्रिकेट संघ कस्तो बन्छ वा बनाउनुपर्छ भन्ने ४५ जिल्ला र सात प्रदेशका सबै बसेर निर्णय गर्नुहुनेछ।