काठमाडौं। भोटेकोशी बाढीले प्रसारण लाइन बगाएपछि उत्पादन ठप्प भएको १४६.३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणले सरकारसँग सहयोग मागेको छ।
प्राधिकरणले वैकल्पिक प्रसारण लाइन ‘फास्ट ट्र्याक’मा बनाएर बिजुली राष्ट्रिय ग्रिडमा जोड्नका लागि सहजीकरण गरिदिन सरकारलाई पत्राचार गरेको छ।
गत भदौ १० गतेको बाढीले ‘त्रिशूली थ्री बी’ सबस्टेसन हब बगाएपछि ६ जलविद्युत आयोजनको बिजुली उत्पादन ठप्प छ। जलविद्युत् आयोजनामा कुनै क्षति नपुगे पनि बिजुली जोड्ने मुख्य सबस्टेसन नै ध्वस्त भएपछि १४६.३ मेगावाट बिजुली उत्पादन ठप्प भएको हो।
प्राधिकरणले ती आयोजनाको बिजुली पावर हाउसबाट त्रिशूली थ्री ‘बी’ सबस्टेसन हुँदै काठमाडौँको मातातीर्थ ल्याउने गरे पनि बाढीले सबस्टेसन ‘वास आउट’ गरेका कारण बिजुली इभ्याकुएट गर्न सकेको छैन। जसका कारण आयोजनाले दैनिक ठूलो नोक्सानी ब्यहोरिरहेका छन्। प्राधिकरणलाई पनि बिजुलीको माग व्यवस्थापन गर्न समस्या पर्ने देखिएको छ।
सबस्टेसन हब पुनर्निर्माण गर्न लामो समय लाग्ने देखिएकाले प्राधिकरणले वैकल्पिक ‘बाइपास’ प्रसारण लाइन निर्माणको गृहकार्य अघि बढाएको छ। ती आयोजनाको बिजुली चिलिमे हबबाट सिधै मातातीर्थ सबस्टेसनमा जोड्ने तयारी गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए।
प्राधिकरणले प्रसारण लाइन विस्तारका क्रममा आइपर्ने कानुनी र व्यवहारिक जटिलता फुकाउन आग्रह गर्दै ऊर्जा मन्त्रालयलाई पत्राचार गरिसकेको छ।
‘सबस्टेसन बनाउनका अलि धेरै समय लाग्छ। त्यसैले अब सान्जेन खोलाका जलविद्युत आयोजनालाई चिलिमे हबबाट सिधै काठमाडौंको मातातीर्थ सबस्टेसनमा ल्याउने योजना बनाएका छौं,’ श्रेष्ठले भने, ‘यो योजना कार्यान्ययनका लागि सहजीकरण गरिदिन मन्त्रालयलाई पत्राचार गरिसकेका छौं।’
प्राधिकरणले मन्त्रालयमा पठाएको पत्रमा विशेष अवस्थालाई ध्यानमा राखेर पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रक्रियालाई द्रुत गतिमा गराउन सहयोग मागेको छ।
‘प्रसारण लाइन निर्माणका लागि अतिरिक्त ईआईए गर्नुपर्ने हुन्छ। त्यसैले मन्त्रालयलाई जग्गा प्राप्ति र रुख कटानमा सहजीकरण गरिदिन आग्रह गरेका छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘प्रसारण लाइन बनाउँदा आउने ठूलो समस्या नै जग्गा प्राप्ति र रुख कटान हो। रुख कटान र जग्गा प्राप्तिका लागि सहजीकरण भएको खण्डमा हामीलाई प्रसारण लाइन निर्माण गर्न सहज हुन्छ।’
७८ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना, ४२.५ मेगावाट क्षमताको लोअर सान्जेन आयोजना र १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन आयोजनामा भोटेकोशी बाढीले क्षति भएको छैन। तर, त्रिशूली थ्री ‘बी’ सबस्टेसन बगाएका कारण ती आयोजनाको उत्पादन रोकिएको अवस्था छ।
यसैगरी समुन्द्रटार क्षेत्रमा निर्माण भएका साना तथा मझौला आयोजनाको बिजुली उत्पादन पनि रोकिएको छ। ११ मेगावाट क्षमताको अप्पर तादी जलविद्युत आयोजना, ५ मेगावाट क्षमताको तादी ठप्रेक आयोजना र ५ मेगावाटको तादीखोला जलविद्युत आयोजनाको उत्पादन बन्द छ।
भौतिक रूपमा कुनै क्षति नभए पनि बिजुली जोड्ने ठाउँ नहुँदा यी आयोजनाको उत्पादन बन्द गर्नुपर्ने बाध्यता आएको हो।
आयोजना भौतिकरूपमा सुरक्षित भए पनि बिजुली राष्ट्रिय प्रणालीमा पठाउन नसक्दा जलविद्युत् कम्पनीको दैनिक आम्दानी शून्यमा झरेको छ।
प्रसारण लाइन नबनेसम्म यी आयोजनाको बिजुली खेर जानेछ। ‘उत्पादित बिजुली लैजाने बाटो नै छैन। त्यसैले प्रसारण लाइन नबनेसम्म बिजुली उत्पादन बन्द गर्नुको विकल्प छैन,’ प्राधिकरणका एक कर्मचारीले भने।
प्राधिकरणले चिलिमे हबबाट सिधै काठमाडौं जोड्ने प्रसारण लाइन बनाउनका लागि प्राविधिक अध्ययन गर्ने जिम्मा एनइए इन्जिनियरिङ कम्पनीलाई दिइएको छ। कम्पनीलाई २ महिनामा काम सक्न भनिएको छ।








