चोलेन्द्रको फोन डिटेल खोज्दा भेटिएका ईनमलाई अभद्रमा म्याद, हिरासतमा राखेर केरकार

बिजमाण्डू
२०८३ असोज २० गते ११:१३ | Oct 6, 2026
चोलेन्द्रको फोन डिटेल खोज्दा भेटिएका ईनमलाई अभद्रमा म्याद, हिरासतमा राखेर केरकार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कनेक्सन खोज्न प्रहरीले अहिले इनम सापकोटासँग केरकार गरिरहेको छ। विशेष ब्यूरोको टोलीको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौँले इनम माथि अनुसन्धान गरिरहेको हो।

GBIME
Tata

परिसरको हिरासतमा राखेर उनी माथि अनुसन्धान भइरहेको छ। सापकोटाकी श्रीमतीले बन्दी प्रत्यक्षिरणको रिट समेत सर्वोच्चमा दर्ता गरेकी छन्।

अदालतले बन्दी प्रत्यक्षीकरण जारी गर्न नपर्ने कारण भए बाटोको म्यादले महान्यायाधिवक्ता कार्यालय मार्फत २४ घण्टाभित्र कारण पेस गर्न भनेको छ।

ईनम र जबराको फोन सम्पर्क देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

‘अभद्रमा म्याद थप भएको छ। पछिल्ला घटनामा जोडेर उहाँको सम्पर्कदेखि के हो भन्ने खोजेका हौं,’ एक प्रहरी अधिकृतले भने।

असोज ११ गते बिहान २ बजेतिर प्रहरीले जबरालाई पक्राय गर्दा उनको मोबाइल समेत नियन्त्रणमा लिएको थियो। ईनमलाई नै आधार बनाएर प्रहरीले अन्य कनेक्सनहरु खोजिरहेको छ। जसमा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल पनि जोडिएका छन्। एआइजी दाहालले सूचना चुहाएको भन्दै पदबाट गृह मन्त्रालयले निलम्बन गरेको छ।

असोज २७ गतेबाट अवकाश पाउन लागेका दाहाललाई सशस्त्र प्रहरीले एक वर्ष म्याद थप गर्न गृह मन्त्रालयमा सिफारिस समेत गरेको थियो। तर, ईमनसँग कनेक्सन जोडिएपछि उनको कार्यकाल लम्बिनेमा आशंका पैदा भएको छ।

पूर्व प्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेपछि दाहाल उनलाई भेट्न प्रहरी कार्यालय टेकु पुगेको स्रोत बताउँछ। दाहालले भेटेपछि जबरा पक्राउको सूचना बाहिरिएको आरोप लगाइएको छ। दाहालले भेटअघि स्वीकृति नलिएको आरोप पनि सशस्त्रको छ। भेटपछि पनि उनले संगठनमा जानकारी नगराएको प्रहरी स्रोत बताउँछ।

त्यस्तै, ईनमसँग एआइजी दाहालको सम्पर्क समेत देखिएको थियो। दाहाल डिआइजी हुँदा कोसी प्रदेशमा बसेका थिए। ईनम पनि झापाकै व्यक्ति हुन्। तर उनले लामो समयदेखि झापा छोडेको प्रहरी अधिकृतहरू बताउँछन्।

चोलेन्द्र जबरा प्रधानन्यायाधीश हुँदा उनका आफन्त मार्फत नै ईनमसँग सम्बन्ध भएको देखिएको छ। चोलेन्द्रसँग जोडेर सापकोटाले बिचौलियाको भूमिका खेलेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको हो। अहिले प्रहरीले अन्य मानिससँगको सम्पर्क केलाइरहेको छ। कारागारमा रहेका बिचौलिया दीपक भट्टसँग पनि ईनमको फोन सम्पर्क रहेको देखिएको प्रहरी स्रोतले बताएको छ। त्यसपछि ललितपुर कारागारमा रहेका भट्टलाई शनिबार साँझ सिन्धुपाल्चोक पठाइएको थियो।

ईनम महाराजगंजको एक अपार्टमेन्टमा बस्दै आएका थिए। उनकी श्रीमतीले भने परिसरमा पुगेर श्रीमान् भेटिरहेकी छिन्।