काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंगता गरेको बताएका छन्।
उनले आइतबार नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा रुपान्तरण गरेर गगनले निरन्तरतामा क्रमभंगता गरेको बताए।
‘निरन्तरतामा क्रमभंगता गरेर कांग्रेसलाई नयाँ इतिहासतर्फ लानुभयो। विश्वप्रकाशजी र प्रदीपजीहरुको सहयोगले कांग्रेसलाई रुपान्तरण गर्नुभयो,’ उनले भने, ‘क्रमभंगतासहित कांग्रेसलाई नयाँ बनाउने प्रयास गर्नुभएको छ। बाँकी रहेका साथीलाई समेट्ने प्रयास पनि सफल होस्।’
प्रचण्डले विगतमा आफूले धेरै क्रमभंगता गरे पनि अब गाह्रो हुन थालेको बताए। उनले देश बनाउनका लागि रास्वपा सभापति रवि लामिछानेलाई पनि क्रमभंगता गर्न आग्रह गरे।

‘पहिले पहिले मैले धेरै क्रमभंगता गर्थें। क्रमभंगता गर्न मलाई अब गाह्रो भएको हो कि। अब पालो गगनजीहरुको। रविजीले अझै क्रमभंगता गर्न बाँकि छ। अनि बन्छ नेपाल,’ उनले भने।
प्रचण्डले सरकारका कतिपय गतिविधले देश अराजकतामा जाने खतरा पैदा भएको पनि बताए।











