कोरला नाका खुलाउन चिनियाँ राजदूत माओमिङ लोमान्थाङमा, सिन्तामणिमा द्विपक्षीय वार्ता

बिजमाण्डू
२०८३ असोज १८ गते १०:४४ | Oct 4, 2026
कोरला नाका खुलाउन चिनियाँ राजदूत माओमिङ लोमान्थाङमा, सिन्तामणिमा द्विपक्षीय वार्ता


काठमाडौं। कोरला नाका पूर्णरुपमा खुलाउन राजदूत झाङ माओमिङसहितको ७ सदस्यीय चिनियाँ टोली उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।

GBIME
Tata

कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ माओमिङ कोरला नाकाबाट लोमान्थाङ पुगेका हुन्।

‘चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ। भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन। चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौं,’ मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्।

रसुवा नाका भदौ १० गतेको बाढीले बन्द भएकामा भदौ १४ देखि तातोपानी नाका बन्द गरेको चीनले अब कोरला नाकालाई पूर्णरुपमा खुलाउन चाहेको छ। असोज ८-११ को वर्षाका कारण मुस्ताङसँगको सडक सम्पर्क टुटेका कारण कोरला नाका पनि बन्द छ।

सरकारले तातोपानी नाका खुलाउन आग्रह गरेकामा चीनले भने कोरलालाई नै प्रवर्धन गर्न चाहेको छ। त्यही कारण राजदूत माओमिङ त्यस क्षेत्रको अवलोकनमा पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नेपालका लागि चिनियाँ राजदूत तीन दिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ पुगेको जानकारी दिए। 

कोरला नाका हुँदै मुस्ताङ पुगेको टोलीका ७ सदस्य लोमान्थाङस्थित होटल मण्डलामा बसेको प्रहरी निरीक्षक बस्यालले बताए। टोली लोमान्थाङबाट जोमसोम पुग्ने तालिका छ।

चिनियाँ राजदूत माओमिङ आइतबार लोमान्थाङबाट जोमसोम पुग्ने तथा जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका समकक्षीबीच कोरला नाकासम्बन्धी बैठक बस्ने जनाइएको छ ।

कोरला नाकाबाट लोमान्थाङ हुँदै जोमसोम पुगिसकेपछि बैठक सकेर चिनियाँ राजदुत आज पुनः लोमान्थाङ फर्किने तालिका छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरला नाका हुँदै चीन फर्किने योजना छ।

नेपाल-चीन उत्तरी कोरला नाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण यो नै पहिलो भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। कोरला नाकालाई पूर्ण रुपमा खोल्न र कोरला नाकाको समग्र वस्तुस्थितिको अनुगमनका लागि चिनियाँ राजदूत मुस्ताङ पुगेको उनको भनाइ छ।

गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी-केरुङ नाका पूर्ण रुपमा बन्द छ। यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द अवस्थामा छ। यस्तोमा नेपालका लागि चिनियाँ राजदूतसहितको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गत भदौ १० यता नेपाल-चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रुपमा उभिएको छ। रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोडको हाराहारीमा राजस्व संकलन गर्नमा योगदान गरेको छ।

कोरला नाकालाई पूर्ण रुपमा संचालन तथा अन्तर्राष्ट्रिय नाकाका रुपमा व्यवस्थापन गर्ने, नाकामा देखिएका समस्या र चुनौतीको समाधान खोज्ने, कोरला नाकामा नेपाल पक्षको पूर्वाधारहरुको अवलोकन गर्ने र कोरलानाका जोड्ने सडकको अनुगमनका लागि चिनियाँ राजदूतको मुस्ताङ भ्रमण फलदायी हुने आशा गरिएको छ। रासस