भोटेकोशी बाढीले ३३८ वटा ट्रक/कन्टेनर स्वाहा, ४४१ जना व्यवसायी र चालक सम्पर्कबिहीन

बिजमाण्डू
२०८३ असोज ८ गते १७:१३ | Sep 24, 2026
भोटेकोशी बाढीले ३३८ वटा ट्रक/कन्टेनर स्वाहा, ४४१ जना व्यवसायी र चालक सम्पर्कबिहीन


काठमाडौं। भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर परेको सार्वजनिक भएको छ।

Vigo
GBIME
Tata

नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई बाढीमा परी ३३८ वटा ट्रक तथा कन्टेनर र ४४१ जना चालक, सहचालक र व्यवसायी सम्पर्कबिहीन भएको विवरण उपलब्ध गराएको छ।

ती सवारीसाधन तथा चालक, सहचालक र व्यवसायी टिमुरे क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्। अकस्मात आएको बाढीले टिमरे क्षेत्र ध्वस्त भएको थियो। त्यहाँ रहेका सरकारी भवनदेखि निजी घर पूरै बाढीले सखाप पारेको थियो।

रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको बाटो पूरै बाढीले बगाएका कारण अहिले त्यो क्षेत्र सडक सञ्जालबाट टाढा छ।

विभागले क्षतिसम्बन्धी विवरण सात दिनभित्र उपलब्ध गराउन असोज २ गते आग्रह गरेको थियो। त्यसपछि महासंघले विभिन्न सदस्य संघ, समिति तथा कम्पनीबाट संकलन गरेर क्षतिको विवरण विभागलाई उपलब्ध गराएको हो।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाका अनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि लोकन्थलीका सबैभन्दा धेरै २१७ वटा ट्रक तथा कन्टेनर र २५१ जना चालक, सहचालक र व्यवसायी सम्पर्कबिहीन छन्।

नारायणी यातायात व्यवसायी संघ हेटौंडाका ५८ वटा ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ सिमराका २१ वटा सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ, बल्खुका १० वटा कन्टेनर र २० जना सम्पर्कबिहीन रहेको विभागलाई उपलब्ध गराइएको विवरणमा उल्लेख छ।

यस्तै गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ वटा ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कबिहीन छन्।

ट्रक/कन्टेनरसँगै अर्बौं रुपैयाँको सामान पनि बाढीले बगाएको छ। यसबाहेक अटो व्यवसायीले चिनबाट मगाएका ६०० भन्दा बढी नयाँ गाडी पनि बाढिमा बिलिन भएका छन्।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले विवरण संकलन हुने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधन र व्यक्तिको संख्या अझै बढ्न सक्ने बताए। उनले क्षति यकिन भएपछि राहत तथा पुनर्स्थापनाका लागि पहल गर्ने बताए।

सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा सुझावसहित प्रतिवेदन पेस गर्न सरकारले समिति गठन गरेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा भदौ २६ गते यातायात व्यवसायी तथा सरोकारवालासहित बसेको बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो।