काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कडा नियम लागू गरेको छ।
विभागको नयाँ निर्देशनअनुसार अब जिप प्रकृतिका ८ देखि १४ सिट क्षमताका सवारीसाधन (जस्तै टाटा सुमो, महिन्द्रा बोलेरो आदि)लाई २५० किलोमिटरभित्रको रुटमा मात्र बाटो इजाजतपत्र प्रदान गरिनेछ।
त्यस्तै, माइक्रोबसहरूको हकमा ३०० किलोमिटरभित्रको रुटमा मात्र बाटो इजाजत दिने व्यवस्था मिलाइएको छ। प्रत्येक सार्वजनिक सवारीसाधनले प्रत्येक छ/छ महिनामा प्राविधिक जाँचपास र प्रदूषण चेकजाँच गराउनुपर्ने नियमलाई अनिवार्य गरिएको छ।
सवारी परीक्षण कार्यालयबाट रात्री सेवा कायम भएको भनी बाटो इजाजतपत्रमा उल्लेख भएका सवारीसाधन मात्र रात्री सेवामा सञ्चालन हुन पाउनेछन्।
साथै, बाटो इजाजतमा अनिवार्य रूपमा ‘दिवा सेवा’ वा ‘रात्री सेवा’ स्पष्ट रूपमा लेख्नुपर्नेछ। सवारी परीक्षण कार्यालयद्वारा कायम भई बाटो इजाजतपत्रमा उल्लेख भएका साधारण रात्री, डिलक्स र सुपर डिलक्स यात्रुवाहक सवारीसाधनलाई मात्र मान्यता दिइने र विभागले तोकेको अधिकतम भाडादर मात्र लागू हुनेछ।
रातो प्लेट (निजी)का चार पाङ्ग्रे सवारीसाधनहरूलाई सार्वजनिक सवारीसाधनको रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने विभागले जनाएको छ।
बाटो इजाजत पुस्तिकामा अनधिकृत व्यक्तिहरूले ओभरराइट गर्ने वा आफूखुसी थपघट गर्ने गैरकानुनी कार्य तुरुन्त बन्द गर्न विभागले चेतावनी दिएको छ।
पटक-पटक गुनासो आएपछि विभागले यस विषयमा सूक्ष्म रूपमा अनुगमन भइरहेको जनाएको छ। प्रचलित व्यवस्थाविपरीत कार्य गरिएको पाइएमा कडा कारबाही गर्ने विभागको चेतावनी छ।










