काठमाडौं। देशका विभिन्न भागमा शुक्रबारदेखि आइतबारसम्म भिषण वर्षा हुने पूर्वानुमानसहित जोखिमलाई ख्याल गरी भ्रमणमा ननिस्किन एक सातादेखि सचेत गराइए पनि करिब ४ हजार पर्यटक भने पदयात्रामा निस्किएका छन्।
जोखिमको चेतावनीका बाबजुद् ट्रेकिङ एजेन्सीहरुले करिब ४ हजार पर्यटकलाई अन्नपूर्ण, मनास्लु र सगरमाथा क्षेत्रको पदयात्रामा लगेका हुन्।
अन्नपूर्ण संरक्षण आयोजनाका अनुसार पोखराबाट आइतबारयता करिब २५०० पर्यटक विभिन्न पदमार्गमा निस्किएका छन्।
अन्नपूर्ण हिमाल पदमार्गमा ७४७, अन्नपूर्ण बेस क्याम्पमा ५४९, अराउन्ड अन्नपूर्णमा ७४५, पुनहिल-घोडेपानीमा १३३ र मार्दी हिमालको पदयात्रामा १६७ जना पर्यटक छन्।
मनास्लु संरक्षण क्षेत्रका अनुसार मनास्लु पदयात्रामा भदौ ३१ देखि असोज ७ सम्म ५९१ जना पदयात्रामा छन्। तीमध्ये ३२९ जना विदेशी पर्यटक, ११६ जना भरिया र १४६ जना गाइड हुन्।
यस्तै खुम्बु क्षेत्रमा हाल १ हजार ११८ जना पर्यटक छन्। सेप्टेम्बर १ देखि २३ सम्म १ हजार ८६० जना विदेशी पर्यटक सगरमाथा क्षेत्रमा गएकामा ७४२ जना मात्र फर्किएका छन्।
एभरेष्ट बेस क्याम्प क्षेत्रमा केही दिनयता मौसम बिग्रिएको छ। जसले गर्दा पर्यटक धेरै नरहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्माछिरि शेर्पाले बताए।
‘हामीले आएका पर्यटकलाई रोकेका छैनौं। तर उहाँहरुलाई नोटिस जारी गरी सतर्क हुन भनिरहेका छौं। पछिल्ला केही दिनदेखि मौसम बिग्रिएका कारण पर्यटक धेरै छैनन्। ५ हजार मिटरमाथि हिउँ परिरहेको छ।’
पर्यटन बोर्डका कायममुकायम सीइओ सन्तोष पन्तले पदयात्रामा जान चाहने अरु पर्यटकलाई रोक्न र पदयात्रामा निस्किसकेकाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ फर्काउन भनिसकेको बताए।

‘हामीले टानमार्फत सबै ट्रेकिङ एजेन्सीहरूलाई अलर्ट गराएका छौं। पदयात्रामा जाने तयारीमा रहेका पर्यटकलाई रोक्न र निस्किसकेकाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ फिर्ता ल्याउन भनिएको छ,’ उनले भने।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने पूर्वानुमान एक सातादेखि नै गरिरहेको छ। विभागले अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको चेतावनी दिँदै सतर्कता अपनाउन भन्दै आएको छ।
त्यो चेतावनीका बाबजुद ट्रेकिङ एजेन्सीहरुले जोखिमलाई बेवास्ता गरी पर्यटकलाई विभिन्न क्षेत्रको पदयात्रामा लगेका हुन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले यसअघि मौसम अनुकूल रहेका कारण व्यवसायीहरुले पर्यटकलाई पदयात्रामा लगेको भन्दै सरकारका निकायले जोखिम देखाएपछि ‘हाइ अलर्ट’ गराइसकेको बताए।
उनका अनुसार पदयात्रामा लगिएका पर्यटकलाई थप जोखिमयुक्त क्षेत्रको यात्रा नगराउन र सरकारको सूचना पालना गराउन भनिएको छ।
‘हामीले सम्पूर्ण एजेन्सीलाई सरकारी निकायले जारी गरेको नोटिस अनुसार पर्यटकलाई जोखिमपूर्ण यात्रामा नलैजान भनिसकेका छौं,’ उनले भने, ‘यात्राका क्रममा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा राख्न भनेका छौं।’
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पनि पर्यटकसँग गएका गाइडलाई वर्षाले हुनसक्ने जोखिमबारे एसएमएसमार्फत सजग गराइएको जानकारी दिए।
उनका अनुसार मौसम विज्ञान विभागले सतर्कता अपनाउन भनेको समयमा पर्यटकलाई खोला किनार, पहिरोग्रस्त क्षेत्र र भिरपाखाबाट टाढा सुरक्षित ठाउँमा डाइभर्ट गर्ने काम भइरहेको छ।
‘सरकारले नै पहाडी तथा हिमाली क्षेत्रमा बाढी, पहिरो र सडक अवरोधको चेतावनी दिएकाले हामीले सोही सूचनाका आधारमा सबैलाई सतर्क बनाएका छौं,’ आचार्यले भने, ‘खोला किनार, भिरपाखा वा पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा नजान आग्रह गरिएको छ। जोखिमयुक्त तीन दिनको अवधिमा पर्यटकलाई सुरक्षित ठाउँतर्फ डाइभर्ट गर्ने काम भइरहेको छ।’

अहिले विशेष गरी लाङटाङ, अन्नपूर्ण, मनास्लु र एभरेष्ट बेस क्याम्पमा पदयात्राको सिजन हो। भदौ १० को बाढीका कारण रसुवा जाने सडक सम्पर्क टुटेका कारण लाङटाङमा अहिले पर्यटक छैनन्। भोटेकोशी नदीमा आएको बाढीमा परेर ६०० भन्दा बढी विदेशी पर्यटक बेपत्ता भएकामा अझै सम्पर्कविहीन छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कर्मचारी नरेन्द्र श्रेष्ठले वर्षाका कारण बीचैबाट फर्कनुपर्ने पर्यटकका लागि मौसम सुधारिएपछि पुरानै पर्मिट र टिकटमा पुनः जाने व्यवस्था मिलाइएको जानकारी दिए।
श्रेष्ठका अनुसार पर्यटकहरुलाई सुरक्षित रहन र कुनै कारण अप्ठेरो परेको खण्डमा फर्किन भनिएको छ। ‘हामीले उहाँहरुलाई वर्षाका कारण कुनै समस्या परे फर्किन वा सुरक्षित स्थानमा बस्न भनेका छौं। उहाँहरुलाई हामीले पहिलेकै टिकटमा अरु दिन पदयात्रामा जाने व्यवस्था मिलाउने निर्णय गरेका छौं।’
विभागले पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई भूभाग, कोशीको ताप्लेजुङलगायत हिमाली क्षेत्र, बागमती, कर्णालीको जुम्ला र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरोको जोखिम औंल्याएको छ।











