‘स्टिल स्ट्रक्चर’को घर बनाउने बढ्दो ट्रेन्ड, घरजग्गा मेलामा उस्तै आकर्षण

नेत्र तामाङ
२०८३ असोज २ गते २१:३९ | Sep 18, 2026
‘स्टिल स्ट्रक्चर’को घर बनाउने बढ्दो  ट्रेन्ड, घरजग्गा मेलामा उस्तै आकर्षण


काठमाडौं। साँखुका राम सापकोटा बिहीबार भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा पुगेका थिए। सबै स्टल घुमिसकेपछि उनी गेट नजिकै रहेको ‘स्मार्ट निर्माण’को घरमा पसे। घरको भित्ता हेरे। माथिल्लो तलामा चढे। अनि मुल्य सोधे।

Vigo
GBIME
Tata

डेमोमा राखेको एक कोठे घर १० लाखमा पाइने स्मार्ट निर्माणका अध्यक्ष नारायण रेग्मी बताउँदै थिए। स्मार्ट निर्माणले ११ वर्षयता स्टिल स्ट्रक्चरमा काम गर्दै आएको छ। ‘तीस वर्षयता निर्माणको क्षेत्रमा छु। स्टिल स्ट्रक्चर सुरु गरेको ११ वर्ष पुग्यो,’ रेग्मीले भने।

मेलामा राखेको घरबारे भन्न भ्याइनभ्याई थियो रेग्मीलाई। मेलामा धेरैको ध्यान यही घरले खिचिरहेको देखिन्थ्यो। सस्तो, छिट्टै बनाउन मिल्ने र सार्न पनि मिल्ने विशेषताका कारण मेलामा आउनेहरू यही स्टलतिर झुम्मिरहेको देखिन्थ्यो।

पछिल्ला दिन सहरदेखि गाउँसम्मै स्टिल स्ट्रक्चरका भवन बनाउने क्रम बढ्दो छ। स्मार्टले प्रहरी कार्यालय, सरकारी भवनदेखि अस्पतालसम्म फलामबाटै बनाइसकेको छ।

‘किमाथाङ्काको सीमा प्रहरी चौकीदेखि नेपालगन्जको मेडिकल कलेज पनि स्टिल स्ट्रक्चरमा हामीले बनायौं,’ अध्यक्ष रेग्मीले भने।

प्रदर्शनीमा प्रिफ्याब प्रयोग गरी बनेका स्टिल स्ट्रक्चरका घर पनि राखिएको छ। एकतले घरमा दुई वटा बेडरुम, किचेन र डाइनिङका साथै बाथरुम उपलब्ध छ। मेटल स्ट्रक्चरमा बन्ने घरमा प्रिफ्याब, फल्ससिलिङ, जस्तापाता छ।

‘बनाउन छिटो र सजिलो हुनुका साथै जग्गा आकारअनुसार बनाउन मिल्छ,’ कम्पनीका सीइओ विमलराज गोसाइँले भने। गोसाइका अनुसार स्मार्ट प्यानलले चितवनमा हजार भन्दा बढी यस्तैखाले घर बनाइसकेको छ। काठमाडौंमा पनि स्टिल संरचना बनाउने ट्रेन्ड देखेर उनीहरू यहाँ आएको गोसाईले बताए।

प्रदर्शनीमा निलो रङ लगाएर राखिएको यो घर अरुभन्दा अलग देखिन्छ। काठमाडौंमा ठूलो लगानीका स्टिल संरचनाका भवन बनिरहेका छन्। बैंकदेखि एलओडीजस्ता क्लबसम्म र व्यवसायिक भवन स्टिल स्ट्रकचरले बन्ने क्रम बढ्दो छ।

नेपाल स्टिल फर्निचर उद्योग संघका अध्यक्ष कृष्ण ताम्राकार आफैंले भक्तपुरमा स्टिल स्ट्रक्चरको दुई तल्ले घर बनाएका छन्। लामो समय गोदरेज कम्पनीको स्टिल दराजको व्यापार गरेका ताम्राकार आरसीसी घरको तुलनामा सस्तो पर्ने देखिएपछि यस्तो खाले घर बनाएको बताउँछन्।

‘मैले ४० लाखमा दुई तल्ले घर बनाए। सिङ्गिङ बाउलको गोदामका लागि यस्तो घर बनाएको हुँ,’ ताम्राकारले भने।

व्यावसायिक जग्गा भाडामा लिएपछि बनाउन छिटो भवन नै रोजाइमा पर्ने गर्छ। स्टिल स्ट्रक्चर बढ्नुको एउटा कारण त्यही हो। आरसीसी ढलान फुटाउँदा उल्टै पैसा लाग्ने तर स्टिल स्ट्रक्चरको पैसा रिटर्नसमेत आउने भएकोले धेरैको आकर्षण यसमा देखिएको इन्जिनियरहरु बताउँछन्।

बलियो र पुन: प्रयोग गर्न सकिने भएकोले पनि धेरैको आकर्षण यसमा देखिएको इन्जिनियर दिनेश खरेलले बताउँछन्।

‘छिटो बन्ने हो। लिजमा लिएको जग्गामा छिटो काम थाल्न पाइने भयो। व्यापार पनि छिटो गर्न पाइने भयो। सार्न मिल्ने पनि हो। मेटलको पैसा रिटर्न हुन्छ। १०० मा किनेको सामानको मूल्य कम्तीमा ५० प्रतिशत रिटर्न हुन्छ,’ खरेलले भने, ‘अहिले १४ इन्चको कोलम साइजमा पनि फलामको विम आएको छ। अब अपग्रेड हुँदै जाने स्टिलमै हो जुन बलियो पनि हुन्छ।’

इन्जिनियर श्यामकिशोर साह पनि स्टिल स्ट्रक्चर बलियो हुने बताउँछन्। बनाउन छिटोमात्र नभएर लागत पनि कम हुने उनको तर्क छ। ‘आरसीसी बिल्डिङ बनाउँदा अलि खर्चिलो हुन्छ। डन्डीको गुणस्तर र पिलर बनाउँदा खर्च बढी लाग्छ। यसमा मेटल स्ट्रक्चर फिट गर्नसाथ फटाफट काम गर्न मिल्छ,’ इन्जिनियर साहले भने।  

हामीले मेलामा रहेका इन्जिनियरहरूसँग कुरा गरेको आधारमा देखिएका यसका विशेषता यस्ता छन् – कम समयमा नै तयार हुने। स्थानान्तरण गर्न सकिने। भत्काउँदा आरसीसीजस्तो खेर नजाने। स्टिल स्ट्रक्चर पुन प्रयोगमा ल्याउन सकिने। यस्तै भवन वा घरका संरचनाभन्दा अन्य सामान बनाउन पनि उपयोग हुने। त्यसबाहेक लागत पनि कम लाग्ने।

काठमाडौंको गोठाटारमा बन्दै गरेको स्टिल स्ट्रक्चरको घर।

यिनै विशेषता सहित संरचना सुरक्षित र बलियो हुने भएकाले पनि मानिसहरू स्टिल संरचनातिर आकर्षित भएको देखिए।