भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्न विराजभक्तले गठन गरे समिति, संयोजकमा बेल्बासे

बिजमाण्डू
२०८३ भदौ ३१ गते १४:०१ | Sep 16, 2026
भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्न विराजभक्तले गठन गरे समिति, संयोजकमा बेल्बासे


काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रभावबारे सूक्ष्म वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय उच्चस्तरीय विज्ञ समिति गठन गरिएको छ।

Vigo
GBIME
Tata

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।

समितिलाई बाढीको वास्तविक उद्गमस्थल, भौतिक प्रक्रिया र तल्लो तटीय क्षेत्रसम्म कसरी विपद् फैलियो भन्ने शृङ्खलाबद्ध कारण पहिचान गर्न भनिएको छ।

यस विपद्‍मा मानवजनित जलवायु परिवर्तन र गैर-जलवायुगत (भूगर्भीय, हिमनदीय) कारणको योगदान कति थियो भन्ने वैज्ञानिक मूल्याङ्कन गर्न पनि भनिएको छ।

समितिले मन्त्रालयसमक्ष ऊर्जा तथा जलविद्युत् पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिक्दै भविष्यका लागि जलविद्युत् उत्थानशीलता बढाउने उपाय पनि सिफारिस गर्नुपर्नेछ। समितिलाई २ महिनाको समय दिइएको छ।

समितिले स्थलगत निरीक्षण, ड्रोन तथा स्याटेलाइट प्रविधिको प्रयोगका साथै भोटेकोशीको सीमापार प्रकृतिका कारण चीनतर्फ उपलब्ध वैज्ञानिक तथ्यांकसमेत विश्लेषण गर्नेछ।