काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरिएको जनाएको छ। इच्छुक आवेदकहरूले आगामी असोज २६ गतेसम्म (१२ अक्टोबर) आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार १८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदनपछि छनोट हुनेले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्ने प्रावधान छ।
समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने माध्यमका रूपमा उद्यमशीलता प्रवर्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले यी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएको छ।
बैंकले दिगो उद्यम र रोजगारी सिर्जना गर्नुका साथै बृहत्तर सामुदायिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित व्यक्ति र सीमान्तकृत समुदायका प्रतिबद्ध तथा सक्षम उद्यमीहरूलाई आवेदन दिन प्रोत्साहन गरिने जनाएको छ।
नबिल एसएसईमार्फत केवल उद्यममा मात्र नभई, आफ्नो समुदायभित्र दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिहरूको क्षमता विकासमा पनि लगानी गरिरहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोजकुमार ज्ञवालीले बताए।
‘सातौं फेलोसिप समूह र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गर्दै गर्दा हाम्रो उद्देश्य प्रतिबद्ध उद्यमीहरूको पहिचान गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग उनीहरूलाई जोड्नु हो,’ सीइओ ज्ञवालीले भने।
बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनालाई तालिम प्रदान गरिसकिएको छ। तालिम लिएकाहरूले ३१८ वटा उद्यम स्थापना गरी १९ हजार ३०३ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भइसकेका छन्।
फेलोसिप कार्यक्रममार्फत हालसम्म सम्पन्न ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन्। जसबाट ९३ वटा फेलो-नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ।
त्यस्तै, सर्टिफिकेट कोर्समार्फत १ हजार ४६७ जना सहभागी लाभान्वित भएका छन्। यसका साथै २२५ वटा उद्यम स्थापना भएको बैंकले जनाएको छ।











