काठमाडौं। असोज १ काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको घरजग्गा मेलालाई लक्षित गरी व्यवसायीले विभिन्न अफर ल्याउन थालेका छन्।
डेभलपर्स गुरूले घडेरीमा २५ प्रतिशतसम्म छुट र ५ हजार १०० रुपैयाँमा टोकन बैनाको अफर ल्याएको छ। जग्गा उपयुक्त नलागेमा टोकन रकम फिर्ता हुने डेभलपर्स गुरुले जनाएको छ।
४ गतेसम्म चल्ने प्रदर्शनीमा रियल इस्टेट क्षेत्रका १८, बैंक तथा वित्तीय संस्थाका ८, अस्पतालका २, वास्तुसम्बन्धी २, होम अप्लायन्सेसका २, सुरक्षा सेवाका २ तथा कम लागतको आवाससम्बन्धी २ वटा स्टल रहनेछन्।
त्यस्तै पाइप तथा फिटिङ, टायल, सेनेटरी, अटोमेसन डोर, फाइबर वर्क्स, इन्टेरियर डिजाइन, प्रिफ्याब, रूफिङ, यूपीभीसी ढोका तथा झ्याल, म्याट्रेस र बीमालगायत क्षेत्रका कम्पनी तथा व्यवसायीको समेत सहभागिता रहनेछ।
ग्राहकले घर निर्माणको योजना बनाउँदादेखि निर्माण सम्पन्न भएपछि सजावट तथा आवश्यक प्रविधिसम्मका विकल्प एउटै स्थानमा हेर्न र तुलना गर्न सक्नेछन्।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा प्रदर्शनी गर्न लागेका हुन्।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित गर्न लागिएको मेलामा घरजग्गा कारोबारलाई मात्र केन्द्रमा नराखी सुरक्षित आवास, व्यवस्थित बस्ती, आधुनिक निर्माण प्रविधि र वातावरणमैत्री विकासलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रदर्शनीमा सुरक्षित तथा भूकम्पप्रतिरोधी घर निर्माणमा विशेष जोड दिइने छ। ग्राहकले सम्बन्धित स्टलमा घर निर्माण, डिजाइन तथा वास्तुसम्बन्धी परामर्श लिन सकिने व्यवस्था गर्न लागिएको छ। बाढी, पहिरो, नदी कटान तथा भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिरोधी आवास र सुरक्षित बस्ती विकासबारे पनि प्रदर्शनीमा जानकारी दिइनेछ।
त्यस्तै सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन, ऊर्जा बचत गर्ने प्रविधि तथा वातावरणमैत्री निर्माण सामग्रीलाई पनि प्राथमिकता दिइएको छ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक किओस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल रियालिटी/अग्मेन्टेड रियालिटीमार्फत आवास तथा निर्माण परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ।
प्रिफ्याब तथा कम लागतको आवास निर्माणका विकल्पसमेत प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। आयोजकले मध्यम तथा निम्न मध्यम वर्गलाई लक्षित गर्दै लागत घटाएर सुरक्षित आवास उपलब्ध गराउने अवधारणालाई समेत छलफलमा ल्याएको छ।
करिब १ करोड ४० लाखमा तीन बेडरुम र दुई तलाको घर परियोजनासमेत प्रस्तुत गरिने एक्स्पो संयोजक रोशन भोयद्योले बताए।











