काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)को ‘९एन-एएलवाई’ कलसाइनको वाइडबडी जहाज प्राविधिक समस्या आएर जापानको नारितामा थन्किएपछि अन्तर्राष्ट्रिय उडान तालिका अस्तव्यस्त बनेको छ।
काठमाडौंबाट जापानमा उडान भरेको वाइडबडी जहाज प्राविधिक समस्या देखिएर नारितामा ग्राउन्डेड भएपछि एनएसीको उडान तालिका अस्तव्यस्त भएको हो।
जहाज मर्मतका क्रममा नारितामा रोकिएपछि एनएसीलाई नियमित उडान तालिका व्यवस्थापन गर्न धौ-धौ परेको छ।
‘एउटा वाइडबडी जहाज प्राविधिक समस्या देखिएका कारण अहिले जापानमा छ। मर्मत गरेर सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ। एउटा जहाज नहुँदा अहिले हामीलाई उडान तालिका मिलाउन धेरै गाह्रो परेको छ,’ एनएसीका एक कर्मचारीले भने।
एनएसीले मंगलबारका लागि तय काठमाडौं-क्वालालम्पुर (आएए-४१५) नियमित उडान असोज १ गतेका लागि सारेको छ। यसअघि क्वालालम्पुरबाट भदौ ३१ गते आउने तय भएको उडान अब असोज २ गतेका लागि सारिएको छ।
यस्तै मंगलबारका लागि तय भएको काठमाडौं-नारिता उडान पनि असोज १ गते हुने एनएसीले जनाएको छ। बुधाबारका लागि तय भएको नारिता-काठमाडौं उडान बिहीबारका लागि सारिएको छ।
एनएसीले सोमबार दोहाको उडान तालिका एक दिन धकेलेको थियो।
एनएसीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज रहेकामा एउटा ग्राउण्डेड हुँदा त्यसको असर यात्रुलाई दिने सेवामा परेको हो।











