पुँजी बजार पुनरूत्थान याेजनामा ब्राेकरकाे स्वागत, ‘बजारका लागि सकारात्मक’

बिजमाण्डू
२०८३ भदौ ३० गते ०६:४९ | Sep 15, 2026
पुँजी बजार पुनरूत्थान याेजनामा ब्राेकरकाे स्वागत, ‘बजारका लागि सकारात्मक’


काठमाडौं। स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपाल सरकारका अर्थमन्त्रीद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्।

Vigo
GBIME
Tata

ढकालले कार्ययोजनालाई नेपालको पुँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्।

उनले कार्ययोजनामा आइपीओमा प्राइस डिस्कभरी प्रणाली लागू गर्ने, मार्जिन लेण्डिङ, सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बण्ड विकास गर्ने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा नेप्से, सीडीएससी र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नेपालको पुँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक भएको बताए।

उनका अनुसार यसले दीर्घकालीन लगानी संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै बजारमा स्थायित्व, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा पूँजी बजारको दिगो विकासमा टेवा पुर्‍याउनेछ।

ढकालले सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भएमा पुँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पुँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।

साथै उनले कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।