काठमाडौं। चार वर्षदेखि संकटमा छ घरजग्गा कारोबार। २०७८ फागुनबाट व्यवसायमा देखिन थालेको मन्दीले अर्थतन्त्रलाई समेत सुस्त बनाएको छ। नेपालको घरजग्गा व्यवसायको ट्रेन्ड ३-४ वर्ष सुस्त देखिने र फेरि उकालो लाग्ने गरेको छ।
इतिहासलाई फर्केर हेर्दा २०५२ सालमा ठूलो मन्दी आएको केही वर्षपछि यो क्षेत्रमा सुधार भएको थियो। त्यस्तै, २०६६ पछि झण्डै ४ वर्ष मन्दी र त्यसपछि चमत्कारिक वृद्धि देखिएको थियो। त्यसपछिको १० वर्ष घरजग्गाको मूल्य र कारोबार दुवै अस्वाभाविक रुपमा बढेको थियो।
नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनी घरजग्गा कारोबारको साइकलमा प्रत्येक ४ वर्षमा ‘बाउन्स ब्याक’ हुने गरेको बताएका थिए।
‘नेपालको रियल इस्टेट क्षेत्रको सन्दर्भमा २०५२ मा पनि ठूलो मन्दी आएको थियो। त्यसैगरी २०६६ पछाडि पनि झण्डै ४ वर्षसम्म मन्दीको अवस्था रह्यो। घरजग्गाको भाउ ८/१० वर्षसम्म निरन्तर वृद्धि हुने, त्यसपछि ३-४ वर्ष सुस्त देखिने अनि फेरि उकालो लाग्ने गरेको देखिएको छ,’ उनले बिजमाण्डूसँग भनेका थिए।
यो ट्रेन्डसँगै कारोबार र मूल्य बढ्नका लागि घट्दो ब्याजदर, व्यक्तिगत आयकरको स्ल्याब बढ्दा कमाउने वर्गको बचतले घरजग्गा ‘बाउन्सब्याक’ हुने देखिन्छ। व्यक्तिगत आयकरको स्ल्याब १० लाख पुगेका कारण मासिक लाख रुपैयाँ कमाउनेले कर तिर्नुपर्दैन्। यसको लाभले पनि ती व्यक्ति घरजग्गामा लगानी गर्नेतर्फ आकर्षित हुनेछन्।
यही बेलामा बैंकले घरजग्गाको स्थिर ब्याजदरनै ६ प्रतिशत छ। अर्कोतर्फ निजी कम्पनीका धेरै कर्मचारी सामाजिक सुरक्षा कोषमा गएकाले त्यहाँबाट पनि घरजग्गामा ऋण दिन थालिएको छ। कोषले ५० हजार रुपैयाँ तलब हुनेलाई ५४ लाख रुपैयाँसम्म घरजग्गा कर्जा दिन थालेको छ। यी सबै कारणले घरजग्गाको कारोबार ‘बाउन्सब्याक’ हुने देखिन्छ।
पछिल्लो ४ वर्ष ‘प्यानिक’मा रहेका घरजग्गा व्यवसायी यही परिदृश्यलाई हेरेर घरजग्गा मेला गर्दैछन्। असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा ४ दिन चल्ने घरजग्गा मेलामा १०० स्टल रहने गरी अन्तिम तयारी भइसकेको आयोजकले जनाएको छ।
आयोजकमध्येकै नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णु घिमिरे संकटमै साहस गर्नुपर्ने बताउँछन्।
‘घरजग्गा व्यवसाय चल्दा २४७ वटा उद्योग चल्छ। यो व्यवसाय सबै व्यवसायको आर्थिक मेरुदण्ड हो। देशको आर्थिक अवस्था गुल्जार बनाउन घरजग्गा व्यवसायलाई अघि धकेल्नैपर्छ,’ घिमिरेले भने।

घर बनाउँदा इन्जिनियरिङ नक्सापासजस्ता कागजी प्रक्रिया पुरा गर्नुपर्छ। त्यसपछि ठेक्कापट्टा, पानी निकाल्ने बोरिङदेखि खर्च शुरु हुन्छ। सिमेन्ट, इँटा वा ब्लक, बालुवा र गिट्टीसँगै काठ, फर्निचर आवश्यक पर्छ।
घरका लागि टाइल्स, मार्बल वा ग्रेनाइट रङ र पुट्टिन पनि आवश्यक पर्छ। त्यसैगरी इन्टेरियर डिजाइनका लागि पाइप, फिटिङ्स, धारा, कमोड, बेसिन र पानीको ट्यांकी पनि चाहिन्छ। इलेक्ट्रिकल तार, स्विच बोर्ड, एमसीबी, र पाइप पनि घरका लागि अति आवश्यक हुन्छ।
झ्याल र ढोका, अल्युमिनियमका फ्रेम र ढोका, खाट, सोफा, डाइनिङ टेबल, दराज, र स्टडी टेबल लगायतका फर्निचर, भान्सामा राखिने फर्निचर, भान्साका लागि आवश्यक सामग्री, रेलिङ, किलाकाटी पनि आवश्यक हुन्छ।
नवौं नेपाल घरजग्गा एवं निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योका अनुसार अहिले लगानीको अवसर सिर्जना गर्न नै मेला आयोजना गरिएको हो। घरजग्गा व्यवसाय ओरालो लागेकैले ६ महिनाअघि बाटै यो मेला तयारी गरेको उनी बताउँछन्।
‘बैंकमा ब्याजदर कम भएकोले अहिले अलि राम्रो हुन थालेको छ। दसैंको मुखमा रेमिट्यान्स पनि भित्रिन्छ। यो पैसा घरजग्गामा लगानी हुन्छ नै। सही ठाउँमा बुझेर लगानी होस् भनेरै हामीले मेला आयोजना गर्न लागेका हौँ,’ संयोजक भोयध्योले भने।

उनका अनुसार यसपटकको घरजग्गा मेलामा ९ भन्दा बढी बैंक आउने पक्का भइसकेको छ। प्रभु, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा, गरिमा, सिटिजन्स्, लक्ष्मी सनराइज, गोरखा फाइनान्स लगायतले स्टल बुक गरिसकेको उनले बताए।
घरजग्गा व्यवसायमा प्लटिङ र अपार्टमेन्टमा सरकारी नीतिका कारण अप्ठेरो परिरहेको बेला मेला महत्त्वपूर्ण हुने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्षमा इञ्जिनियर दीपक कुँवर बताउँछन्। ‘व्यवसायीलाई हदबन्दीले रुवाएको छ। नीति नियमले फुत्किनै नदिइ बाँधेको छ। यस्तो अवस्थामा सरकार पोजेटिभ होस् भनेर हामी जुटेका छौँ,’ कुँवरले भने।
घरजग्गा व्यवसाय चल्दा रडदेखि रङसम्मको व्यवसायमात्र नभई रोजगार क्षेत्रसमेत चलायमान हुने उनी बताउँछन्। ‘सिमेन्ट, रडदेखि रङसम्म व्यवसाय चल्छ। यो क्षेत्रको रोजगारी चल्ने भयो। बैंकको पैसा पनि चलायमान हुने भयो। यही आशाका साथ मेला गर्न लागेका हौँ,’ कुँवरले भने।

व्यवसायी दीपक मलहोत्रा भोटेकोशी-त्रिशूली नदीको बाढीका कारण पनि मेला सान्दर्भिक भएको बताउँछन्। बाढीमा ७ हजारभन्दा धेरै घर क्षतिग्रस्त भएको अवस्थामा बाढी प्रभावितलाई लक्षित गरेर मेलामा स्टल राख्न लागिएको मल्होत्राले बताए।
‘जहाँ बाढी गयो र अब त्यहाँ कस्तो खालको घर बनाउँदा उचित हुन्छ? कुन ठाउँमा बनाउँदा उचित हुन्छ? कस्ता खालका घर बनाउनुपर्ने हुन्छ? खोलाको डिस्टेन्स हेरेर घर बनाउने विषयमा हामीले क्लास पनि राखेका छौं,’ मल्होत्राले भने।
प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहनेछन्। अपार्टमेन्ट, जग्गा विकास आयोजना, आधुनिक निर्माण सामग्री, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनका आधुनिक प्रविधि प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा भूकम्प-प्रतिरोधी घर निर्माण तथा वास्तुकला सम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श उपलब्ध गराउनेछन्। मेलामा जलवायु परिवर्तन, विपद्-प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक-निजी साझेदारीका विषयमा प्यानल छलफल पनि हुनेछ।









