छेन्दु। टाउको सिंहको र शरीर चाहिँ माछाको। माथि देख्नुभएको तस्बिर तपाईँका लागि नौलो होइन। सिंगापुरलाई चिनाउने आइकनिक मर्लियनको मूर्ति रहेको यो दृश्य चाहिँ सिंगापुरको होइन। चीनको सिचुवान प्रान्तमा रहेको शुआङ्गल्यु जिल्ला यतिखेर अलग पहिचान सहित उभिएको छ। सिचुवानको राजधानी छेन्दु विस्तार हुँदै ‘हाइ-टेक औद्योगिक विकास क्षेत्र’मा रुपान्तरित यो भूगोलले तीन दशकमा आफूलाई कायापलट गरेको छ। तियान्फू नयाँ क्षेत्रका रुपमा चिनिने यो ठाउँ पार्क र प्रविधिको कोलाज नै बन्न पुगेको छ।
विकासको तीव्र रफ्तारमा रहेको यस पार्कको मुख्य आकर्षण रहेको मर्लियनको मूर्तिबाट पानीको फोहरा निस्किन बाँकी नै छ। पार्कका लागि ‘आर्टिफिसियल लेक’ तयार छ। यो तालका वरपर कि त बगैँचा छ कि त विशाल संरचना। ती संरचनामा मानिस र रोबर्टको सहकार्य चलिरहेको देख्न सकिन्छ।
नवप्रवर्द्धन सहित नयाँ सहरका रुपमा रुपान्तरित हुँदै गरेको यो ठाउँले गर्वका साथ आफूलाई ‘सिंगापुरको मोडल सहर’का रुपमा अर्थ्याउँछ।
सिंगापुर अर्थात् सूचना प्रविधि र विकासले उज्यालिएको सबैभन्दा सुन्दर सहर। विदेशी लगानी र नवप्रवर्द्धनमा जोडिन चाहने जो कसैको पनि स्वप्न सहर हो सिंगापुर। त्यस्तै प्रभावशाली सहर बनाउन सिचुवान प्रान्तले झन्डै साढे १० वर्गकिलोमिटर भूमिलाई चीन भित्रकै सिंगापुरका रुपमा विकास गरिरहेको छ। सिंगापुरको गार्डन सिटीको अनुभव दुई देशको प्रविधि विकासको लागि संयुक्त मञ्च बनेको छ।

‘सिंगापुरबाहेक छेन्दुमा मात्र यस्तो संरचना तपाईँले देख्न पाउनुहुन्छ,’ छेन्दुमा रहेको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइनका प्राध्यापक चाङ स्युन भन्छिन्, ‘यो क्षेत्रले सिंगापुरमा जस्तैगरी विश्वभरका लगानीकर्तालाई आमन्त्रित गरिरहेको छ।’
रोबर्टमा आधारित प्रविधिको अवलोकन गर्न हामी यही पार्कमा पुग्दा कफी स्वचालित मेसिनबाट तयार भइरहेको थियो। रोबर्टले तयार पारेको कफीको माथिपट्टि पान्डाको तस्बिर हुबहु चित्रित हुँदै थियो। ठूलो टच स्क्रिनमा ‘अर्डर प्लेसमेन्ट’ गरेसँगै रोबर्टको हात चल्न थाल्छ र मेसिनले काम गर्न थाल्ने रहेछ।
नजिकै सानो रिङ भित्र रोबर्टहरूबीच मार्सल आर्ट प्रतिस्पर्धा चलिरहेको थियो। रोबर्टलाई चलाउने काम चाहिँ त्यहाँ पुगेका युवाहरूले रिमोटमार्फत् गरिरहेका थिए।

पार्कको बाहिरतिर रोबर्टहरू आफ्नै हिसाबले काम गरिरहेका देखिन्थे। कोही दौडिदै त कोही सुस्त गतिमा आफ्नो काममा संलग्न तिनलाई देख्दा साइ-फाइ जेनराको फिल्ममा देखिने मानवरहित संसारको कल्पना गर्न सहज हुने रहेछ। हिडिरहेका रोबर्ट मानिस अगाडि पर्दा टक्क अडिनेमात्र होइन, मानिसको आवाज अनुसार निर्देशन पालन गरिरहेको दृश्य लोभलाग्दो देखियो।
छेन्दुको डाउनटाउनबाट १५ किलोमिटर भन्दा कम दुरीमा रहेको यस पार्कभित्र तीनवटा मेट्रोलाइन छ। एक्सप्रेस वे पनि जोडिएकाले पहुँच सहज छ। अनुसन्धान केन्द्र र आवासीय कम्प्लेक्सहरू तीव्र रफ्तारमा आकाशतिर उचालिँदै गरेका छन्। छोटो अवधिमा नै विश्वका ५०० भन्दा धेरै प्रविधि कम्पनीले यहाँ डेरा जमाइसके।
‘यो पार्कले सबै मुलुकका लगानीकर्तालाई स्वागत गर्छ,’ प्राध्यापक स्युनले भनिन्।
सिंगापुरको शैलीलाई अनुशरण गरेको यस पार्कमा ओप्पो कम्पनीको विशाल भवन देखेपछि मैले सोधे – ‘यो त ओप्पोको केन्द्रीय कार्यालय हो कि क्या हो?’
जवाफ मिल्यो – हो, यसले चीनको पश्चिम दक्षिण क्षेत्रलाई हेर्छ। मैले केन्द्रीय सोचेको त क्षेत्रीय कार्यालय रहेछ। यस्ता धेरै कम्पनी यहाँ छन् जसले प्रविधिमा आधारित भएर भएर अनुसन्धान र विकासका गतिविधिलाई संचालन गरिरहेका छन्।

छेन्दुको डाउनटाउनबाट १५ किलोमिटर भन्दा कम दुरीमा रहेको यस पार्कभित्र तीनवटा मेट्रोलाइन छ। एक्सप्रेस वे पनि जोडिएकाले पहुँच सहज छ। छोटो अवधिमा नै विश्वका ५०० भन्दा धेरै प्रविधि कम्पनीले यहाँ डेरा जमाइसके।
आठ करोडभन्दा धेरै जनसंख्या रहेको सिचुवानको राजधानी छेन्दुमा मात्रै झन्डै साढे २ करोड जनसंख्या छ। सन् २०२५ को तथ्यांक अनुसार यस प्रान्तको कुल ग्रार्हस्थ उत्पादन करिब ९५० अर्ब अमेरिकी डलर छ। जसमा निजी क्षेत्रको योगदान झन्डै ६० प्रतिशतको नजिक देखिन्छ।
त्यस्तै प्रतिव्यक्ति आय ११ हजार ४०० अमेरिकी डलर। झन्डै ६ प्रतिशत वार्षिक आर्थिक वृद्धिदरको तथ्यांकले यो प्रान्त अन्यत्रभन्दा बलियोसँग आर्थिक रुपान्तरणमा अगाडि बढिरहेको देखाउँछ। सिचुआन इलेक्ट्रोनिक्स, अटोमोबाइल, नविकरणीय ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, कृषि र पर्यटन बलियो प्रान्त हो।
सिचुवानको सिंगापुर सपना
हाइ टेक सिंगापुरको विकासमा सबैभन्दा ठूलो योगदान पुर्याउने सिंगापुरका प्रधानमन्त्री लि क्वान यू सन् १९७६ मा पहिलो पटक चीन पुगेका थिए। त्यहाँबाट सुरु भएको द्विपक्षीय सम्बन्धले नयाँ सहरमार्फत् भाइचार अगाडि बढाउँदैछ।
सन् २०१२ मा सिंगापुर-सिचुवान हाइटेक इनोभेसन पार्क योजनाको फ्रेमवर्क तयार भयो। त्यसपछि थालियो नयाँ सहरको नयाँ योजना। हामीले अवलोकन गरेको तियान्फुको प्रगति त्यसैको परिणाम हो।


तियान्फु न्यू एरिया प्लानिङ एक्जिविसन कार्यालयका अनुसार त्यहाँ मानव निर्मित ताल पूरै परिक्रमा गर्न १० किलोमिटर दुरी तय गर्नुपर्छ। तालका किनारामा सूचना प्रविधिमा आधारित कम्पनी छन् अथवा मनमोहक पार्क। नजिकै आवासका लागि बहुतले भवनहरू निर्माण भइरहेका छन्। त्यही तालको सतहभन्दा गहिरो ठाउँमा कफी सहित बुक स्टोर पनि छ।
मानिसहरू माछा र अन्य जलचरलाई सिसाबाट हेर्दै कफी पिउँदै गरेको दृश्य रोचक लाग्छ। मानिस र रोबर्टको प्रयोगबाट नियमित रुपमा पोखरी बिगार्ने झारहरू निकालिन्छ। मानिसभन्दा ज्यादा मेसिनले काम गरिरहेको छ सफाइमा।
ताललाई जोड्न ठाउँठाउँमा आकर्षिक ‘आर्क ब्रिज’ तयार भइसकेको छ। सडक किनारामा रूख र फूल अनिवार्य भएकाले विकास र पर्यावरणलाई एकैसाथ लगेको बुझ्न कठिन छैन। प्राध्यापक झोन युहानका अनुसार सहर र गाउँलाई नजोड्ने हो भने विकासको अर्थ छैन। त्यसैले विकासमा सबैलाई समेट्ने प्रयास चीनमा भइरहेको छ। सिंगापुर बन्ने सपनासहित छेन्दुमा जे भइरहेको छ त्यसले सहरलाई गाउँसँग जोड्दैछ।
‘समग्र चीनमा सहरी र ग्रामिण क्षेत्रबीचको अन्तर साँघुरो बन्दै गइरहेको छ। त्यसमा प्रविधिको मुख्य भूमिका छ,’ प्राध्यापक युहानले भने, ‘एआईले यसमा सहयोगी भूमिका निभाइरहेको छ।’

उनका अनुसार यस क्षेत्रमा भइरहेको आरएन्डडीले सहर र गाउँको विकास अन्तर कम बनाउन रणनीतिक काम गरिरहेको छ। त्यसभित्र शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै विषय समेटिन्छन्।
डिजिटल डिभाइडको गहिरिँदो खाडल
काठमाडौंबाट ‘एयर डिस्टेन्स’ हेर्ने हो भने ११ सय ८० किलोमिटर दुरीमा पर्छ छेन्दु। गत साता सिजाङ प्रान्त कटेर हामी पुगेको यो ठाउँको मौसम काठमाडौंकै जस्तो थियो। यहाँका मानिसहरूले ४ हजार वर्ष पहिले नेपालमा जस्तै माटोका भाडाहरू प्रयोगमा ल्याउँथे। रहनसहन र बसोबासमा पनि दुवै मुलुकमा समानता थियो। तर, तीव्र विकासको रफ्तारमा रहेको हजार किलोमिटर परको सहरसँग हाम्रो ‘डिजिटल डिभाइड’ भने त्यसभन्दा कैयौं गुणा टाढा पुगिसकेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स यहाँका सबै क्षेत्रमा उपयोग हुन थालिसकेको छ। कार्यालय सहयोगीको भूमिका होस् या खेतबारीका खेताला, पोखरी सफा गर्ने होस् या स्वास्थ्य सेवा सबैतिर प्रविधिको पकड बलियो बनेको छ। फाइभ-जी नसमेटिएको कुनै क्षेत्र छैन। शिक्षा, स्वास्थ्य, उद्योग, नवप्रवर्द्धन सबैतिर आर्टिफिसियल इन्टेलिजेन्स। यहाँ प्रयोग भएका प्रविधि हाम्रा तालतलैयामा भरिने जलकुम्भी निकाल्न प्रयोग हुन्थ्यो भने कस्तो होला?
प्रविधिको प्रयोग हुन्थ्यो भने पोखरामा फेवा फोहर हुन्थेन। कृषिमा उत्पादकत्व बदलिन्थ्यो। उद्योगको उत्पादन लागत घट्थ्यो। भौतिक संरचना कम खर्चमा तयार हुन्थे। विश्वबजारमा प्रतिस्पर्धा गर्न थप सहज हुन्थ्यो। पूर्वाधार बलियो र नीतिगत प्रष्टता हुन्थ्यो भने सिचुवानमा हात बढाउने सिंगापुर नेपालतिर तानिन्थ्यो। सिचुवान आफैँ नेपालतिर आकर्षित हुनसक्थ्यो।

लगानीका लागि सिचुवान सिंगापुर मोडलमा गएर विश्वलाई आकर्षित गरिरहँदा नेपालको परिदृश्य भने ठीक उल्टो छ। भर्खरै ‘नेपालमा लगानीको वातावरण छैन’ भन्दै एनसेलका सीइओले राजीनामा दिएका छन्। नेपालमा फाइभजी भित्र्याउन र लगानी विस्तार गर्ने उनको भरमग्दुर प्रयासले मूर्त रुप लिन सकेको छैन।
प्रविधिको उन्यनका लागि हामी आफैँ लगानी गरिरहेका छैनौं। न त इनोभेसनका लागि हामी खर्च गर्न तयार छौं।
सन् २०१२ मा आउटलाइन तयार भएको प्रविधिको एउटा विशाल पार्क २०२६ मा आइपुग्दा विश्वलाई लगानीका लागि निम्त्याउन सक्ने हैसियतमा पुगेको छ। सिंहको टाउको र माछाको शरीरमात्र छेन्दुले लिएको छैन, सिंगापुरको विकास मोडल नै अगाडि सारेको छ। यही रफ्तार कायम हुने हो भने केही वर्षमै यसले सिंगापुरको तिर्सना मेटाइदिने निश्चित छ।









