काठमाडौं। कृष्णभीरको नयाँ ट्र्याकमा सवारीसाधन सञ्चालन गरिएको छ। ग्रेडिङ गर्ने र ग्राभेल बिछ्याउने काम नसकिंदै नयाँ ट्र्याकमा सवारीसाधन सञ्चालन गरिएको हो।
आइतबार अपराह्न रित्ता ग्यास बुलेट कृष्णभीरको अस्थायी ट्र्याकबाट मुग्लिनतर्फ पठाइएको छ। ग्यास बुलेटबाहेक बीच बाटोमा रोकिएका अन्य गाडीलाई पनि पठाइएको छ।
त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण कृष्णभीरको सडक भदौ १४ गते भासिएपछि काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग नै बन्द भएको थियो। त्यसपछि सडक विभागले पहिरो खसेको ठाउँ माथिबाट नयाँ ट्र्याक खोलेको थियो।

नयाँ ट्र्याकमा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा निरन्तर अगाडि बढिरहेको नागढुंगा मुग्लिन सडक योजनाका इन्जिनियर धिरज ढकालले जानकारी दिए। उनका अनुसार सब-सर्फेस नाली निर्माणको कार्य पनि अगाडि बढाइएको छ।

विभागले नयाँ ट्र्याक सञ्चालन गर्नका लागि काम थालेको आइतबार १० दिन भएको छ।











