काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देल एक साता लामो विदेश भ्रमणमा निस्किएका छन्। उनी चीनको निम्तामा आइतबार बेइजिङ प्रस्थान गरेका छन्।
उनले आइतबारदेखि असोज ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन्।
भ्रमणका दौरान प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औं बेइजिङ जिङ्गसान फोरममा सहभागी हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रधानसेनापतिको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीतिमार्फत देशको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास लिएको सेनाले बताएको छ।
सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका छन्। सिग्देललाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिका रुपमा काम गर्नेछन्।











